आगामी वैशाख २६ गतेबाट रिलिज हुने फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण कम्पनि फेरी टेल पिक्चर्सले ट्रेलर रिलिज गर्दै फिल्मको प्रचार सुरु गरेको हो।
सार्वजनिक ट्रेलरमा अभिनेताद्वय सौगात मल्ल र अनुपबिक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन्।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित फिल्मको ट्रेलरले तत्कालिन समाजको परिवेश सुहाउँदो चित्रण गर्छ।
निर्देशक फुर्वा छिरिङ लामाले एक ऐतिहासिक कृतिलाई पर्दामा उतार्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए।
उनले भने, ‘जारको कथालाई अन्याय हुन दिएका छैनौं। किताबमा पढ्नु भएको कथा पर्दामा उतार्नु आफैमा चुनौती हो, इन्द्रबहादुर राई ज्यूको भावना र मर्मलाई उच्च सम्मानसहित हामीले जार बनाएका हौं।’
अभिनेत्री गीताञ्जली भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता हुन्। ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी उनी अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन्। नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।
यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ। होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ।
यस फिल्मलाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ।
Shares

प्रतिक्रिया