ad ad

कला


फर्केर हेर्दा २०७९ : बिकेनन् स्टार, टुट्यो कलाकारको चर्चित जोडी

फर्केर हेर्दा २०७९ : बिकेनन् स्टार, टुट्यो कलाकारको चर्चित जोडी

राधिका अधिकारी
चैत २९, २०७९ बुधबार १०:०, काठमाडौँ

फिल्म रिलिजका हिसाबले वर्ष २०७९ सकिएको छ। यो वर्षको अन्तिम फिल्म ‘बहाव’ बनेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मको बक्स अफिस कलेक्सनबाहेक यो वर्ष अन्य काम बाँकी छैनन्। 

यो वर्ष उद्योगमा केही घटनाहरु काण्डकै रुपमा चर्चित भए। संख्याका हिसाबले ४ दर्जन बढी फिल्म यो वर्ष रिलिज भए तर आधा दर्जन फिल्मले मात्रै निर्मातालाई राहत दिए। 

स्टार चलेनन्
फिल्म उद्योगका लागि यो वर्ष तुलनात्मक रुपमा सफल रह्यो। वर्षको अन्तिमसम्म ४९ फिल्म प्रदर्शनमा आए। समीक्षात्मक रुपमा राम्रो मानिएका फिल्मले राम्रो व्यापार गर्न सकेनन्। यो वर्ष रिलिज भएकामध्ये मुस्किलले आधा दर्जन फिल्मले बक्स अफिसमा राम्रै कलेक्सन गरे। धेरै फिल्मले लगानी गठाउन सकेनन्। तर यो वर्ष स्टार कलाकारका फिल्म चलेनन्। स्टार मानिएका अनमोल केसीदेखि पूजा शर्मासम्म धेरै कलाकारका फिल्म चलेनन्। स्टार कलाकार लिएर फिल्म निर्माण गरेका धेरै निर्माताको गोजी यो वर्ष रित्तो रह्यो। 

सबैभन्दा राम्रो व्यापार गर्ने अनमोल केसी यो वर्ष सबैभन्दा कमजोर साबित भए। उनको फिल्म ‘छड्के २’ले अनमोलको करिअरमै प्रश्न चिन्ह खडा गर्यो। यो फिल्मका लागि अनमोलले ५० लाख पारिश्रमिक लिएका थिए। फिल्मको प्रचार पनि राम्रो थियो। फिल्मका लागि अनमोलले मेहनत पनि गरेका थिए। तर फिल्म चलेन। त्यसयता अनमोल नयाँ फिल्ममा साइन गर्न समेत डराइरहेका छन्। यसै वर्ष प्रदर्शन भएको फिल्म ‘ए मेरो हजुर ४’ पनि औसत साबित भयो। 

अर्का स्टार कलाकार प्रदीप खड्काका लागि पनि यो वर्ष सुखद रहेन। समीक्षा र व्यापारका हिसाबले भने यो वर्ष उनका लागि मिश्रित रह्यो। यो वर्ष उनका २ फिल्म रिलिज भए। एउटाले राम्रो समीक्षा कमायो, एउटाले पैसा। ‘प्रकाश’ मार्फत उनले प्रशंसा बटुले। तर यो फिल्मले निर्माताको लगानी समेत उठाउन सकेन। ‘प्रेमगीत ३’ले ब्राण्डका हिसाबले पैसा त कमयो तर यो कमाइले प्रदीपको करिअरमा खासै प्रभाव पारेको देखिँदैन। 

स्टारडम भएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि उद्योगमा केही चलेन। यो वर्ष उनका दुई फिल्म ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ रिलिज भए। दुवै फिल्मले लगानी उठाउन सकेनन्। 

अर्की अभिनेत्री पूजा शर्माका लागि पनि यो वर्ष सुखद रहेन। उनका दुई फिल्म रिलिज भए। दुवै फिल्म बक्स अफिसमा चलेनन्। यो वर्ष उनले अभिनय गरेका ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ दुवै फिल्म बक्स अफिसमा फ्लप साबित भए। 

अभिनयको खुबै तारिफ पाएकी स्वस्तिमा खड्का पनि यो वर्ष चल्न सकिनन्। स्वस्तिमाले तारिफ बटुलेको फिल्म ‘चिसो मान्छे’ले निर्मातालाई न्यानो दिन सकेन। औसत समीक्षा पाएको यो फिल्मले बक्स अफिस कलेक्सन भने राम्रो गर्न सकेन। 

झापड काण्ड
अभिनेत्री मिरुना मगर वर्षको सुरुवातमै विवादमा आइन्। फिल्ममा लजालु, शान्त देखिने मिरुनाले देखाएको आक्रोशित रुपका कारण निकै आलोचना खेप्नु पर्यो। सुन्धारास्थित सिभिल मलमा फुर्वा लामा नामका एक दर्शकले गलत तरिकाले छोएको भन्दै उनले दुई थप्पड हानेर माफी मगाइन्। प्रहरीमा उजुरी दिएपछि प्रहरी फूर्वालाई पक्रियो।

यो घटनाको भिडिओ बाहिरिएपछि मिरुनाले निकै आलोचना खेप्नु पर्यो। यो घटनाको असर ‘कबड्डी ४’ टिमले नै खेप्नु पर्यो। ठाउँठाउँमा फिल्मको रिलिज रोकियो। यो प्रकरण अदालतसम्म पुग्यो। फुर्वाले मिरुनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराए। पछि आपसी समझदारीमा मिलाइयो।

फिल्मको व्यापारका हिसाबले भने मिरुनाका लागि यो वर्ष सुखद रह्यो। उनले अभिनय गरेको फिल्म ‘कबड्डी ४’ले वर्षको सुरुवातमा राम्रो कमाइ गर्यो। वर्षको अन्त्यमा उनको ‘फूलबारी’ले सुखद व्यापार गर्यो। 

अभिनेता प्रदीप खड्का पनि यो वर्ष विवादमा तानिए। राम्रो बोल्ने कलाकारको छवि बनाएका प्रदीपले विवादित अभिव्यक्ति दिए, जसले उनको स्टारडममा नराम्रो असर गर्यो। फिल्म रिलिजका हिसाबले यो वर्ष उनको स्टारडमको दम चलेन। ब्रान्डका हिसाबले प्रेम गीत ३ चल्यो। तर यही फिल्म प्रदर्शनका क्रममा दिएको विवादित अभिव्यक्तिले उनको करिअरमै असर गर्यो।  

‘मुर्गा’ सचेत भएको वर्ष
यो वर्ष नबुझी फिल्ममा लगानी गर्ने र मुर्गा बन्ने लगानीकर्ता सचेत भए। फिल्ममा लगानी गरेर आफू ठगिएको थाहा पाएपछि निर्माता केशव पाण्डेले न्यायालय गुहारे। ‘प्रसाद २’ मा लगानी गरेका पाण्डेको उजुरीपछि उच्च अदालत पाटनले फिल्म रिलिजको संघारमा रोकिदियो। 

‘प्रसाद २’ वर्षको अन्त्यमा कानुनी झमेलाबाट बाहिर निस्कियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएन। यसअघि फिल्म प्रदर्शन रोक्न उच्च अदालत पाटनले दिएको  अल्पकालीन आदेश खारेज गर्यो। तर फिल्म अन्यौलमा छ। गत शुक्रबार नै रिलिज हुने भनिएको यो फिल्म अब कहिले प्रदर्शन हुन्छ, टुंगो छैन। 

फिल्मका निर्माता सुवास थापाले पाण्डेलाई निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार रूपैयाँ ठगी गरेको आरोप छ। उनीविरूद्ध पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंमा गत फागुन २९ गते जाहेरी दिएका थिए। फिल्म प्रदर्शनको अल्पकालीन आदेश खारेज भए पनि सुवासविरुद्धको ठगी मुद्दा कायमै छ। सुवास अहिले पनि प्रहरीको फरार सूचीमा छन्। 

वर्षको अन्त्यमा अर्को फिल्म ‘नाइँ नभन्नु ल ६’ का विरुद्धमा पनि चलचित्र विकास बोर्डमा उजुरी पर्यो। फिल्मका निर्माता सञ्जय न्यौपानेविरुद्ध फिल्म निर्माणमा सहकार्य गरेकी शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिइन्। उनको उजुरीपछि बोर्डले सेन्सर प्रक्रिया अगाडि बढाएन। वैशाख १ गतेबाट प्रदर्शन हुने भनिएको यो फिल्मको पनि प्रदर्शन रोकिने भएको छ। फिल्ममा निर्माताका रुपमा सञ्जय न्यौपानेको मात्रै नाम राखेपछि शर्मिलाले विकास बोर्ड गुहारेकी हुन्। फिल्मका निर्देशक रिलिजको संघारमा आएर फिल्म रोकिएपछि तनावमा परेका छन्। 

दयाको स्टारडमले धानिएको उद्योग
यो वर्ष सबैभन्दा चलेका कलाकारको सूचीमा अभिनेता दयाहाङ राईको नाम दर्ज भयो। उनले अभिनय गरेका ‘कबड्डी ४’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’, ‘फूलबारी’ रिलिज भए। अधिकांश फिल्म बक्स अफिसमा हिट भए। स्टारडमका हिसाबले दया यो वर्ष सबैभन्दा माथि देखिए। दया यो वर्ष टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’मा पनि देखिए। अन्तर्राष्ट्रिय फेस्टिभल लक्षित फिल्म ‘गाउँ आएको बाटो’मार्फत सामाजिक रुपमा सक्रियता देखाए। फिल्म हिट हुनुसँगै सामाजिक अभियन्ताका रुपमा पनि यो वर्ष दयाको चर्चा भयो।

कलाकार दीपकराज गिरीको पनि यो वर्ष निकै चर्चा भयो। फागुन १९ मा रिलिज भएको ‘छक्कापञ्जा ४’ले उनको स्टारडम पुरानै लयमा देखायो। प्राय चर्चामा आइरहने कलाकार गिरीले अभिनयका साथै फिल्म लेखक र निर्माताका रुपमा पनि चर्चा कमाए। उनले बनाएको फिल्म ‘छक्कापञ्जा ४’ वर्षको अन्त्यमा हिट भयो। उनको चरित्रले पनि उद्योगमा चर्चा कमायो। 

यो वर्षको सम्झन योग्य कलाकारको सूचीमा अभिनेता विपीन कार्कीले आफ्नो नाम दर्ज गरे। उनका ‘के घर के डेरा’ र ‘फूलबारी’ यस वर्ष रिलिज भएका फिल्म हुन्। ‘फूलबारी’ले बक्स अफिस कलेक्सन राम्रो गर्दा ‘के घर के डेरा’ले भने दर्शक तान्न सकेन। तर विपीनले निर्वाह गरेको चरित्रलाई समाजसँग जोडेर हेरियो। 

उद्योगकै चर्चित ब्रेकअप
वर्षको अन्त्यमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअपले राम्रै चर्चा पायो। लामो समयदेखिको प्रेम अन्त्य गरेका सौगात–सृष्टिले इन्स्टाग्राम अकाउन्टबाट एक अर्कालाई अनफलो गरे। एक–अर्काका तस्बिर सामाजिक सञ्जालबाट हटाए। ब्रेकअपको विषयमा सृष्टिले केही बोलेकी छैनन्। सौगातले भने सहमतिमै अलग भएको बताए। काममा फोकस हुनका लागि प्रेम जीवनबाट अलग भएको उनको तर्क थियो। सात वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्ने मोडमा रहेका बेला ब्रेकअप हुनुले धेरैलाई आश्चर्य पार्यो। 

यता अभिनेत्री वर्षा शिवाकोटीले पनि यसै वर्ष विवाह र सम्बन्ध विच्छेद गरिन्। गत वर्ष वैशाख ९ गते आशिष गेलालसँग विवाह गरेकी वर्षाले वर्षको अन्त्यतिर डिभोर्स गरिन्। आशिषले वर्षासँगको पारपाचुके गरेसँगै झापाकी अर्की युवतीसँग लगनगाँठो कसे। वर्षाको सम्बन्धविच्छेदको खबर पनि चर्चामा रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .