फिल्म ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ वर्षका दिन नयाँ फिल्म बनाउने घोषणा गरेका छन्।
उनले २०८२ साल सुरु भएको दिन थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘मिरमिरे’ बनाउने बताएका हुन्।
उनका अनुसार यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रमा ग्रामीण परिवेशको कथा हुनेछ।
थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन्। उनीहरू मिर्मिरे बिहानीमा कलिलो किरणको स्पर्श लिँदै सूर्यतर्फ फर्किएका छन्।
सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ काम सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ।
पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रस्ट पारिएको छैन।
चलचित्रको निर्देशन याम शेर्पाले गर्नेछन्। चलचित्रको कथा पनि निर्देशक स्वयंले लेख्नेछन्।
निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
२०८२ सालभित्रै रिलिज हुने भनिए पनि प्रदर्शन मिति तोकिएको भने छैन।
कलाकारबारे पनि निर्माण पक्षले जानकारी दिइसकेको छैन।
केही समयपछि जानकारी दिँदै जाने निर्देशक शेर्पाको भनाइ छ।
Shares

प्रतिक्रिया