प्रधानमन्त्री सुशीला कार्कीसँऊ कलाकारहरूको एक समूहले भेट गरेको छ। बुधबार बालुटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा उनीहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराइ आफ्नो संकल्पअनुसार अघि बढ्न भनेका हुन्।
समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे।
‘सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उनीहरूको भनाइ थियो, ‘यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो देश बचोस्। देश बस्नलायक होस्। यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्। हामी साथमा छौँ।’
उनीहरूले देशमा अब के हुन्छ भनेर डर लागिरहेको बेलामा सम्हाल्न आमा आएको भन्दै साथमा आफूहरू भएको बताएका थिए।
‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न आमा आउनुभएको छ,’ अभिनेत्री ऋचा शर्माले भनिन् ‘हामीलाई ढुक्क भएको छ। यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ। अब मुलुक ठिक दिशामा अघि बढ्नेछ। यहाँहरू अविचलित रही अघि बढ्नुहोस्, हामी साथमा हामी छौँ।’
उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहितलाई दुस्प्रचार र प्रोपोगान्डाप्रति सचेत रही सरकारले गरेका कामकारबाहीको विवरण नियमित सार्वजनिक गर्न आग्रह गरेका छन्।
‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ। सरकारप्रति थप विश्वास र आशा जागेको छ,' अभिनेता विपिन कार्कीले भने, 'अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ।’
गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा राम्रो भूमिका खेलेको भन्दै प्रशंसा पनि गरे।
‘सरकारले नबोलेका कारण पनि चर्को स्वरले कराउने खराब र दूषित तत्वहरू सामाजिक सञ्जालमा हाबी भएका छन्,’ अभिनेता निश्चल बस्नेतले भने, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन। ढुक्कसँग अघि बढ्नुहोस्। तपाईँको पक्षमा हामी छौँ। देशलाई थप अफ्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ। सरकारलाई सहयोगको खाँचो छ। र, यतिखेर सकारात्मकताको खाँचो छ।’
संगीतकार कालीप्रसाद बाँस्कोटाले अहिले पनि समाजमा भड्काउन खोज्नेहरू सक्रिय रहेको बताएका छन्। 'समाज भड्काउन सजिलो छ। सम्हाल्न गाह्रो छ। अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्। त्यस्ता तत्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो’ बाँस्कोटाले भने।
उनीहरूले सरकारलाई बदनाम गराउने र कमजोर बनाउनेहरू एक भइरहँदा परिवर्तनका पक्षधरहरू एक हुनु अहिलेको आवश्यकता भएको बताए।
‘यो परिवर्तनको पक्षमा रहेका हामी सारा नेपाली जनता एकातिर छौँ। जनताबाट तिरष्कृत एउटा फुच्चे पावर अर्कोतिर छ। त्यसले हामीलाई पेलिरहेको छ। यो कुरा हामी सबैले बुझ्नुपर्छ’ अभिनेता विजय बरालले भने।
प्रधानमन्त्री कार्कीले छलफलको अन्त्यमा भनिन्, ‘साथ सहयोग सबैको चाहिन्छ। समाजमा तपाईँहरूको प्रभाव छ। दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमी कमजोरी भए पनि औँल्याइदिनुहोस्। तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ। हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ।’
भेटघाटमा कलाकार तथा सर्जकहरू विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, रिचा शर्मा, कर्मालगायतको उपस्थिति थियो। भेटघाटको संयोजन पुकार बमले गरेका थिए।
Shares

प्रतिक्रिया