प्रवास


बर्लिनको नेपाली दूतावासले पोल्यान्डमा यी ३ दिन ३ स्थानबाट राहदानी वितरण गर्दै

बर्लिनको नेपाली दूतावासले पोल्यान्डमा यी ३ दिन ३ स्थानबाट राहदानी वितरण गर्दै

शेरबहादुर परियार
फागुन २०, २०८२ बुधबार २०:४३, मध्य युरोप

जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले पोल्यान्डमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गर्ने भएको छ।

दूतावासले जारी गरेको सूचनाअनुसार गत जनवरीमा पोल्यान्डमा सञ्चालित घुम्ती सेवा शिविरमा प्राप्त आवेदनबमोजिम तयार पारिएका राहदानी वितरण गर्न लागिएको हो।

सेवाग्राहीको सहजताका लागि पोल्यान्डका मुख्य ठूला तीन सहरबाट तीन दिनसम्म लगातार राहदानी वितरण गरिने दूतावासले जनाएको छ।

पहिलो दिन मार्च ७ तारिख पोल्यान्डको भ्रोस्वावस्थित हिमालय रेस्टुरेन्टबाट, दोस्रो दिन ८ तारिख उचको थर्ड आई रेस्टुरेन्टबाट र तेस्रो दिन ९ तारिख वारसाको एभरेस्ट रेस्टुरेन्टबाट बिहान ९ बजे बजेदेखि अपराह्न ४ बजेसम्म राहदानी वितरण गर्ने कार्यक्रम रहेको दूतावासको सूचनामा उल्लेख छ।

आफ्नो राहदानी लिन आउँदा पुरानो (हाल प्रयोगमा रहेको) राहदानी लिएर आउन सेवाग्राहीलाई भनिएको छ। विशेष कारणवश सम्बन्धित व्यक्ति उपस्थित हुन नसक्ने अवस्थामा आवेदकको मञ्जुरीनामाको विश्वसनीय आधार देखिएमा राहदानी उपलब्ध गराउन सकिने दूतावासले जनाएको छ। 

बर्लिन दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले घुम्ती शिविरमा आवेदन दिएका ४ सय ९६ जनामध्ये समयमा राजस्व नबुझाएका १६ जनाबाहेक बाँकी सबैको राहदानी वितरण गरिने जानकारी दिए। 

'राहदानी समयमै नपाएको केही गुनासो आएको थियो। पोल्यान्डमा आवेदन संकलन गरेको दुई महिनाभित्र नै सेवाग्राहीहरूलाई दूतावासको टोली आफैँ त्यहाँ गएर राहदानी वितरण गर्न लागेको हो', कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने, 'यसले पोल्यान्डबाट बर्लिनसम्म आउने यातायात तथा हुलाक खर्च र होटेलमा बस्दा लाग्नेसमेत गरी आवेदकहरूको ठुलो खर्च तथा समय बचत हुनेछ।'

राहदानी दूतावासका प्रथम सचिव रञ्जन यादवको नेतृत्वमा घुम्ती शिविरको समन्वय गरेको एनआरएनए क्षेत्रीय समिति डोनोलस्कीको सहयोगमा वितरण गरिने उनले बताए।

बर्लिनस्थित नेपाली राजदूतावासले वारसाका लागि नेपाली अवैतनिक वाणिज्यदूतावास तथा एनआरएनए क्षेत्रीय समिति डोनोलस्कीको समन्वयमा गत जनवरी २ देखि ५ तारिखसम्म राहदानी बनाउन चाहनेहरूका लागि शिविर सञ्चालन सञ्चालन गरेको थियो।

यसअघि राजधानी वारसामा मात्र केन्द्रित भइरहेको घुम्ती शिविर पहिलोपटक राजधानीबाहिर पोल्यान्डको चौथो ठुलो सहर भ्रोस्वाभमा सञ्चालन गरिएको थियो।

बर्लिनस्थित नेपाली राजदूतावासको जर्मनीसहित पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा सेवा तथा कूटनीतिक क्षेत्र पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad