निर्देशक कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको फिल्मको नाम सार्वजनिक गरिएको छ। केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन्।
यस फिल्मको नाम ‘जहाजैमा’ राखिएको छ। फिल्मको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ। फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्छ।
उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो फिल्मका कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छैन। फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ।
सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो फिल्मलाई भदौबाट छायांकन गरिनेछ। फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ।
फिल्म ‘पिताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छिन्। उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन्।
जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो फिल्म निर्माण गर्न लागेको हो। फिल्ममा नेपाल र जापानका कलाकारहरुको अभिनय रहनेछ।
एक महिनासम्म फिल्मको छायांकन जापानमा नै हुने बताइएको छ। कृषा हाल यो फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छिन्।
Shares

प्रतिक्रिया