कला


पल शाह कानुनी कारबाहीबाट बच्ने सम्भावना कति?

पल शाह कानुनी कारबाहीबाट बच्ने सम्भावना कति?

प्रहरीमा आत्मसर्पण गर्नुअघि अभिनेता पल शाह


नेपालखबर
फागुन १९, २०७८ बिहिबार ८:३५, काठमाडौँ

नाबालिग (१८ वर्षमुनिको) गायिकालाई जबर्जस्ती करणी (बलात्कार) गरेको अभियोगमा अभिनेता पल शाह हिरासतमा पुगेको घटना अहिले चर्चामा छ। यसले नेपाली समाजमा बलात्कारबारे बहस तीव्र पारेको छ।

योसँगै बलात्कारसम्बन्धी कानुनमा कस्तो सजायको व्यवस्था छ भन्ने कुरामा पनि यतिबेला सबैको ध्यान तानिएको छ। सम्भवतः पल प्रकरणले धेरैलाई थाहा नभएको बलात्कारको कानुनी परिभाषा जानकारी भइरहेको छ। 

नामै जबर्जस्ती करणी अर्थात् बलात्कार। यसलाई सोझो र सामान्य ढंगले बुझ्दा कसैसँग जर्बजस्ती, बलजफ्ती यौन सम्पर्क गर्नु नै बलात्कार हो भन्ने लाग्छ। अर्थात् सहमतिमा गरिने सबै यौन सम्पर्क बलात्कार होइन भन्ने आम बुझाइ छ। 
जब अभिनेता पल शाह बलात्कार अभियोगमा पक्राउ परे, तब बलात्कारबारे कानुनमा जे लेखिएको छ, त्यसले धेरैलाई अचम्म लागेको हुनुपर्छ। 

यसैकारण पल समर्थकहरू उनले बलात्कार गरेको मान्न तयार छैनन् र उनी निर्दाेष साबित हुने जिकिर गरिरहेका छन्।

त्यसो त पल स्वयंले आफूविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कार अभियोगको उजुरी परेको केही दिनपछि फेसबुकमार्फत आफूलाई फसाउन षडयन्त्र गरिएको अडिओ ‘प्रमाण’ सार्वजनिक गरे। जुन अडिओमा उनीविरुद्ध ‘पीडित’लाई आफ्नै साथीभाइले ‘उचालेको’ कुराहरू सुनिन्छ।

यो पढ्नुहोस् : बलात्कार मुद्दामा ‘फरार’ पल शाहले दिए यस्तो ‘प्रमाण’

यी ‘प्रमाण’ले अर्थात् पलले शारीरिक सम्बन्ध नै गरेको भए पनि ‘सहमतिमै भएको’ पुष्टि भयो भने चाहिँ उनी कानुनी सजायबाट बच्छन्?  

कानुन भन्छ– कुनै हालतमा बच्दैनन्। किनभने कानुनमा प्रस्टसँग लेखिएको छ– १८ वर्षभन्दा कम उमेरकासँग शारीरिक सम्बन्ध राख्नु आफैंमा बलात्कार हो। अर्थात् उनकै राजीखुसीमा सम्बन्ध गरिए पनि त्यो कानुनको दायरामा पुगेपछि बलात्कार ठहरिन्छ। यसमा कुनै ‘प्रमाण’ले काम गर्दैन। 

यसैले कानुनी रूपमा सर्सती हेर्दा पल शाह र उजुरीकर्ता गायिकाबीच शारीरिक सम्बन्ध भएको पुष्टि भएका खण्डमा अभिनेता पल कानुनी कारबाहीबाट जोगिने कुनै बाटो देखिँदैन। 

त्यसो भए अब उनी सजायबाट बच्ने कुनै उपाय नै छैन त? 

यस्तो ठोकुवा गर्न पनि मिल्दैन। किनकि अहिले उनीविरुद्ध आरोप मात्र लागेको हो। त्यो आरोप अदालतले कसुरका रूपमा प्रमाणित नगर्दासम्म उनी ‘बलात्कारी’ ठहरिँदैनन्। यसर्थ अनुसन्धानका क्रममा पल शाहले ती किशोरीसँग यौन सम्पर्क गरेका रहेनछन् भने उनी कारबाहीबाट बच्ने सम्भावना हुन सक्छ। 

अर्काे कुरा पीडित किशोरी नाबालिग अर्थात् १८ वर्षभन्दा कम उमेरकी होइनन् भन्ने प्रमाण पेस भयो भने अनि उनीसँग सहमतिमै सम्बन्ध गरिएको पुष्टि भयो भने अभिनेता पल कानुनी कारबाहीबाट जोगिन सक्ने सम्भावना हुन्छ। 

सजायबाट बच्ने अन्तिम बाटो भनेको पीडितले अदालतमा आफ्नो बयान बदलिन् भने।

तर घटना भएको र पछि विभिन्न प्रभावमा परेर पीडितलाई बयान बदल्न मन लाग्यो भने पनि निकै अप्ठेरो अवस्था छ। किनभने यस्तो मुद्दामा बयान फेर्दा झुटो उजुरी गरेको भन्दै पीडितलाई नै कारबाही हुन सक्छ।

कि पल शाहलाई अनुकूल हुनेगरी अहिलेको बलात्कारसम्बन्धी कानुन नै संशोधन गरिनुपर्छ। अन्यथा जुन अभियोगमा उनी समातिएका छन्, त्यसबाट उम्किने सम्भावना एकदमै कम देखिन्छ। 

यद्यपि यसको अन्तिम किनारा भने अनुसन्धान र अदालतले नै लगाउनेछन्। 

याे पनिपलविरुद्ध दुर्गेशको बयान यस्तो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad