ad ad

बागमती


बागमती प्रदेशमा किचलो : मन्त्रालय बढाउने कि मन्त्री घटाउने?

एकीकृत समाजवादीबाट थपिएकी बिनाविभागीय मन्त्रीको व्यवस्थापन बन्यो चुनौती
बागमती प्रदेशमा किचलो : मन्त्रालय बढाउने कि मन्त्री घटाउने?

फाइल तस्बिर: बिनाविभागीय मन्त्री रमा आलेमगरलाई बधाई दिँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल


सुनिता विष्ट
बैशाख ४, २०८१ मंगलबार १५:३३, हेटौँडा

बागमती प्रदेशमा सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा मन्त्रालय बढाउने कि मन्त्री घटाउने भन्ने किचलो सुरु भएको छ।

एमालेसहितको नयाँ गठबन्धन बनेपछि गत चैत १९ गते बिनाविभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरका कारण मन्त्रालय फुटाउने कि मन्त्री फिर्ता गराउने भन्ने विवाद सिर्जना भएको हो।

उनलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय विभाजनको तयारी थालिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दाबी छ। आलेमगर एकीकृत समाजवादीबाट बिनाविभागीय मन्त्री बनेकी हुन्। 

कांग्रेसहितको पहिलेकै गठबन्धन सरकारमा एकीकृत समाजवादीबाटै मन्त्री रहेका लक्ष्मण लम्साल (श्रम रोजगार तथा यातायात) र डा. राजेन्द्रमान श्रेष्ठ (कृषि तथा पशुपन्छी विकास मन्त्री) लाई हालको पुनर्गठित सरकारमा पनि यथावत् राख्दा थपिएकी आलेमगरलाई मन्त्रालय नपुगेको हो।

सिट संख्याका आधारमा एकीकृत समाजवादीले २ वटा मात्रै मन्त्रालय पाउने भएकाले त्यही दुई मन्त्रालयमध्ये एउटा खाली गरी बिनाविभागीय मन्त्री आलेमगरलाई दिन माओवादी केन्द्र र एमाले दुवैले माग गरेका थिए। तर एकीकृत समाजवादीबाट पहिलेदेखि मन्त्री रहेका लम्साल र श्रेष्ठ दुवै पछि हट्न तयार नभएपछि बागमती प्रदेशमा मन्त्रालय संख्या बढाउनुपर्ने अवस्था आएको हो।

एकीकृत समाजवादीले आफ्ना कुनै मन्त्री फिर्ता बोलाउन परे सरकारबाटै बाहिरिने चेतावनी दिएपछि मन्त्रालय फुटाएर भए पनि मन्त्री आलेमगरलाई जिम्मेवारी दिने तयारी थालिएको कुरा मुख्यमन्त्री शालिकराम जम्कट्टेल स्वीकार गर्छन्। कुन मन्त्रालय विभाजन गर्ने भन्ने विषयमा भने कार्यदल बनाएर निर्णय लिइने उनको भनाइ छ। 

तर सत्ता साझेदार दल एमाले मन्त्रालयको संख्या थप्ने होइन, बरु मन्त्रीको संख्या घटाउनुपर्ने अडानमा छ।

‘हामी मन्त्रालय बढाउने लाइनका पार्टी होइनौँ। सकभर अझै हाल रहेका १२ मन्त्रालय त कटौती गरौँ भन्ने सल्लाहमा छौँ,’ एमाले बागमती संसदीय दलका नेता तथा प्रदेश अर्थमन्त्री जगन्नाथ थपलियाले भने, ‘बिनाविभागीय मन्त्रीको जिम्मेवारीका लागि सोही पार्टीका अन्य मन्त्रीले सोच्न जरुरी छ। दलको सिट संख्याका आधारमा पनि निर्णय लिनु उचित होला। तर मन्त्रालय कुनै हालतमा पनि बढ्दैन।’

उता एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्णप्रसाद खनाल भने मन्त्रालयको संख्या बढाउनुपर्छ भन्ने पक्षमा आफूहरू पनि नरहेकाे तर आफ्ना कुनै पनि मन्त्री फिर्ता हुन नहुने तर्क गर्छन्। 

‘मन्त्रालय बढाउनपर्छ भन्ने हाम्रो माग होइन, तर मन्त्रालयको संख्या घटाए पनि बढाए पनि हाम्रो दलका तीन जना मन्त्रीले निरन्तरता पाउनुपर्छ भन्ने हाम्रो अडान हो’, नेकपा एकीकृत समाजवादीका बागमती संसदीय दलका नेता कृष्णप्रसाद खनालले नेपालखबरसँग भने, ‘हाम्रा कोही मन्त्री फिर्ता आउने स्थिति बन्न हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .