भोलिबाट प्रदर्शन हुने फिल्म ‘कुमारी’ को गीत ‘डोको बुन्ने निगालो चोयाले’ लाई युट्युबमा करोड भ्युज मिलेको छ। एक महिनाअघि सार्वजनिक गरेको यस गीतलाई बुधबार साँझसम्म करोड पटक हेरिएको हो।
सार्वजनिक भएदेखिनै यस गीतले चर्चा पाउन थालेको हो। अहिले सर्वाधिक सुनिनेमध्येको यो गीत टिकटकमा भाइरल छ। टिकटकमा पनि गीतमाथि ५० लाखभन्दा बढी भिडियो बनिसकेका छन्। जसकारण युट्युवमा यस गीतले ठूलो सफलता पाएको हो।
‘डोको बुन्ने’ मा केहर सिंह लिम्बूको स्वर रहेको छ। सागर लामिछाने मगर र सुमन तामाङका शब्दहरू रहेको गीतमा सुमन तामाङ र केहरले नै सङ्गीत भरेका छन्।
शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीलाई देख्न सकिन्छ।
दिनेश राउन निर्देशक रहेको फिल्ममा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको फिल्ममा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
Shares

प्रतिक्रिया