चर्चित हास्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढा ट्राफिक कारबाहीमा परेका छन्।
बुधबार बिहान ग्वोर्कोमा ट्राफिक कारबाहीमा परेका हुन्। उनले सिट बेल्ट नलगाइ कार चलाएको भन्दै ट्राफिक जवानले कारबाही स्वरुप ५ सयको चिट काटेका थिए।
ट्राफिक कारबाहीमा परेपछि उनी कामका लागि ग्वार्कोस्थित घरबाट निस्केका उनी सिधैँ महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए। उनले त्यहाँ पुगेर ट्राफिक प्रहरीको मीठो बोलीप्रति धन्यावाद दिए।
महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसँग कुरा गर्दै उनले आफूलाई चिट काट्ने प्रहरीको बोली वचन असाध्यै राम्रो रहेको भन्दै धन्यवाद दिएका हुन्। उनले महाशाखाका प्रमुख ढकाललाई समेत धन्यवाद दिएका थिए।
महाशाखामा कुरा गर्दै उनले आफूले सिट बेल्ट लगाउन बिर्सेको भन्दै आफ्नो कमजोरी स्वीकार गरे। उनले ट्राफिक जवानको मीठो बोलीका कारण आफैँले लाइसेन्स झिकेर दिएको बताए।
‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु । ट्राफिक भाइले तपाईंलाई कारबाही गर्छु है भनेर मिठोसँग भन्नुभयो,’ उनले भने। उनले त्यही बोलीका कारण आफैँले लाइसेन्स झिकेर दिएको बताए।
महाशाखा पुगेका घिमिरेले आफूलाई चिट काटने जवानलाई भेटने ईच्छा गरेपछि महाशाखाले ट्राफिक प्रहरी जवान सन्तोष चौधरी कार्यालय झिकाएको थियो। उनले जवान चौधरीलाई भेटेर मीठो बोली वचन र राम्रो व्यवहारका लागि धन्याद समेत दिएका थिए। उनले सबै प्रहरीको बोली वचन चौधरीको जस्तै हुनुपर्ने बताए।
यातायात व्यवस्था ऐनको प्रावधानअनुसार गाडी चलाउँदा सिट बेल्टको प्रयोग नगर्ने चालकलाई ५ सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ। जवान चौधरीले घिमिरेलाई सोही व्यवस्था बमोजिम कारबाही गरेका थिए।
प्रतिक्रिया