ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई राति पनि सञ्चालन गर्न प्रस्ताव गरेका छन्।
आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको ९२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रात्रिकालीन रूपमा चलाउनको लागि सम्भव भए-नभएको अध्ययन गर्न व्यवस्थापन समितिलाई आग्रहसमेत गरे।
उनले आफू नगर प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरू सबै पूरा गरिसकेको दाबी पनि गरे। ललितपुर महानगरमा रात्रिकालीन क्रियाकलापहरू सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालीन क्रियाकलापहरूको थालनी गर्नुपर्ने उनको धारणा थियो।
उनले भने, ‘म चाहन्छु, चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौँ। विदेशतिर रात्रिकालिन जू हुन्छन्। रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ। मैले पनि दुई ठाउँमा हेरेँ। हामीकहाँ यो सम्भावना छ कि छैन? एकचोटि अध्ययन गरौँ न। अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ।’
Shares

प्रतिक्रिया