छोरीको संघर्ष र महत्त्वलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताएकी छिन्।
अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए पनि यो पूर्ण मनोरञ्जक रहेको बताइन्।
पत्रकार हुँदै चलचित्र निर्देशक बनेका लक्ष्मण सुवेदीले अभिनेत्री महतलाई मोबाइलमार्फत सन्देश (म्यासेज) पठाउँदै काम गर्न प्रस्ताव गरेका थिए। नयाँ नम्बरबाट आएको प्रस्तावमा अभिनेत्री महतले चलचित्रको कथा पढेर मात्र निर्णय दिने भनेको स्मरण गरिन्।
‘मैले उहाँ (निर्देशक सुवेदी)लाई नजिकबाट चिनेकी थिइन्, त्यसैले पहिला कथा पढेपछि भेटौँ भने। मेरो शैली नै यस्तै छ, कथा पढेपछि म अभिनय गर्न तयार भएकी हुँ। म काठमाडौँमै हुर्किए पनि यो कथा छोरी र बुबालाई सजिलै जोड्ने किसिमको छ। यो हरेक ठाउँको कथा हो’, अभिनेत्री महतले भनिन्।
‘मैले अभिनेत्री महतलाई विभिन्न भिडिओमा देखेँ, आफूले खोजिरहेको उमेर समूहसँगै पात्रलाई न्याय गर्न सक्ने ठम्याएँ। त्यसपछि मैले गरेको प्रस्तावमा उहाँ सकारात्मक भएपछि सहकार्य भयो,’ उनले भने।
उनले केही वर्ष अगाडि सन्तानको रूपमा छोरी हुँदा एउटा परिवारले समाजमार्फत प्राप्त गर्ने प्रतिक्रिया र त्यसपछि परिवारमा आएको उतारचढावलाई देखेको रहेछ। त्यहीँ देखाइलाई उनले चलचित्रको कथामा रुपान्तरण गरे।
‘मेरो पनि छोरीमात्र छन्। तर समाजमा अझै पनि केहीको धारणा छोरा हुनुपर्छ भन्ने छ। यो चलचित्रले छोरीको सक्षमतासँगै समानताको विषयलाई उठाएको छ। सतीदेवी नामक पात्रमार्फत ती छोरीले गरेको सङ्घर्षले अन्यलाई प्रेरणा दिन्छ भन्नेमा विश्वस्त छु, यो छोरीहरूको कथा हो’, निर्देशक सुवेदीले भने।
चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटालगायतले अभिनय गरेका छन्।
चलचित्र भदौ ७ गतेदेखि प्रदर्शन हुँदैछ। रासस
Shares

प्रतिक्रिया