अमेरिकाको मेरील्याण्डस्थित ग्रीनबेल्ट सिनेमा र नेपाल-अमेरिका फिल्म सोसाइटीको संयुक्त आयोजनामा यहि सेप्टेम्बर महिनामा ‘नेपाली चलचित्र शृंखला’ हुने भएको छ। जुन शृंखलामा चारवटा नेपाली चलचित्रहरू प्रदर्शन हुनेछन्।
शृंखलाको पहिलो प्रदर्शनी अन्तर्गत शंकर घिमिरे निर्देशित चलचित्र ‘तेलभिषा’ स्क्रिनिङ हुनेछ। ७ सेप्टेम्बर आइतबार दिउँसो १ बजे प्रदर्शन हुने बताइएको छ। त्यसपछि, सेप्टेम्बर १४ आइतबार साँझ ७ बजे नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’, सेप्टेम्बर १७ बुधबार साँझ ७ बजे जेरेमी पावर रेगिम्बल निर्देशित डकुमेन्ट्री ‘बिट्विन द माउन्टेन एन्ड द स्काई’, र सेप्टेम्बर २० शनिबार दिउँसो १ बजे दीपक रौनियार निर्देशित चलचित्र ‘पूजा सर’ प्रदर्शन हुने सेड्युल छ।
नेपाल-अमेरिका फिल्म सोसाइटीले अमेरिकाका अन्य फिल्म थिएटरहरूसँग सहकार्य गर्दै यस्ता मासिक चलचित्र शृंखलाहरू आयोजना गर्ने तयारी गरिरहेको छ।
‘अमेरिकाको स्थानीय फिल्म थिएटरकै सक्रियतामा नेपाली फिल्महरूको फिल्म सेरिज आयोजना हुनु सम्भवत पहिलो हो। यसखालको प्रदर्शनीले नेपाली फिल्मको अन्तर्राष्ट्रिय दर्शक बढ्ने र नेपाली फिल्मको पहिचानमा पनि भूमिका खेल्छ’, फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले भने।
‘फिल्म फेस्टिवलका लागि त नेपाल–अमेरिका फिल्म सोसाइटीसँग सहकार्य हुँदै आएको थियो। तर, यो पटकको फिल्म सिरिज केही फरक र विशेष छ। नेपाली सिनेमा यहाँको समुदायसँग बाँड्न पाउनु हाम्रो लागि गौरवको विषय हो। आशा छ, यसले सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय फिल्मप्रतिको रुचिलाई थप विस्तार गर्न मद्दत पुर्याउनेछ,’ ग्रिनबेल्ट सिनेमाकी कार्यक्रम संयोजक लुसी कोर्टेजले भनिन्।
Shares

प्रतिक्रिया