सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते काठमाडौंको बुद्धनगरस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रमा आयोजना गरिएको 'ईन्द्रेणी दोहोरी तारा २०८२' प्रतियोगितामा सपना रोका प्रथम बनेकी छन्।
४२ टिमको सहभागिता रहेको प्रतियोगितामा सपनाले उत्कृष्ट प्रस्तुति दिँदै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन्।
दोस्रो भएका टेकराज भण्डारीदै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। अन्य विधामा विभिन्न कलाकारहरूले अवार्ड जिते, जसअनुसार उत्कृष्ट गायक सरोज सिम्खडा, नव गायक सुवास रेग्मी, अनुशासित गायिका: लुमा केसी, उत्कृष्ट भेषभूषा शंकर क्षेत्रीले हात पारे।
कार्यक्रममा लोकसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, वरिष्ठ लोकगायक प्रेम राजा महत, चलचित्र निर्देशक तथा संगीतकार नारायण रायमाझी, प्रतिष्ठानका पूर्वअध्यक्ष प्राज्ञ दुर्गा रायमाझीलाई विशेष सम्मान गरिएको थियो।
प्रतियोगिताको निर्णायकमा इन्द्र जिसी, सीता थापा, राजु ढकाल (निर्णायक संयोजक), श्याम राना, बबिता बानियाँ 'जेरी', मीना बुढाथोकी, प्रकाश पराजुली, जालु माया गुरुङ, बीमा अनुरागीलगायत थिए।
कार्यक्रमकी प्रमख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले पुरस्कार प्रदान गरिन्। कार्यक्रमको सभापति तथा सुष्मा ठकुरी फाउन्डेशनकी अध्यक्ष सुष्मा शाही ठकुरीले फाउन्डेशनले सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित पहिलोपटक आयोजना गरेको यस कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।
कार्यक्रमको मुख्य प्रायोजक इन्द्रेणी रहेको थियो। कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, प्राज्ञ टिका पुन, ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रका संचालक कृष्ण कँडेल, प्रतिका कंडेल लगायत उपस्थित थिए।
Shares

प्रतिक्रिया