गायक रामकृष्ण ढकालको लगानीमा बन्ने फिल्म ‘मालती मंगले’ विजय बराल र वर्षा राउतको जोडी बाँधिने पक्का भएको छ।
शुक्रबार बराल र राउत फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएका हुन्।
कलाकार र निर्माण टिमबीच लिखित सम्झौता भइसकेको छ।
रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन्।
चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयले रचेका हुन्।
यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायांकन निर्देशक महेश पौडेल हुन्।
निर्देशक पाण्डेयका अनुसार मालती मंगलेमा पारिवारिक प्रेमकथा छ।
यस चलचित्रका लागि विजय बराल र वर्षा राउतले करिब ३ महिना अन्य चलचित्रमा काम नगर्ने भएका छन्।
उनीहरूले आफ्नो चरित्र निर्माणका लागि यो समय खर्चिनेछन्।
चलचित्रको छायांकन भदौको पहिलो हप्ता करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले जानकारी दिए।
साथै यो वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी छ।
चलचित्रका निर्माता करिब ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका सुप्रसिद्ध गायक रामकृष्ण ढकाल हुन्।
उनको नेपाली चलचित्रसँगको सम्बन्ध पुरानो छ।
सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’ मा उनले अभिनय गरेका थिए।
उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए।
‘मालती मंगले’मार्फत उनी यस पटक निर्माताको भूमिकामा आएका हुन्।
Shares

प्रतिक्रिया