बागमती


चितवन निकुञ्जलाई बाघ पाल्न हम्मे, ऋण गरेर राँगाको मासु खुवाउँदै

चितवन निकुञ्जलाई बाघ पाल्न हम्मे, ऋण गरेर राँगाको मासु खुवाउँदै

Photo: WWF


नेपालखबर
साउन १३, २०८२ मंगलबार १६:३४, चितवन

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ। बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो।
 
चितवन राष्ट्रिय निकुञ्जको खोरमा ७ बाघ रहेका छन्। निकुञ्जको मुख्य कार्यालय कसरामा ३, सौराहामा २ र देवनगरमा २ बाघ छन्। मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ। दैनिक मासु खुवाउनु पर्छ।
 
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रुपमा ती बाघ पाल्न ३० लाख रुपैयाँ हाराहारी बजेट चाहिन्छ। एउटा बाघलाई दैनिक ५ किलोदेखि ७ किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ। सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक ५ लाख हाराहारी मात्रै बजेट छुट्याउने गरेको उनले बताए।
 
सूचना अधिकारी थापामगरले भने, ‘गत आर्थिक वर्षमा  बाघका लागि २२ लाख हाराहारी मासुको भुक्तानी गर्न बाँकी छ। एक महिनामा ७ बाघलाई दैनिक ५ किलोका दरले राँगाको मासु खुवाउँदा मासिक २ लाखभन्दा बढी खर्च हुन्छ। बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए।
 

‘खोरमा थप बाघ राख्ने ठाउँ छैन’, सूचना अधिकारी थापामगरले भने। राख्ने ठाउँ नभएपछि गत वर्ष एउटा बाघ पर्सा पठाइएको थियो। बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए।
 
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन्। आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ। यो निकुञ्ज बाघका लागि राम्रो बासस्थान हो। 

यहाँ आउने पर्यटकलाई सहजै देखाउन देवनगरको खोरमा बाघ राखिएका छन्। त्यहाँ सहज रुपमा बाघ हेर्न पाइन्छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad