कला


नेपथ्यले यसरी नचायो सियाटललाई

नेपथ्यले यसरी नचायो सियाटललाई

नेपालखबर
जेठ ११, २०८२ आइतबार १३:२१, सियाटल (अमेरिका)

विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटलमा नेपथ्यले शुक्रबार सानदार उपस्थिति जनायो। ब्यान्डले नयाँ-पुराना लोकरक गीत प्रस्तुत गरेर उपस्थित दर्शक-श्रोतालाई भरपूर मनोरञ्जन दियो।

सातौँ अमेरिका यात्रामा रहेको नेपथ्य सियाटलमा पहिलोपटक प्रस्तुत भएको हो। यस वर्षको अमेरिका यात्रामा भने ब्यान्डको यो दोस्रो सो हो। नेपथ्यले एक साताअघि टेक्सास राज्यको राजधानी अस्टिनमा पहिलो कन्सर्ट गरेको थियो।

सियाटलको ‘मुर थिएटर’ का ढोकाहरू निर्धारित समय अनुसार नै शुक्रबार बेलुकी ठीक ७ बजे खुला गरिएका थिए भने त्यसको एक घण्टापछि शो सुरु भयो। नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीत गाउँदा दर्शकले पनि सँगसँगै गाए, नाचे, रमाइलो गरे।

संगीतमा रमाउने संसारभरिका श्रोता-दर्शकलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्डलाई हेर्न यहाँ विभिन्न ठाउँबाट नेपाली ‍ओइरिएका थिए। अमेरिकी सहरको कन्सर्टमा झुम्न क्यानाडाबाट समेत नेपाली दर्शक आइपुगेका थिए।

दर्शकमा नेपाली मात्रै थिएनन्। विदेशी अनुहारहरु पनि देखिन्थे। तिनैमध्येका थिए जोन सिमिङटन र कोल फोरम्यानको जोडी। भूकम्प गएका बेला एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रतिनिधि भई नेपालको सेवामा लामो समय खटिएका जोनले नेपाली भाषा र संस्कृतिको पनि थोरै ज्ञान लिएका रहेछन्।

‘मैले नेपथ्यबारे उतै थाहा पाएको थिएँ। त्यसपछि युट्युब र स्पोटिफाईमार्फत पछ्याउँदै आएको छु,’ जोनले सुनाए, ‘यो ब्यान्ड सियाटलमै आउँदै छ भन्ने थाहा पाएपछि पार्टनरसमेत लिएर आएको हुँ।’

कन्सर्टमा प्रस्तुत अधिकांश गीतमा सबैजसो श्रोताले साथसाथै गाइरहेको देख्दा असाध्यै रमाइलो लागेको उनले बताए।

सुरुदेखि अन्तिमसम्मै रमाउने दर्शकको भीँडमा मनिमा गुरुङ पनि थिइन्। कास्कीको लामाचौरबाट आएकी उनको बसोबास १० वर्षभन्दा बढी समयदेखि सियाटलनजिकै केन्टमा छ।

‘नेपथ्यको कन्सर्ट हेर्ने सपना धेरै पहिलेदेखि थियो। अमेरिकामा आएर बल्ल पूरा भएकामा असाध्यै खुसी छु,’ उनले भनिन्, ‘पहिलोपटक भएर पनि होला, स्टेजमा कलाकारहरू आएको देख्नेबित्तिकै शरीरभरि काँडा उम्रिएजस्तै भएको थियो।’

कन्सर्टमै भेटिएका सुशील बोगटीले टाढाटाढाबाट दर्शक आएको देखेर अचम्म लागेको बताए। ‘ओरेगनदेखि आएको एक साथीलाई देखेर अचम्म मान्दै थप जिज्ञासा राखेको थिएँ,’ उनी भनिरहेका थिए, ‘तर पछि यही शो हेर्नका निम्ति अझ क्यानाडाका भ्यानकुभर, फिनिक्स, इदाहो र सेक्रिमेन्टो लगायत ठाउँदेखि आएका नेपाली भेटेपछि त झनै आश्चर्य लाग्यो।’

अर्का दर्शक शौरभ खनाल श्रीमती र बहिनीहरू समेत लिएर एक घण्टा परदेखि गाडी हाँक्दै कन्सर्टमा आइपुगेका थिए। उनले यति ठूलो संख्यामा नेपाली एकै ठाउँ भेट्दा रमाइलो लागेको सुनाए।

कन्सर्ट अवधिभर मुख्य गायक अमृतले गाउँदै गरेका गीतहरू खोजी गर्दाको अनुभव पनि सुनाएका थिए। मुलुकको परिस्थिति र बिदेसिएका नेपालीसँग स्वदेशको अपेक्षाका विषयमा उनले प्रकट गरेका मन्तव्यलाई अन्यत्र जस्तै यहाँका दर्शकले पनि उत्तिकै मन पराए।

‘नेपथ्य हेर्न आउँदा गीत मात्र होइन, उसको सिंगो कन्सर्ट कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले अझ बढी महत्त्व राखेको पाएँ,’ काठमाडौँबाट आएर नर्सिङ व्यवसायमा आबद्ध सुशीला श्रेष्ठ भनिरहेकी थिइन्, ‘साथीहरूको समूह बाँधेर आज बेलुकी यहाँ आउँदा हाम्रो एउटै उद्देश्य रमाइलो गर्ने थियो र त्यो मजाले पूरा भएको छ।’  

मञ्चमा मुख्य गायक तथा अगुवा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

‘हामीले लामो समयदेखि यहाँ कन्सर्ट आयोजना गर्दै आएका छौं,’ स्थानीय आयोजक किंग्स इन्टरटेनमेन्टका देव रानाले प्रतिक्रिया दिए, ‘नेपथ्यको आजको प्रस्तुति भने सबै हिसाबले विशेष बन्न पुग्यो र सियाटलले असाध्यै मन परायो।’ कन्सर्ट हेरिसकेपछि दर्शकले गरेको प्रशंसाबाट पनि नेपथ्यको प्रभाव आकलन गर्न सकिने उनको भनाइ थियो।

टेक्सासको अस्टिन र वासिङ्टन राज्यको सियाटलपछि तेस्रो प्रस्तुतिका निम्ति ब्यान्ड थोरै तल ओर्लिएर क्यालिफोर्नियाको लस एन्जलस सहर पुगेको छ। सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यस सहरको ‘हाउस अफ ब्लुज’ मा मे २६ मा ब्यान्डले लोकरक गीत सुनाउनेछ।

ब्यान्ड मे ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, जुन ११ मा म्यासाचुसेट्सको बोस्टन र अन्त्यमा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad