कला


कान्स मार्केटमा नेपालबाट सहभागी हुँदै ‘एक्लो’

कान्स मार्केटमा नेपालबाट सहभागी हुँदै ‘एक्लो’

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १५:१२, काठमाडौँ

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण मंगलबारदेखि सुरु हुँदैछ। फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म आयोजना हुनेछ।

यसवर्षको कान्स थप विशेष हुँदैछ। विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रोकोनिङ’को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन्।

महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुनेछ। प्रतिस्पर्धामा छनोट नभएपनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ। ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो।

मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन्। फिल्मकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी हुनेछिन् । निर्माताले महंगो पैसा तिरेरै कान्स मार्केटमा स्टल राख्दैछन् ।

स्टलमा नेपालको झण्डा राख्ने तयारी छ। निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदैछन्। उनी तयारीको लागि आइतबार पेरिस पुगेका छन्।
‘हामीले यसवर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौं’ उनले बताए।

कान्स सुरु हुनुअघि नै फिल्मबारे ७ अन्तर्राष्ट्रिय वितरकले फिल्मबारे रुचि राखेको शाहीले बताए। उनका अनुसार, वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेका छन्।

कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गर्नेछ। नेपालको छायांकन गन्तव्यबारे प्रचारप्रसार गर्ने, सम्भावित को–प्रोडक्सनबारे मार्केटमा ‘एक्लो’का निर्माताले पहल गर्नेछन्।

निर्देशक शाही कान्स प्रोड्युसर्स नेटवर्कमा छनोट भएको खबर यसअघि आइसकेको छ। प्रड्युसर्स नेटवर्कमा आफूले विश्व फिल्म निकायका प्रतिनिधि, निर्मातासँग भेट्नेदेखि लिएर ‘एक्लो’लाई पिच गर्ने आफ्नो तयारी रहेको उनले बताए।

शाही र ‘एक्लो’का केही कलाकार रेडकार्पेट र कुनै एक फिल्मको प्रिमियरमा पनि सहभागी हुने तयारीमा छन्। यद्यपि, यसबारे निधो हुन बाँकी छ।

कान्स मार्केटमा १४० देशका १४,००० भन्दा बढी सहभागी हुनेछन्। जहाँ, १,५०० फिल्मको प्रदर्शन र ४,००० प्रोजेक्ट पिच हुनेछन्।

‘साइन्स फिक्सन’ फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायतको अभिनय छ। बेलायती कलाकार जेमी बेकन पनि महत्वपूर्ण भूमिकामा छन्। विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’लाई आउँदो तिहारमा नेपालका हलमा प्रदर्शन लक्ष्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad