नेपाली छन्द कविताको माधुर्य पस्किँदै आएकी वाचक भूषिता वशिष्ठ सात वर्षपछि पुनः पलेँटीको मञ्चमा देखिने भएकी छन्। कालजयी नेपाली सङ्गीतको प्रवर्द्धन गर्दै आएको पलेँटी शृङ्खलामा यसपटक भूषिताले शास्त्रीय छन्दका कविताहरू वाचन गर्नेछिन्।
पलेँटीको यो संस्करणमा भूषिताले 'नवरस'मा आधारित भएर कविता प्रस्तुत गर्ने तयारी गरेकी छन्। उनले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यदेखि समकालीन पुस्तासम्मका कवितालाई आफ्नै मौलिक शैलीमा प्रस्तुत गर्नेछिन्।
भूषिताले यसअघि करिब सात वर्ष पहिले पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन्। अमेरिकाबाट 'क्रिएटिभ राइटिङ'को अध्ययन सकेर हाल धरानमा बसोबास गर्दै आएकी उनी अंग्रेजी र संस्कृत भाषाकी अध्येता समेत हुन्।
पलेँटीका लागि काठमाडौं आइपुगेकी भूषिता अहिले नेपालयको 'आर' शालामा सङ्गीतकर्मीहरूसँग अभ्यासमा व्यस्त छिन्। 'पलेँटी मेरा लागि आराध्य व्यासासन हो,' भूषिता भन्छिन्, 'यो सान्निध्यले मलाई काव्य साधना गर्न थप बल दिएको छ। म जति धन्य भएकी छु, त्यसको अंश मात्र पोख्न पाए पनि यो काव्यको वसन्त-स्नान सार्थक हुने थियो।'
यसपटकको वाचनमा भूषिताले विभिन्न कविका भिन्न-भिन्न रसका रचनाहरूलाई समेट्नेछिन्। कार्यक्रममा लेखनाथ पौडेल, मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे जस्ता दिग्गजदेखि नयराज पन्त र मनोज भण्डारीसम्मका रचना गुञ्जनेछन्। उनले आफ्नै सिर्जनाहरू पनि सुनाउनेछिन्। छन्दलाई केवल वाचनमा मात्र सीमित नराखी यसको सैद्धान्तिक र दार्शनिक पक्षलाई समेत केलाउनु भूषिताको विशेषता हो। छन्द पलेँटीको प्रस्तुति जनवरी ३० र ३१ मा नेपालयको कालिकास्थानस्थित ‘आर’ शालामा हुनेछ।
Shares

प्रतिक्रिया