उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २’ प्रदर्शन मिति तय भएको छ। तीनवटा पोस्टर सार्वजनिक गरेसँगै असोज ३ गतेलाई रिलिज मिति तोकिएको हो।
सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ। यी दुवै पोस्टरमा उनीहरूलाई खुसी मुद्रामा देख्न सकिन्छ।
एक पोस्टरमा दयाले मस्तीपूर्वक च्याब्रुङ बजाइरहेको देख्न सकिन्छ भने मिरुनालाई परम्परागत लिम्बू पहिरनमा खुलेर मुस्कुराइरहेको देख्न सकिन्छ। दया र मिरुनासहित पोस्टरमा बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ।
सार्वजनिक भएका ती तीनै पोस्टरले लिम्बू समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटो ‘च्याब्रुङ’ बाजाको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्। सिनेमामा दया, मिरुना, विजय तथा बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ।
यो ब्ल्कबस्टर फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो।
Shares

प्रतिक्रिया