कला


जितुको ठहर : अब हिरोको पुरानो मापदण्ड भत्कियो

आफैँ फिल्म बनाएर भए नि हिरो भइछाड्ने रहर यसरी भयो पूरा
जितुको ठहर : अब हिरोको पुरानो मापदण्ड भत्कियो

फोटो/भिडिओ : सरोज नेपाल


लक्ष्मी बलायर
पुस २०, २०८१ शनिबार ९:७, काठमाडौँ

‘हिरो’ भन्नेबित्तिकै तपाईंको दिमागमा झट्ट के आउँछ?  पक्कै पनि सुन्दर अनुहार, अग्लो कद र हट्टाकट्टा ज्यान। जसले एक मुक्कामै गुण्डालाई ढालोस्। र, हिरोइनलाई बचाओस्।

पहिले जितु नेपाल पनि यस्तै सोच्थे। राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठको फिल्म मक्ख पर्दै हेर्थे, तिनै मनपर्ने हिरोको पोस्टकार्डमा शुभकामना लेखेर साथीलाई पठाउँथे।

तिनै जितुले तीन दशकअघि ‘हिजो आजका कुरा’ बाट अभिनय करिअर सुरु गरे। टेलिसिरियल ‘जिरे खुर्सानी’ मा ‘मुन्द्रे’ उपनामबाट चर्चा पाएका उनले लामो समय दर्शक हसाइरहे।

दर्जन बढी फिल्म खेलेका जितु ११ वर्षअघि ‘छ एकान छ’मा देखिए। जितुसहितका हास्यकलाकारका रूपमा चिनिएका दीपकराज गिरी, सीताराम कट्टेल र केदार घिमिरेले ‘हिरो’ बन्ने जमर्को गरे। अभिनेत्री थिइन् नीता ढुंगाना। जुन फिल्म बक्सअफिसमा निकै पनि सफल भयो।

त्यसपछि, जितु ‘वडा नम्बर ६’, ‘रामकहानी’, ‘छक्का पञ्जा’ सिरिजहरूमा देखिए। तर, यी सबैमा जितु सहायक भूमिकामा थिए। दीपकलाई मुख्य भूमिकामा देख्दा जितुमा पनि ‘हिरो’ बन्ने चाह हुन्थ्यो।

‘छक्का पञ्जामा हामी धेरै जना कलाकार थियौँ। मुख्य भूमिकामा दीपकजी हुनुहुन्थ्यो। गीतमा पनि थोरै नाच्न पाइन्थ्यो। मलाई पूरै सोलो नाच्न पाए हुन्थ्यो भन्ने चाह हुन्थ्यो। एउटा रिपोर्टरलाई सम्पादक बन्न रहर हुन्छ। त्यस्तै मलाई पनि हिरो बन्ने चाहना थियो,’ उनले भने।

तर, हिरो बनाउने मापदण्डले उनलाई रोक्थ्यो। हिरोइनसँग पनि ‘हाइट’ नमिल्ने कुराले उनी झस्किन्थे। फेरि सोच्थे,  ‘एकदिन त कसो दिन नआउला र? अहिले नभए पनि पछि आफैँ एउटा फिल्म बनाएर भए पनि हिरो बन्छु।’

‘छक्का पञ्जा’ का सबै सिरिजमा देखिँदै आएका जितु चौथोमा अटाउन सकेनन्। ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्री निरौलालाई हटाएपछि जितु सो टिमबाट आउट भए। त्यसपछि सुरु भयो जितुको स्वतन्त्र यात्रा।

त्यहीबेला एकदिन कपिल रिजालले फिल्म ‘ह्यारीकी प्यारी’का लागि अफर गरे। जुन फिल्मबाट जितुको वर्षौंदेखिको सपना पूरा भयो।

‘सुरुमा यो फिल्मको अफर आउँदा दुई मुख्य पात्र हुनुहुन्छ भन्ने कुरा थियो। त्यसमध्ये टाइटल रोल थियो ह्यारीको। कथा सुनिञ्जेल म मुख्य भूमिकामा विजय बराल हुनुहुन्छ सोचिरहेको थिएँ। मेरो कुनै हँसाउने पात्र होला सोचिरहेको थिए। तर, पछि कपिलजीले त्यो सिरियस पात्र ह्यारी तपाईं हो भन्नुभयो। म त झसङ्गै भएँ,’ जितुले भने।

त्यसपछि जितुले निर्देशकलाई ‘हिरोइन’ बारे प्रश्न तेर्स्याए। मुख्य पात्रको अफर सुन्दा आत्तिएका जितु हिरोइनको नाम सुन्दा त झन आश्चर्यमा परे। हिरो बनेर खेल्ने पहिलो फिल्ममै साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन सेयर गर्दै थिए उनी।

निर्देशक रिजालकै कारण हिरो बन्ने सपना पूरा भएको जितुको भनाइ छ।

‘त्यो दिन आयो। ह्यारीकी प्यारी मलाई हिरो बनाउने फिल्म बन्यो। कपिल रिजाललाई म मान्छु। त्यतिखेर व्यावसायिक फिल्महरू चलिरहेको बेला उहाँले मलाई हिरो लिएर रिस्क लिनुभयो। कतिपयले जितुको सट्टा अरुलाई लिएको भएपनि हुन्थ्यो भन्नुभयो। तर, उहाँले यो फिल्मको लागि मबाहेक विकल्प नभएको बताउनुभयो,’ उनले भने।

व्यावसायिक रूपले सफल हुन नसके पनि निर्देशक आफ्नो अभिनयबाट खुसी भएको जितुको दाबी छ।

पछिल्लो समय जितुसहित सहायक पात्रहरू मुख्य भूमिकामा देखिन थालेका छन्। गत दसैँमा जितुकै मुख्य भूमिका रहेको ‘ज्वाइँसाब’ रिलिज भयो। जुन फिल्मबाट जितुले दामसँगै नाम पनि कमाए।

लगत्तै तिहारमा विजय बराल पनि फिल्म ‘पूर्णबहादुरको सारंगी’ मार्फत पहिलोपटक मुख्य भूमिकामा देखिए। जसले बक्सअफिसमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखिसकेको छ। अब हिरोको पुरानो मापदण्ड भत्किसकेको सुनाउँछन् जितु।

‘अब पुरानो हिरोको मापदण्ड सकियो। अहिले सीमित कलाकार मात्रै हुनुहुन्छ, जो हिरोजस्तो देखिनुहुन्छ। लभस्टोरी र एक्सन फिल्ममा उहाँहरू सुहाउनुहुन्छ। तर, त्यो प्रकारको कथा सिद्धिन लागिसक्यो,’ उनले भने, ‘अब मजस्तो होचो कद भएका मान्छेलाई पनि केन्द्रमा राखेर चलचित्रका कथाहरू आउन थाले। जसकारण अब जो पनि हिरो हुनसक्छ।’

विजयको फिल्मले कीर्तिमान रच्दा निकै खुसी छन् जितु। ‘ह्यारीकी प्यारी’मा सहकार्य गरेको बताउँदै विजयको अभिनयको उनले खुलेरै तारिफ गरे।

उनले भने, ‘थिएटर पढेर आएको विजय भाइ एकदमै सरल हुनुहुन्छ। सहायक रोल गरिरहेकै मान्छे सारंगीमा ड्याङ्गै आउनुभयो। व्यापारमा उधुम गर्छ भन्दा पनि जतिले हेर्छन्, सबैले मन पराउँछन् भन्ने थियो। किनकि उसको क्वालिटी थाहा थियो। नभन्दै विजय मुख्य भूमिकामा कीर्तिमानी कलाकार बनेर खडा भए।’

खानेकुरा जसरी फिल्ममा पनि दर्शकहरूले अर्ग्यानिक कथाहरू रुचाउन थालेको उनको बुझाइ छ।

भन्छन्, ‘अब चिजहरू सबै अर्ग्यानिकमा गए। सिनेमा हेर्ने दर्शकले पनि आफ्नो परिवेशको कथा र गाउँठाउँको कथा मन पराउन थालेका छन्। त्यो भएकाले हामीजस्तो पात्रहरू केन्द्रीय भूमिकामा आउन थालेका हौँ।’

सहायक कलाकारहरूको लागि स्वर्णिम समय भए पनि चुनौती पनि त्यत्तिकै भएको ठान्छन् जितु। लिड रोलमा खेल्दा फिल्म चल्छ/चल्दैन भन्ने चुनौती हुने सुनाउँछन् उनी।

केही समयदेखि कलाकार केदार घिमिरेको पारिश्रमिकको विषय चर्चामा छ। फिल्ममा उच्च माग भएका केदारले ५०/६० लाख पारिश्रमिक लिएको खबर छ। जुन सबैभन्दा बढी पारिश्रमिक लिने अनमोल केसीको भन्दा पनि बढी हो।

लामो समय घिमिरेसँग सहकार्य गरेका जितुले घिमिरे महँगा कलाकार बनेकोमा खुसी व्यक्त गरे। 

‘उहाँ र मैले सँगसँगै दु:ख गरेका हौँ। कुनैबेला थोरै पारिश्रमिक लिएर काम गर्ने मान्छे अहिले महँगो कलाकार बन्दा निकै खुसी लागेको छ। जुन हामीजस्तो कलाकारको लागि पनि गर्वको कुरा हो,’ उनले भने।

यद्धपि, आफूलाई भने पारिश्रमिकभन्दा पनि पात्र हेरेर फिल्म खेल्ने दाबी गरे। जितु दयाहाङ राईसँग पुस २६ गतेबाट प्रदर्शन हुने फिल्म ‘कार्साङ’ मा देखिँदैछन्।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad