कान्तिलोक पथमा ट्रक पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार (आज) बिहान मकवानपुरको बकैया गाउँपालिका-११ लेनडाँडामा परालको भुस बोकेको ट्रक अनयन्त्रित भएर पल्टिँदा सडक बन्द भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
मकवानपुर प्रहरीका अनुसार आज बिहान ४:४५ बजे बाराबाट परालको भुस लोड गरेर काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख १३६५ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबीचमा पल्टिएको हो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी पोस्ट जितपुरभज्याङबाट प्रहरी वरिष्ठ हवलदार सुरेन्द्र दरैको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
ट्रक चालक बारा कोल्बी नगरपालिका-४ निवासी २४ वर्षीय समीर तामाङ प्रहरी सम्पर्कमा छन् भने सडक खुलाउन कठिनाइ भइरहेको डीएसपी बोगटीले बताए।
ट्रक हटाउन क्रेन ल्याउन समन्वय भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया