सुदूरपश्चिम


‘हुनेखानेलाई पो दसैँ-तिहार, हामीलाई...’

‘हुनेखानेलाई पो दसैँ-तिहार, हामीलाई...’

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ वनहराका बासिन्दा


गोकुल जोशी
असोज १४, २०८२ मंगलबार १०:२७, कञ्चनपुर

वरपर दसैँको हर्षोल्लास छ। मानिसहरू किनमेललगायत तयारीमा व्यस्त छन्।

तर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ वनहराका दलबहादुर बोहरा छाक कसरी टार्ने भन्ने चिन्तामा छन्। 

उनी कहिले नजिकैको सहरी क्षेत्रमा त कहिले गाउँगाउँ डुल्दै कमाउने काम खोजिरहेका छन्। 

मजदुरी गरेर आउने ज्यालाले नै उनको झुप्रोमा बिहान-बेलुका चुल्हो बल्छ।

‘मजदुरी पनि कतै पाइएको छैन। चाडबाड कसरी मनाउने खर्च नै छैन’, दलबहादुर भन्छन्, ‘दिनमा एक/दुई सय रुपैयाँ कमाइन्छ। त्यसैले भोक मेटाउनुपर्ने बाध्यता छ।’

दलबहादुर २०६२ सालदेखि शुक्लाफाँटा नगरपालिका–११ वनहरा बस्तीमा त्रिपालको झुप्रोमुनि बसिरहेका छन्।

डडेल्धुराको आलितालमा पहिरो गएपछि उनी तराई झरेका थिए। उनको परिवारमा ५ सदस्य छन्। 

रोजगारी नहुँदा जीविकोपार्जन गर्नै हम्मेहम्मे पर्ने गरेको दलबहादुर बताउँछन्।

‘मजदुरी पनि नियमित पाइँदैन। अन्य रोजगारी गर्न पढेलेखका छैनौँ’, उनले भने, ‘मजदुरी पाइएको दिन चुल्हो बल्छ। कहिले त भोकै पनि बस्नुपर्छ।’

घर खर्च जुटाउनै हम्मेहम्मे पर्न थालेपछि जेठो छोरा कक्षा ७ पढ्दापढ्दै काम गर्न भारततिर लागे।

एक छोरा अहिले कक्षा ४ मा अध्ययन गर्छन् भने छोरीलाई एक सामाजिक संस्थाले पढाइरहेको छ।

वनहरा शिविरमा बोहरासहित २८ परिवार बस्छन्। 

वनहरावासी

विभिन्न ठाउँबाट बाढी-पहिराले बास उठीवास भएपछि उनीहरू वनहरा पुलमुनि कृष्ण सामुदायिक वननजिकै बस्न थालेको वर्षौं भइसक्यो। 

वनहरा नदीको छेउमै बसोबास गर्ने उनीहरू यहाँ पनि बर्सेनि डुबानमा पर्ने गर्छन्। त्रिपालको अस्थायी टहरामुनि अभाव नै अभावमा बाँचिरहेका छन्- उनीहरू। 

‘वर्षात्‌मा डुबानले सताउँछ। नजिकै जंगल भएकाले जनावरको त्रास पनि त्यस्तै छ,’ तुलाराम बोहराले नेपालखबरसँग भने, ‘विद्युत्‌को सुविधा पनि छैन। सर्पको बिगबिगी छ। डराईडराई रात काट्नु परेको छ।’

वनहरा शिविरका झुपडी।

वनहरा शिविरकै कलामती दमाईंलाई पनि चाडबाडले पिरमा पारेको छ। छोराछोरीले नयाँ लुगा खोजिरहेका छन्। तर खर्च छैन। छोरीचेली पनि आउँछन्, उनीहरूलाई के खुवाउने भन्ने चिन्तामा छन् उनी।

‘हुनेखानेलाई पो दसैँ-तिहार। हामीलाई केही छैन। जसो आयो, त्यसै गयो,’ उनले भनिन्, ‘बिहान-बेलुका खानलाई गाह्रो छ। चाडबाडमा छोरीचेली पनि आउँछन्, के खुवाउने? दिनलाई केही छैन।’

विगतका वर्षका केही संघसंस्थाले चाडबाडका लागि भनेर रासन र लत्ताकपडा दिएका थिए।

प्रेमबहादुर साउद वनहरा शिविरमा बस्न थालेको दशक बित्यो। उनले अहिलेसम्म राम्रोसँग चाड मनाउन पाएका छैनन्।

वनहरा शिविरका सुकुमवासी उनीहरू स्थानीय सरकारले पनि आफूहरूलाई नहेरेको गुनासो गर्छन्।

‘नेताहरूले आश्वासन मात्रै दिए। स्थानीय सरकारलाई बारम्बार भन्दा पनि सुनुवाइ नै हुँदैन,’ प्रेमबहादुरले दु:खेसो गरे, ‘केही सेवा-सुविधा पाएका छैन।’

प्रेमबहादुर पनि बेरोजगार छन्। उनको ५ जनाको परिवार छ। जेठा छोरा कक्षा १० मा विद्यालय छाडेर काम गर्न भारत गए। दुई छोराछोरी जसोतसो पढिरहेका छन्। 

प्रेमबहादुर रोजगारीका लागि मलेसिया गएका थिए।

त्यहाँ उनले सेक्युरिटी गार्डको काम गरेका थिए। तर बिरामी परेपछि १० महिनामै फर्किनुपर्‍यो। अहिले उनी शिविरमै बेरोजगार जीवन बिताइरहेका छन्। 

विदेश जाँदा र बिरामी हुँदाको गरेर उल्टो ३ लाख ऋण लागेको छ।

अब ऋण कसरी तिर्ने भन्ने चिन्ता छ- उनलाई।

दसैँ-तिहारपछि परिवार लिएर भारत जाने तयारीमा छन्- उनी। 

वनहरा शिविरमा बाढी, डुबानका साथै जंगली जनावरको त्रास छ।

‘बस्नलाई सुरक्षित स्थान मात्रै भए पनि हामीलाई धेरै राहत हुन्थ्यो,’ प्रेमबहादुरले भने, ‘बाढी र जंगली जनावरको कारण रातभर जाग्राम बस्नु पर्छ। ढुक्कसँग बस्न पाउनु त हाम्रोलाई सपनाजस्तै भइहाल्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad