ad ad

कला


कृष्ण कँडेलविरुद्ध एक्लै परेकी शर्मिला श्रेष्ठ

कृष्ण कँडेलविरुद्ध एक्लै परेकी शर्मिला श्रेष्ठ

राधिका अधिकारी
फागुन ११, २०८० शुक्रबार १८:२०, काठमाडौँ

गायिका शर्मिला श्रेष्ठ र लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलबीचको लफडा सार्वजनिक भएको केही दिन भयो। सुरुमा शर्मिलाले आफू कँडेलबाट हिंसामा परेको बताइन्। त्यसको खण्डन गर्दै कँडेलले पत्रकार सम्मेलन गरे। 

कँडेलले आफूले कुनै पनि हिंसा नगरेको दाबी पत्रकार सम्मेलनमा गरे। कँडेलले आफूमाथि लगाइएको आरोप झुटा, निराधार र कपोलकल्पित भएको बताएका छन्। एकपक्षीय ढंगले आफूमाथि आरोप लगाइएको भन्दै उनले त्यसमा विश्वास नगर्न र यसबारे समाचार नलेख्न पनि सञ्चारमाध्यमलाई आग्रह गरे। कँडेलले आफूलाई सिध्याउने खेलमा शर्मिला लगायतको टिम लागेको आरोप लगाए। अहिले यो विषय अदालत पुगिसकेको छ। 

मुद्दा दायर गरेपछि कँडेल सामाजिक सञ्जालमा मौन छन्। यता, शर्मिला भने निरन्तर आफ्ना कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकै छिन्। शर्मिलाले वर्षौंदेखि हिंसा सहेर पनि आफूले नबोलेको बताएकी छन्। कँडेलले पठाएका म्यासेजको प्रिन्ट देखाउँदै एउटा भिडिओमा भनेकी छन्, ‘बसेर कुरा गर्नु छ, म कोठा मिलाउँछु भनेको छ। बहिनीसँग कुरा गर्न पनि कोठा मिलाउनुपर्छ? अफिसमा गर्न सकिँदैन?’

आफूमाथि भएको अन्यायका विरुद्धमा बोल्दा धेरैको हप्कीदप्की खानुपरेको शर्मिलाले बताएकी छन्। उनले भनेकी छन्, ‘धेरैले भगवान मानेका मान्छेको पोल खोलिदिएको भन्दै गाली गरेका छन्। कति त रोएका छन्। तर, एउटा चेलीले सधैँ पीडा लुकाएर बाँच्न नसक्ने रहेछ।’

कँडेलले केही गरेको छैन भनेर पत्रकार सम्मेलन गरेको तर आफूसँग भेटेर दोहोरो कुरा गर्न नसकेको शर्मिलाको टिप्पणी छ। उनले कँडेललाई आफूसँग आएर सार्वजनिक रूपमा बहस गर्न चुनौती दिएकी छन्। उनी भन्छिन्, ‘कृष्ण दाइ आउनू, सँगै बसेर यो विषयमा डिबेट गरौँ। तपाईंले मलाई गरेका हर्कतका बारेमा बताउनेछु।’

सेक्सुअल ह्यारेसमेन्ट (यौन दुर्व्यवहार) मा परेको भन्दा बलात्कार भयो भन्ने गलत बुझाइ पनि समाजमा परेको शर्मिलाको गुनासो छ। उनले बलात्कार नभएर सेक्सुअल ह्यारेसमेन्टमा परेको स्पष्टोक्ति दिएकी छिन्। भन्छिन्, ‘एकपटक होइन, पटकपटक सेक्सुअल ह्यारेसमेन्टमा परेको छु।’ 

पहिला नै मुद्दा लिएर अदालत गएको भए आफूलाई बाँच्न नदिने अवस्था देखेर सामाजिक सञ्जालबाट घटना सार्वजनिक गरेको शर्मिला बताउँछिन्। 

कँडेलबाट कलाकारमाथि विगतदेखि नै ज्यादती हुँदै आएको दाबी पनि उनले गरेकी छन्। इन्द्रेणीले कलाकारमाथि ज्यादती गरे पनि अहिलेसम्म कसैले नबोलेको तर आफूले मुख खोलेको बताइरहेका बेला लामो समय इन्द्रेणीमा काम गरेकी बबिता बानियाँ ‘जेरी’ले आफूले कयौँपटक ट्याक्सी भाडासमेत नपाएको बताएकी छन्। उनले कँडेलको चरित्र पनि राम्रो नभएको संकेत गर्दै भनेकी छिन्, ‘हावा नचली पात हल्लिँदैन, यहाँ जरै हल्लिएको छ।’

पारिश्रमिकका लागि संघर्ष गर्नुपरेको सुनाउँदै जेरी भन्छिन्, ‘बिनाप्रमाण कलाकारले यसै बोलेका छैनन्। धेरैले ‘कृष्ण दाइ नक्कले स्वभावको’ भनेर कुरा गर्थे।’ उनले ह्यारेसमेन्टजस्तो गम्भीर विषयका बारेमा थप टिप्पणी नगर्ने बताएकी छिन्। 

अघिल्लो पुस्ताकी लोकगायिका बिमाकुमारी दुराले पनि कँडेलले आफूलाई असहयोग गरेको बताएकी छिन्। सहकारीले ठूलो रकम खाइदिएपछि अमेरिका पलायन भएकी दुराले अमेरिकाबाटै भिडिओमार्फत भनेकी छिन्, ‘कृष्ण कँडेलले सत्य गर्छ भन्ने लागेको थियो। सबैले भगवान मान्नुहुन्छ। मलाई पनि त्यस्तै लाग्थ्यो।’ 

आफूलाई ठग्ने सन्दीपकुमार गुरुङका बारेमा बाहिर ल्याइदिन आग्रह गरेको तर दुःखीको सेवामा लागेको अभिनय गर्ने कँडेलले असहयोग गरेको दुराको आरोप छ। दुराले मनमा अरू पनि थुप्रै कुरा रहेको उल्लेख गर्दै एक दिन सबै कुरा भन्ने बताएकी छन्। 

१३ वर्षअघि सुरु भएको इन्द्रेणी कार्यक्रमका प्रस्तुति र उनको ‘समाज सेवा’लाई लिएर बेलाबेला प्रश्न उठ्ने गरेका थिए। यसपटक पनि कँडेलले संस्कृतिको जगेर्ना गरेको ठोकुवा गरेपछि संगीतकर्मीहरूले नै प्रश्न उठाइरहेका छन्। विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी भन्छन्, ‘संस्कृतिको जगेर्ना र सभ्यताको संरक्षण हैन, विशुद्ध लाइभ दोहोरीका नाममा स्रष्टाको प्रतिलिपि अधिकारको दोहन गरेर गरिएको व्यापार मात्र हो कँडेलको इन्द्रेणी। प्रतिभालाई प्रोत्साहन होइन, भाइरल बालबालिका खोजेर कन्टेन्टको खेलोभन्दा उपल्लो लगानी नेपाली गीत–संगीतका लागि केही गरेका छैनन्।’

समृद्धिसँग संस्कृतिलाई जोड्ने अभियानको संज्ञा दिएर १३ वर्षअघि कार्यक्रम इन्द्रेणी सुरु भएको थियो। दुःखीको कथा, व्यथा र हुँदाखानेहरूका पीडालाई मलमपट्टी गर्न भन्दै देश दौडाहा गरेको इन्द्रेणीमा काम गरेका कलाकारको तिक्त बहिर्गमन यसअघि पनि भएको थियो।  

शर्मिला श्रेष्ठसँगै आफूमाथि मानसिक हिंसा भएको भन्दै मिडियामा आएका वाद्यवादक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनलाई भने कँडेलले आफ्नो हातमा लिइसकेका छन्। शर्मिलासँग बाहेक अन्यसँगको विवाद टुंगिएको कँडेलका सहयोगी बनेका कमल सरगमले बताएका छन्। 

कँडेललाई आरोप लगाउनेहरू धेरै कलाकारले उनीसँग सम्झौता गर्दा शर्मिला भने एक्लै परेकी छन्। र, हालसम्म उनी कानुनी लडाइँमा पनि गएकी छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .