लामो समयदेखि विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले विगतका वर्ष झैँ यो वर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको छ।
आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो।
विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक ग्ल्याम वर्ल्डकी प्रिती कार्कीले बताइन्।
प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन्। प्रतियोगिताको पहिलो अडिसन यही भाद्र ११ गते बानेश्वर स्थित होटल रानीमहलमा आयोजना हुनेछ।
सहभागी हुन चाहनेले अनलाइन मार्फत तथा ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन्।
शीर्ष सहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको विजेताले उपाधिका साथमा विभिन्न अवसर गिफ्ट पुरस्कारको रुपमा प्राप्त गर्नेछन्। प्रतियोगिताको कोरियोग्राफर आश्विनी झा हुन्।
प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका विभिन्न अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए।
‘मिसेस नेपाल ग्ल्यामको उपाधि २०१८ अलाइजा महर्जन, २०१९ मिनु प्रधान र २०२१ मा उर्मिला कार्कीले जितेका थिए।
प्रतियोगिताका विजेताले ‘सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेसनल’ का अलवा बिभिन्न प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्नेछन्।
Shares

प्रतिक्रिया