ad ad

कला


नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन आज के के हुँदै छ?

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन आज के के हुँदै छ?

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ११:१०, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२०) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाका गरी तीन प्रस्तुति मञ्चन हुँदै छ। 

भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्याह्न १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदै छ। अंग्रेजी भाषामा रहेको यो नाटक नीमा बल, क्याटी बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन्। यो प्रयोगात्मक र एकल नाटक हो। 

यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात् शरणार्थीका रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास र संस्कृतिबारे बताउँछ। नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो। 

त्यस्तै दिउँसो २ र साँझ ६ बजे रुसको लोकशैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मण्डला स्टुडियोमा मञ्चन हुँदै छ। कोन्द्रातोएभा क्रिस्टिनाले लेखेको यस नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन्। 

नाटक सामाजिक दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको यस नाटकले एउटी युवतीको कथा भन्छ। आफ्नो मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यका रुपमा रहेकी उनले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाई समेत बिर्सिएको प्रसंग नाटकमा छ। 

आइतबारै साँझ ७ः३० बजे नेपालका तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदै छ। यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ। 

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको महोत्सवमा आइतबारै नाटकका अलावा बिहानैदेखि ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ। 

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .