प्रवास


व्यक्ति अहंकारी कसरी बन्छ? साइप्रसको सडकमा मैले भोगको त्यो दुर्व्यवहार

व्यक्ति अहंकारी कसरी बन्छ? साइप्रसको सडकमा मैले भोगको त्यो दुर्व्यवहार

नुमेश घर्ती मगर
असोज २३, २०८२ बिहिबार १७:२२, साइप्रस

कामको चाप, मानसिक तनाव अनि उष्णतालाई मत्थर पार्ने मनसायले रातको ११ बजे कोठाबाहिर निस्कँदा शान्त सहरसँगै समुद्री सिरेटोले मनमा स्फूर्ति भरिदियो। तन सिमलको भुवाजस्तो हलुको लाग्यो।

आकाशमा जून मुस्कुराएजस्तो लाग्थ्यो। ताराहरू चम्किरहेका थिए। उँधोको समुद्र निदाएझैँ निश्चल थियो। उँभोको पहाडले कसैलाई पर्खिरहेजस्तो प्रतीत हुन्थ्यो। 

लम्पसार परेको फराकिलो सडकमाथि छिटफुट गाडी हुँइकिन्थे। तेजिलो सडक बत्तीको प्रकाशमा छेउतिर नाम थाहा नभएका पहेँला, राता र बैजनी भुइँफूल रमाएझैँ लाग्थे। बायाँतिर पैदल पथ। दायाँ साइकल मार्गनिर म हिँडिरहेँ। अग्लो सल्लाको रूखछेउ के पुगेको थिएँ, एउटा सेतो पिकअप जिप मेरो सामुन्ने रोकियो। झसङ्ग भएँ– केही भन्छन् कि? जवाफ दिन आफूलाई तयार पारेँ।

‘तिमी कता जाने?’ कालो चस्मावाला एकजना किशोरले अङ्ग्रेजी भाषामा झ्यालको सिसा तल झारेर सोध्यो।

‘लाची?’
म बस्ने ठाउँको नाम भन्दिएँ।
‘आउ गाडीमा बस।’ अर्को किशोरले मुन्टो निकाल्यो।

‘प्रस्तावका लागि धन्यवाद। माफ गर बस्दिनँ, मलाई पैदल हिँड्न मन छ, यसै पनि सात मिनेटको बाटो त हो।’ मैले शिष्टाचार शैलीमा इन्कार गरेँ।

जिपभित्र चार जनाजति थिए होला, गीतसँगै कोलाहल सुनेँ। मैले देखेको चाहिँ दुई किशोरलाई हो, सडक बत्तीको प्रकाशमा तिनीहरूको मुहार प्रस्ट देखिन्थ्यो। गाडीमा बसाल्न अलिक जिद्दी गरेको महसुस भयो, अनि म अलिक पछाडि हच्किएँ। ग्रिक भाषामा के–के भने कुन्नि? एकजनाले मतिर थुक्यो। अरू गललल हाँसे।

‘यो के गरेको?’ मैले गुनासो पोखिनसक्दै उनीहरूले जिप कुदाइहाले।

युरोपभित्रको एक सानो टापु साइप्रस देशमा म विगत अढाई वर्षदेखि एक रेस्टुरेन्टको सेफ छु। पर्यटनले अर्थतन्त्र धानेको मुलुक हो यो। यहाँ लिँदा पनि धन्यवाद र दिँदा पनि धन्यवाद बोल्ने गरिन्छ तर मलाई? एकछिन रन्थनिएँ।

हुन त ममाथि दुर्व्यवहार भएको यो पहिलोचोटि चाहिँ होइन। जाडो मौसममा निकोसिया सहर गएको थिएँ। फर्कंदा मसँग खुद्रा युरो थिएन। बसमा दुई यात्रुका लागि भाडा थियो १४ युरो। मैले ५० देखाएँ। चालकले ‘अर्को बसमा आउनू’ भनेर हकारे। 

यही कुरो उनले शिष्टाचार शैलीमा बोल्न सक्थे। नजिकै सुपरमार्केट छ, सुपथ मूल्यमा सामान पनि पाइन्छ। तर, साहुनीको व्यवहार नीच खालको छ। पानी किन्न जाँदा पनि ‘कति पानी पिएको’ भनेर थर्काउने बानीले नेपाली ग्राहक मात्रै होइन पर्यटकले पनि दिक्क मानेर शिर समाउँछन्। मलाई चाहिएको लिक (एक प्रकारको प्याजजस्तो डाँठ जो हाँसको मासुमा प्रयोग गरिन्छ) नभेटेर सोधेको उल्टो झर्केर भनिन्– ‘पहिला अङ्ग्रेजी सिकेर बल्ल सामान किन्न आऊ।’

सहकर्मीहरूसँग आफू अपमानित हुनुपरेको गुनासो राख्दा पो बल्ल थाहा पाएँ– म मात्रै नभई उनीहरू पनि दुर्व्यवहारमा परेका रहेछन्। यहाँका बासिन्दा पैदल हिँड्दैनन्। सस्तो किन नहोस् गाडी नै चढ्छन्। हामी कामदार पनि प्रायः बस यात्रा गर्छौँ। तर, कहिलेकाहीँ बजार क्षेत्रमा पैदल हिँड्दा पानीले झ्याल्ने। हर्न बजाउने। गिज्याउने गरेको सहकर्मीहरूले बताए।
***
व्यक्तिमा अहम्‌को जन्म कसरी हुन्छ?

पारिवारिक पालनपोषण र सामाजिक संरचना नै पहिलो खुड्किलो जस्तो लाग्छ। जुन किशोरले मलाई थुकेर गए, उनको हुर्काइ त्यसरी नै भयो। व्यवसाय व्यस्तताको कारण आफूले घरको काम गर्न नभ्याउँदा नै नोकर चाहिने हो– बूढाबूढीको सेवा गर्ने, कपडा धुने, घर सफा राख्ने, बालबालिकाको हेरचाहा गर्ने।

कामदारले बूढा, जवान या बच्चा सबैलाई एकै समान आदर गर्नुपर्छ। ज्यू हजुर भन्नुपर्‍यो। तुच्छ वचन सहनुपर्‍यो। मालिकले काम र दबाबविना दाम दिँदैन। हो, तिनै अनुचित व्यवहार बालकको मस्तिष्कमा हक जमाएर बस्न थाल्छ।

पितृसत्तात्मक चिन्तन, पुँजीवादी विचार, जातिवादी सोच र धार्मिक अतिवादीहरूले जसरी सामाजिक सद्भाव खलबल्याउँछन्। बालक त्यही सामाजिक संरचना/संस्कृतिमा हुर्किरहेको हुन्छ, स्वाभाविकै हो उसमा भेदभाव भावनाले पनि ठाउँ ओगटिरहेको हुन्छ। र, एक दिन ती किशोरजस्तै बन्छन्– मेरो देशमा काम गर्न आउने मेरो पनि नोकर। अनि फरक समुदायको व्यक्तिलाई देखेपछि यसरी थुक्न थाल्छन्।

अर्को कुरो, संघर्षविनाको सफलताले पनि व्यक्तिलाई घमण्डी बनाउन मद्दत गर्छ। बाआमाले जोडिदिएको सम्पत्तिमाथि रजाइँ गर्ने छोराछोरीले दुःख कस्तो हुन्छ भनेर बुझेका हुँदैनन्। पसिनाको महत्त्व थाहा पाउँदैनन्। मालिकअगाडि शिर निहुराउनु परेको हुँदैन। अनि समझदार होइन अहङ्कारले चेतनामा जरा गाड्न थाल्छ। बिस्तारै हुर्कन्छ। हाँगा फैलाउँछ। र, त बलियो बन्छ। जुन संस्कृतिमा हुर्कन्छ उसलाई त्यही व्यवहार नै उत्तम लागेको हुन्छ। किनकि संस्कृति भनेकै सोच्ने तरिका हो।

पुँजीवादी व्यवस्थाभित्रको अझ डरलाग्दो देखासिकीले व्यक्तिलाई दीर्घरोगी बनाएको छ। मानिस आफ्नो श्रमप्रति सन्तुष्ट हुन सक्दैन। किनकि दोस्रो व्यक्तिले उसको कामलाई सम्मान र प्रोत्साहन गर्दैन। मसित रिसाउने बस चालकको मनिस्थिति पनि त्यस्तै प्रकारको हो। दौँतरीले सरकारी जागिर गर्छन् होला। घरघडेरी जोडेका होलान्। कार्यालय समयमै जानु, बेलैमा फर्कनु। समुदायमा इज्जत होला। उसको फूर्ति पनि उस्तै हुँदो हो। चालकले आफूलाई अर्कासँग दाँजेर हेर्दो हो अनि आफ्नो कामलाई तल्लो स्तरको सोचेर घिन मान्दो हो। 

त्यो निराशाको निसानामा म परेको हुन सक्छु! तर, यथार्थ कुरो चाहिँ कार्यालयमा कार्यरत व्यक्ति पनि तृप्त हुँदैन। उसलाई हाकिमको पद चाहिएको हुन्छ ताकि सबै उसको इसारामा नाचुन्। भन्नुको अर्थ व्यक्ति आफूलाई मालिकको स्थानमा उभ्याएर अरूलाई शोषण गर्न/कजाउन चाहन्छ। पद, पैसा र पावर पाउन दौडधुप गरिरहने तर फेला पार्न नसकेपछि यसरी कुण्ठा पोख्ने पनि गरिन्छ। 

निजी सम्पत्तिले मानिसलाई अहङ्कारी त बनाउँछ नै मानसिक तनाव पनि दिन्छ। किनकि वर्तमानमा जुन कथित उच्चस्तरीय सुखमय जीवन बाँचिरहेको हुन्छ, भोलि धनदौलत नहुँदा सर्वहारा बन्ने त्रास रहिरहन्छ।

जसरी आज सम्पत्तिकै कारण समुदायमा इज्जत पाएको आभास छ। भविष्यमा तिनैले थुक्न थाल्नेछन्, जसकारण निजी स्वामित्वका लागि व्यक्ति मरिहत्ते गर्छ। ऊ हरेक वस्तुमा हरक्षण अधिकतम नाफा चाहन्छ। र, एक दिन सुपरमार्केटको साहुनीजस्ती पनि बन्न बेर छैन! उनी आफ्नै मुलुकमा मात्रै होइन जन्मेर हुर्किएकै स्थानमा व्यवसायी बनिन्। आफूले सोचेभन्दा बढी सम्मपत्ति जोडिन्। तापनि नाफा खाएर बेच्न राखेको सामान किन्ने ग्राहकमाथि दुर्व्यवहार किन गर्छिन् त?

पहिलो कुरो त यो सम्पत्तिको मालिक मै हुँ ठान्छिन्। दोस्रो राजनीतिक पहुँच छ। तेस्रो जन्मभूमिमै हो। त्यसमाथि देशभक्तिको भाङ चढेको हुन्छ। पुँजी थुपारेपछि मानिस आफूलाई हरपल मालिक देख्न थाल्छ। फरक समुदायका अझ भनौँ श्रमिकहरू मेरोअघि शिर झुकाओस् सोच्ने गर्छ।

नाफा/नोक्सान पुँजीमा मात्रै होइन मानवीय सम्बन्धमा पनि हुन्छ। वर्तमान व्यवस्थामा यतातिर ध्यान प्रायःले दिँदैनन्। छोराछोरीले बाआमाबाट जति स्नेह पाउनुपर्ने त्यति पाएका छैनन्। हेरचाह गर्ने घरमा नोकर हुन्छ। कि घाटा या नाफाको छलफलले श्रीमान्‌श्रीमतीबीच प्रेमिल संवाद हुन सक्दैन। नातेदार पुँजीमा कि आफूभन्दा माथि छन् या मुनि हुँदा हैसियत मिल्दैन, जसकारण भेटघाट हुँदैन।

स्वाभाविकै हो, मानिस प्रकृतिसँग रमाउँछ, तर घुम्न जाने फुर्सत छैन। मस्तिष्कमा नाफा/नोक्सानभन्दा अरूलाई स्थान छैन, हुनुपर्ने महत्त्वपूर्ण कुरो मानवीय संवेदना हो। दिमाग थाकिसकेको हुन्छ र पनि जबरर्जस्ती घिसार्दाको परिणाम चिढ्चिढापन देखिन्छ।

उही व्यक्ति एकैछिनमा स्वस्थजस्तो व्यवहार पनि गर्छ। कहिलेकाहीँ त यस्तो लाग्छ– मानिस आफ्नै कारणले एक्लिएको छ। व्यक्तिलाई माया गरौँ भने पनि भौतिक दूरी नजिक भएर के गर्नु भावनात्मक सम्बन्ध टाढा छ! र, त मान्छेको साटो कुकुर र बिरालोमाथि स्नेह देखाउँछन्। जनावरलाई प्रेम गर्नु हुन्न भन्ने मेरो आशय चाहिँ होइन। तर, जनावरजति दयामाया मानिसलाई पनि गर्न सके मानवीय सम्बन्ध प्रगाढ हुन्थ्यो। 
***
साइप्रसमा मात्रै होइन, मलाई दिल्लीको गल्लीगल्लीमा ‘ओए बहादुर कान्चा’ भनेर हेपिएको छ। सार्वजनिक ठाउँमा पनि नेपालीमाथि फरक दृष्टिकोण हुन्छ। हरियाणा सरकारी अस्पतालमा एक कर्मचारीले झन् म नेपाली नागरिक भएको चाल पाएपछि तुच्छ व्यवहार गरे।

पाँचतारे होटलमा जागिर लाग्दा पुलिस क्लियरेन्स सर्टिफिकेट चाहिएको थियो। नेपालीलाई यो सुविधा रहेनछ। दार्जिलिङ घर बताएर भारतीय ५०० रुपैयाँ प्रहरीलाई घुस दिएपछि सर्टिफिकेट हात पारेको थिएँ। मेरो झन् मंगोलियन अनुहार हिँड्डुल गर्दा कसैले अपमान गर्छ कि भनेर हरक्षण त्रासमा रहन्थेँ।

भारतीय सहकर्मीसँग कहिलेकाहीँ झगडा हुँदा म भन्थेँ, ‘तिमी र मैले श्रम बेचिरहेका छौँ। मालिकले हामीलाई न्यूनतम पारिश्रमिक दिन्छ। जब उसलाई व्यवसायमा घाटा हुन्छ तब हामी दुवैलाई कामबाट निकालिदिन्छ। जुन देशको भएता पनि मालिकको दृष्टिकोणमा हामी नयाँ दास हौँ।’

मेरो विचारप्रति उनी सहमत थिएनन्। आफूलाई भारतीय नागरिक भएकोमा घमण्ड गर्थे। होटलभित्र उनीभन्दा म माथिल्लो दर्जामा थिएँ। तलब पनि मेरै अलिक बढी थियो। तर, मलाई कुनै घमण्ड थिएन। धार्मिक हिन्दू अतिवादी थिए, इस्लामीलाई घृणा गर्थे। जातिवादी थिए, दलितलाई विभेद गर्थे। देशभक्तिको स्वाङ थियो, मलाई तिरस्कार गर्थे। तर, मालिकले हामीलाई श्रमिकको समान दर्जामा राख्थे।

आफ्नै देशको राजधानी काठमाडौँमा एक वर्ष बसेँ। गर्वले ढक्क छाती फुलेको आभास हुन्थ्यो। आकाशे पुलमाथि फरक क्षमताका दाइदिदीले गाएर रुपैयाँ जम्मा गर्छन्। पुलको छेउमा बालबालिका हात जोड्दै माग्न बसेका हुन्छन्। सडक पेटीमा किनबेच चलिरहेकै बखत नगर प्रहरीको आगमनपछि भागाभाग सुरु हुन्छ। यी दृश्यले मेरो हृदय नचिरिएको होइन। तर, मैले केही गर्न पनि त सक्दिनँ!

भोटाहिटीनिर पुस्तक पसलमा काम गर्थेँ। घरसाहुको उमेर ५० वर्ष नाघेको हुँदो हो। नसुहाउँदो पहिरनमा गुण्डागिरी शैलीले मलाई थर्काउँथे। क्षेत्रीय र वर्गीय उत्पीडन ममाथि भइरहेको थाहा थियो। र, पनि साँझबिहान नमस्कार गरेँ।

नयाँ पुस्तक प्रकाशित भएपछि भोटाहिटीनिरै अर्को पुस्तक पसललाई पुर्‍याउनुपर्थ्यो। त्यो प्रसिद्ध पुस्तक पसलको साहु उमेरले मभन्दा कान्छा थिए। म तपाईँ भनेर बोल्थेँ। उनी तिमी र तँ मै ओर्लिने मात्रै होइन, झर्किने पनि गर्थे। उनी पुस्तक पसलको मालिक। म नोकर भएपछि वर्गीय विभेद सुरु भयो। ओझेलमा परेको एउटा पुस्तकको लेखक म। डिजिटल पत्रिकातिर छिटफुट मेरो रचना छापिने हुँदा म पनि अहङ्कारी बनेको हो कि! म आफैलाई पनि प्रश्न गर्छु, तर त्यसो होइन, मलाई आत्मसम्मान मात्रै चाहिएको हो।
***
म रेस्टुरेन्टको सेफ। यो क्षेत्रमा काम गरेकै बीस वर्ष नाघिसक्यो। जापानिज सुशी र चाइनिज खाना बनाउँछु। मलाई राम्रै अनुभव छ कुन ससमा के परिकार पकाउँदा स्वादिष्ट हुन्छ। तर, पनि कुनै ग्राहक यस्ता आउँछन् कि जबरजस्ती उनले भनेअनुसार परिकार तयार पार्न लगाउँछन् अनि स्वादिष्ट नभएको गुनासो गर्छन्।

प्रायः ती इजरायली नागरिक हुन्छन्। त्यस मुलुकमा साम्राज्यवादी शासक त छन् नै त्यसरी आफ्ना नागरिकलाई पनि सम्भव हुने स्थानमा दमन गर्न सिकाएजस्तो लाग्छ। उनीहरूलाई राम्ररी थाहा छ कि रेस्टुरेन्टका कामदारलाई ग्राहकअघि झुक्न मात्रै सिकाइन्छ। गल्ती उसको होस् तर मुसुक्क हाँसेर सरी हामीले भन्नुपर्छ।

चाइनिज खानाको कखरा नआउने तर सबभन्दा बढी नखरा पनि गर्ने व्यवहारले रेस्टुरेन्टका कामदार दिक्क हुन्छन्। कुनैबेला बिल नतिर्ने जिद्दीले मालिकलाई समेत गुहार्न परेको छ। पत्रु राजनीतिक वैचारिकले पनि आमजनतामा कसरी प्रभाव पार्छ त भन्ने इजरायली ग्राहकलाई उदाहरणको रूपमा लिन सकिन्छ।

व्यक्तिको जन्म जुन धर्म संस्कृतिमा हुन्छ, उसको हुर्काइसँगै सिकाइ पनि त्यसैअनुसार हुन्छ। केही मात्रै क्रान्तिकारी बन्छन्, बाँकी पक्षपाती नै रहन्छन्। र, तिनीहरूलाई फरक समुदायमाथि थुक्न मज्जा लाग्छ। शोषण गर्न स्वाभाविकै ठान्छन्। मानव हुँ भन्छन्, तर मानवता शून्यतामा झरेको हुन्छ। म यही सोचिरहन्छु– उनीहरू चयनसँग निदाउन कसरी पो सक्छन्?

व्यक्तिलाई आफ्नो सत्ताच्युत हुने भय सधैँ रहन्छ। किनकि आफू जुन पक्ष लिएर पीडक बनेको हुन्छ शक्तिहीन हुँदा पीडित भइने भय हुन्छ। त्यसैले पनि अहङ्कारी र भेदभावी बन्छ। किनकि आफूभन्दा कमजोरलाई नै हो दमन गर्ने। बराबरीसँग त युद्ध हुन्छ, क्षति दुवैले बेहोर्नुपर्छ। हारको त्रास पनि उत्तिकै रहन्छ। आफूभन्दा शक्तिशालीसँग दोस्तीको ढोल पिटे पनि वास्तवमा त्यो आत्मसमर्पण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad