राम्रो व्यापार गरिरहेको फिल्म ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ले दर्शकको मन जितिरहेको छ। चलचित्रमा समावेश गीतको भिडिओमा कलाकार परीक्षा लिम्बू र एलेक्स पारसले नृत्य गरेका छन्।
अभिनेत्री निरुता सिंहले पनि उक्त गीतमा देखिएको कलाकार द्वयको प्रस्तुतिको खुलेर प्रशंसा गरेकी छन्।
भारतको मुम्बईमा रहेकी सिंहले कलाकार परीक्षा लिम्बू र एलेक्स पारससँग टेलिफोन संवादमा सिंहले भिडियो आफूलाई अत्यन्त मन परेको बताइन्।
उनले परीक्षाको नृत्य देख्दा आफूलाई त्यही क्षणमा फर्किएको महसुस भएको बताउँदै युवा कलाकारहरूले आफूलाई गीत समर्पण गरेकोमा आभार प्रकट गरिन्। एलेक्स पारसको नृत्यले दिलीप रायमाझीको झल्को दिएको उनले उल्लेख गरेकी छिन्।
गीतको भिडियोमा परीक्षा र एलेक्सलाई सन् २००१ मा सार्वजनिक भएको सुपरहिट फिल्म ‘दर्पण छाया’ को झल्को दिने शैलीमा प्रस्तुत गरिएको छ। विशेषतः नृत्यको हुकस्टेप पनि त्यही फिल्मको चर्चित गीत ‘त्यो डाँडा पारी’ सँग मेल खाने खालको राखिएको छ। चलचित्रमा एलेक्स पारसले दिलीप रायमाझीको प्रशंसकको भूमिका निर्वाह गरेका छन्।
बुद्ध जयन्तीको अवसरमा परेको सोमबारको सार्वजनिक बिदाको दिन ‘ऊनको स्वीटर’ ले देशभर व्यापक व्यापार गरेको छ। नवीन चौहानको लेखन तथा निर्देशन रहेको यस फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ।
Shares

प्रतिक्रिया