नायक पल शाहविरुद्धको बलात्कार मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँले पनि अनुसन्धान सकेको छ।
प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो।
तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको बताए।
शाह फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा छन्। बीचमा उनलाई गैंडाकोट लगेर बयान लिइएको थियो। त्यहाँ पनि उनीविरुद्ध नाबालिग बलात्कारको जाहेरी दर्ता भएको थियो।
नवलपुर जिल्ला अदालतमा भने गत बिहीबार नै मुद्दा दर्ता भइसकेको छ। तनहुँमा पनि अब ३ दिनभित्रमा मुद्दा दर्ता गरिसक्नु पर्नेछ। २५ दिनभित्रमा अदालतमा पेश गर्नुपर्नेमा सोमबार २२ दिन भइसकेको छ।
तनहुँमा थुनछेक बहस सकेर पल शाहलाई फेरि नवलपुर लगिने
जिल्ला प्रहरी कार्यालय तनहुँले पनि शाहले बलात्कार गरेको दाबीसहितको प्रतिवेदन बुझाएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।
नाबालिग १६ वर्षभन्दा कमको भएकाले १२ देखि १४ वर्षसम्म कैद सजाय हुनु पर्ने माग गरिएको छ। यस्तै पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।
तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस हुनेछ। तनहुँमा थुनछेक बहस सकिएपछि उनलाई नवलपुर अदालतमा उपस्थित गराइने छ। जिल्ला अदालत नवलपुरले तनहुँमा थुनछेक बहस सकिएपछि पहल शाहलाई पठाइदिन भन्दै पत्राचार गरिसकेको छ।
गत वैशाखमा तनहुँमा र २०७७ चैत ७ गते गैंडाकोटमा शाहले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडितले दुवै जिल्लामा जाहेरी दिएकी थिइन्। नवलपुर अदालतमा शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तिराउन माग गर्दै मुद्दा दर्ता भइसकेको छ।
जाहेरी दर्ता भएको ५ दिनपछि गत फागुन १५ गते शाह आफैँ प्रहरी कार्यालयमा हाजिर भएका थिए।
Shares

प्रतिक्रिया