हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार’ को तेस्रो शृंखला शुक्रबारदेखि प्रदर्शन हुँदै छ। भारतमा यस फिल्मको अग्रिम टिकट बिक्रीमा उत्साहजनक छ।
पहिलो दिन भारतभरिका राष्ट्रिय चेनमा ‘अवतार: फायर एण्ड एस’ लगभग १ लाख बढी टिकट बिक्री गरिसकेको छ। पहिलो सप्ताह(शुक्रबार, शनिबार र आइतबार) का २ लाख २५ हजार टिकट बिक्री भएका छन्। बिहीबार साँझसम्म यस संख्यामा वृद्धि हुनेछ।
तर, ‘अवतार २’ को भन्दा यो आकडा कम हो। ‘अवतार २’ को रिलिजअगावै राष्ट्रिय चेनहरूमा पहिलो दिनको लागि २ लाख ३० हजार टिकटहरू बिक्री भएका थिए।
नेपालमा पनि यस फिल्मको रिलिजको ११ दिनअगाडिनै अग्रिम टिकट बुकिङ खुलेको थियो। बहुप्रतीक्षित फिल्म भएकाले नेपालमा पनि अग्रिम बुकिङमा उत्साह देखिएको छ।
मंगलबार बिहान ११ बजेसम्म सिनेपाः बक्सअफिसमा फिल्मका ८ हजार ३४६ वटा टिकट बिक्री भइसकेका छन्। जुन टिकट बिक्रीबापत फिल्मले ३६ लाख ४० हजार ४८० रुपैयाँ नेरु ग्रस कमाएको छ। बिहिबारसम्म यो संख्या बढिसकेको छ। तर, पछिल्लो तथ्यांक भने सार्वजनिक भएको छैन।
यो फिल्म सन २००९ मा रिलिज भएको ‘अवतार’ को तेस्रो श्रृंखला हो। ‘अवतार’ले हलिउडमा अहिलेसम्म पनि बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड कायम राखेको छ।
त्यस्तै, सन् २०२२ मा रिलिज भएको ‘अवतार: द वे अफ वाटर’ धेरै कमाउने हलिउड फिल्मको तेस्रो स्थानमा छ।
जेम्स क्यामरुन निर्देशित यस फिल्मको रनटाइम १९७ मिनेट रहेको छ।
Shares

प्रतिक्रिया