कला


तनहुँमा संस्कृति संरक्षण गर्न पन्चेबाजा तालिम

तनहुँमा संस्कृति संरक्षण गर्न पन्चेबाजा तालिम

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १२:२१, काठमाडौँ

सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवर्द्धनसहित स्वरोजगार बनाउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ।

कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त बनाउन पञ्चेबाजा तालिम दिइएको हो। 

सीपको अभावमा बेरोजगार रहेका महिला, पुरूषलाई सीपको विकास गरी आत्मनिर्भर बनाउन, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सीपमूलक पञ्चेबाजा तालिम दिइएको पालिकाले जनाएको छ।

सीपमार्फत पालिकावासीलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने लक्ष्यसहित म्याग्दे ६ का १९ महिला तथा पुरूषलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको पालिकाको आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए।

उनले यहाँका युवायुवतीलाई सीप सिकेर आत्मनिर्भर र स्वावलम्बी बनाउने प्रयास थालिएको भन्दै यसले संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण हुने विश्वास व्यक्त गरे।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पामार्फत सीप सिकाएपश्चात् उद्यमी बन्नेक्रम बढेको गाउँपालिकाले जनाएको छ। 

सीप नभएका व्यक्तिलाई सहभागी गराएर सीप सिकाउन पालिका लागिरहेको न्यौपानेले बताए। सीप सिक्न र उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखीकरण र उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको बताउँदै उनले आर्थिक वर्ष २०८१/८२ मा ६८ जनालाई तालिम प्रदान गरिएको जनाए।

उनका अनुसार गरिबी निवारणका लागि तालिम सञ्चालनमा ल्याइएको हो।  गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला, संस्कृतिको संरक्षण, व्रवर्द्धन र पुस्तान्तरणका लागि पञ्चेबाजा तालिम प्रभावकारी हुने विश्वास लिए। तालिमपश्चात् स्थायीय स्वारोजगार बन्नुका साथै आयआर्जनका स्रोत विस्तार हुँदै जाने उनले बताए।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सिकेको सीपलाई प्रयोगमा ल्याएर कला, संस्कृतिको जगेर्ना गर्दै आयसँग जोडेर आत्मनिर्भर र स्वावलम्बी बन्नेतर्फ योजना बनाउन तालिममा सहभागीलाई आग्रह गरे।

सिकेको सीपलाई व्यवसायमा परिणत गरी आत्मनिर्भरताका साथ अगाडि बढ्नसके आम्दानीको स्रोत बनाउन सकिने म्याग्दे ६ का वडाध्यक्ष हिरालाल गुरुङले बताए। उनले वडाले कला, संस्कृतिको संरक्षण र संवर्द्धनका लागि लक्षित समुदायलाई आवश्यक सीप सिकाउने कार्य गरिरहेको दाबी गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रदान गरिएको बताए। रोजगारी नपाई बसेका स्थानीय युवाबाट माग भएबमोजिमका तालिम सञ्चालन गरिएको भन्दै सीप सिकेपछि स्वरोजगारका अवसर वृद्धि हुने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष डिपी अधिकारीले लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न सञ्चालन गरिएको तालिमले सीपयुक्त भएर आत्मनिर्भरतातर्फ अगाडि बढ्न पैरित गर्ने बताए।

उनले तालिममा सिकेका सीपको उपयोग गरी स्वरोजगार बन्न सुझाव दिए। 

उद्यमशीलता र सीपमूलक तालिमबाट स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, स्थानीय तहमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीयस्तरमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, स्थानीय क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्नु, नवप्रवर्द्धनलाई अवलम्बन गरी समावेशी र दिगो आर्थिक विकास हासिल गर्नुलगायत लक्ष्य गाउँपालिकाको रहेको छ।

पञ्चेबाजा तालिम म्याग्दे ६ मनपाङ र अकलामा सञ्चालन भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad