महेन्द्रनगर बजार नजिकै ससाना टहरा छन्। ती टहरामा शुक्लाफाँटा आरक्ष विस्थापित रात काटिरहेका छन्।
त्रिपाल टाँगिएका यी टहरामा केही सातायता दैनिकजसो चहलपहल भइरहन्छ। चुनावको मिति नजिकिएसँगै मत माग्न आउने उम्मेदवार र नेताकार्यकर्ताको आवतजावत बाक्लो छ।
यसरी मत माग्न आउनेलाई शुक्लाफाँटा आरक्ष विस्थापितको एउटै माग छ, ‘पुनर्स्थापना’।
‘हामी हाम्रो पीडा सुनाउँछौँ। जो आएपनि समस्या समाधान गर्ने आश्वासन दिन्छन्,’ कृष्णपुर नगरपालिका २ बाणीका ७० वर्षीय गजबहादुर विष्टले भने, ‘पुनर्स्थापनाको लिखित प्रतिवद्धता नदिएसम्म यसपटक भोट नदिने पक्षमा छौँ।’
उनले २०३६ को जनमत संग्रहदेखिका हरेक निर्वाचनमा मतदान गर्दै आएका छन्। तत्कालीन झलारी गाविस १ हिरापुरबाट २०५८ मा आरक्ष विस्तारका क्रममा उनी विस्थापित भएका थिए।

अहिले बाणीमा बसोबास गरिरहेका उनी पुनर्स्थापनाका लागि संघर्षरत छन्। तीन महिनायता आरक्ष विस्थापितहरू आन्दोलनस्वरुप महेन्द्रनगर बजार नजिकै रहेको सरकारी जमिनमा छाप्रा बनाएर बसिरहेका छन्।
कृष्णपुर नगरपालिका–२ वाणीकै शेरबहादुर चुनारा पनि अहिले यहीँ बसिरहेका छन्। ०५८ सालमा हिरापुरबाट जग्गा दिने भनेर हटाएको तर अहिलेसम्म पुनर्स्थापना नहुँदा अलपत्र अवस्थामा रहेको उनी सुनाउँछन्।
‘अहिलेसम्म हामीले सबैलाई भोट दियौँ। तर हाम्रो बारेमा कसैले सोचेनन्,’ उनी भन्छन्, ‘चुनावका बेला त सबै पहिलो काम तपाईंहरूको पुनर्स्थापना गर्छौं भन्छन्। तर जितेर गएपछि सबै बिर्सिन्छन्।’
उनले पुनर्स्थापनाका नाममा आयोग बनाउने र कार्यकर्ता भर्ती गर्ने काम मात्रै हुने गरेको आरोप लगाए। डडेल्धुराको अमरगढी नगरपालिका–६ का ७० वर्षीय टेकबहादुर टमटा पनि मत माग्न आउने उम्मेदवार र नेता कार्यकर्ताले दिने पुरानै आश्वासनलाई विश्वास गर्न सकिरहेका छैनन्।

‘कसलाई भोट दिएर के हुन्छ र? हाम्रो समस्या समाधान जो आए पनि हुँदैन,’ उनले भने, ‘नेता कार्यकर्ताहरू आएर भोट मागिरहेका छन्। हामी त भोटै नदिने पक्षमा पनि छौँ। तर अन्तिममा सबै सल्लाह गरेर निर्णय गर्छौं।’
उनी पनि ०५८ मा रौतेलीबिचवाबाट विस्थापित भएका थिए। विस्थापित भएपछि केही वर्ष पुनर्स्थापनाको आसमा विभिन्न ठाउँमा बसोबास गरेका उनी अन्तिममा डडेलधुरा गएका हुन्।
देशमा आन्दोलन भएर नयाँ संविधान बनेसँगै कयौँ सरकार फेरिए। धेरै चुनाव पनि भए। तर आरक्ष विस्थापितको समस्या समाधान नहुँदा उनीहरू चिन्तित छन्। भोट बैंकको रुपमा मात्रै राजनीतिक दलले आफूहरूलाई प्रयोग गरेको उनीहरूको गुनासो छ।
‘चुनावमा सम्झिन्छन्। समस्या समाधानको वाचा पनि दिन्छन्। यिनीहरूलाई भोट गर्दा गर्दै हात खिइसके,’ तत्कालीन पिपलाडी गाविसको भत्पुरीबाट विस्थापित भएका रमेश ताम्राकारले भन्छन्, ‘जसले हामीलाई जग्गा दिन्छ, त्यसैलाई मत दिन्छौँ।’

जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरू सहभागी भएर चुनावमा पनि होमिएका छन्। तर आरक्ष विस्थापितहरूलाई भने समस्या समाधान हुनेमा कुनै भरोसा छैन।
‘नयाँ आउन् कि पुराना हामीलाई त कसैको आशा भरोसा छैन,’ रौतेली बिछुवाबाट विस्थापित वीरसिंह ऐर भन्छन्, ‘२४ वर्षसम्म हाम्रो समस्या समाधान भएन, कहिले कहीँ छाप्रा बनायौँ, कहिले कहीँ बनायौँ। हरेक ठाउँबाट लखेट्ने काम मात्रै भएको छ।’
पुनर्स्थापनाको माग राख्दै आरक्ष विस्थापितहरूले पटक पटक आन्दोलन गरिसकेका छन्। कञ्चनपुरमा मात्रै होइन विस्थापितहरूले काठमाडौँ पुगेर समेत धर्ना, अनसनलगायतका आन्दोलन गरिसकेका छन्। तर उनीहरूका समस्या जस्ताका त्यस्तै छन्।

विस्थापित परिवार अहिले निकुञ्ज किनार, जंगलमा र विभिन्न शिविरमा बसोबास गरिरहेका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविरमा ६ सय बढी, तारापुरमा १ सय ८० र लल्लरे डाँडामा १३ परिवारको बसोबास रहेको छ।
विभिन्न १४ वटा शिविरमा २४ सय ७३ विस्थापित परिवारको बसोबास रहेको विस्थापितहरू बताउँछन्। समस्या समाधानका लागि कयौँ आयोग बनेपनि उनीहरूको समस्या ज्यूँका त्यूँ छ।
Shares

प्रतिक्रिया