आउँदो वैशाख १ गते रिलिज हुने फिल्म ‘पहाड’ लाई प्रिमियरमा रुचाइएको छ। प्रिमियर शोमा सहभागीले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रसंशा गरेका छन्।
बेरोजगारी, मानवविहीन रितिएको पहाड र पानीको समस्यालाई चित्रण गरिएको फिल्म हेरेपछि निर्देशक तथा कलाकार नीर शाहले नेपाली मौलिक फिल्म हेर्न आपको प्रतिक्रिया दिए। यो फिल्म तुलसी घिमिरेले निर्देशन गरेका हुन्।
‘फिल्मले हाम्रो नेपालीपनलाई उजागर गरेको छ। तुलसीजीले आफ्नो शैलीमा अहिलेको नेपालको समसामयिक विषयलाई फिल्ममा देखाउनुभएको छ। फिल्मले हामीलाई हाम्रो पहाड देखाउँदै धेरै तथ्यसँग जानकार गराउँछ’, शाहले भने ।
निर्देशक घिमिरेसँग ‘कुसुमे रुमाल’ मा काम गरेका अभिनेता भुवन केसीले फिल्म स-परिवार हेर्न मिल्ने बनेको प्रतिक्रिया दिए। ‘फिल्म निकै राम्रो बनेको छ। फिल्म हेर्दा रमाइलो लाग्छ, कता भावुक बनिन्छ। यो फिल्मले एउटा कम्प्लिट प्याकेज बनेको छ’, अभिनेता केसीले भने।
निर्देशक घिमिरेसँग ‘दर्पणछायाँ’ मा काम गरेका जीतु नेपालले फिल्म हेर्दा भावुक बनेको बताए। ‘फिल्म हेर्दा खुशी भएको, भावुक भएको पत्तै नपाईने रहेछ। तुलसी सरले आफ्नै शैलीमा अहिलेको अवस्थालाई फिल्ममा देखाउनुभएको छ। फिल्म निकै राम्रो बनेको छ,’ अभिनेता नेपालले भने, ‘मैले सानै हुँदा देखेको पञ्चमी हिरोइन बनेकी छन्, उनले राम्रो काम गरेकी छन्। पहाड सचिक्कै चट्टान नै बनेको छ। स-परिवार नयाँ वर्षमा फिल्म हेर्दा हुन्छ।’
यस्तै, निर्देशक दीपाश्री निरौला, दीपक आचार्य, दिवाकर भट्टराई, अभिनेता रमेश उप्रेती, किरण केसी लगायतले फिल्मको प्रशंसा गरेका छन्। उनीहरूले फिल्मले नेपालको वास्तविकता दर्शाएको प्रतिक्रिया दिए।
निर्देशक तथा लेखक घिमिरेले फिल्मले पाएको प्रतिक्रियाले आफ्नो मेहनत सफल भएको बताए। ‘पहाड सुन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गइरहेको पहाडको कथालाई चित्रण गरेका छौँ,’ उनले भने, ‘यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो। पहिलो दर्शक बन्नुभएका फिल्मकर्मीमार्फत पाएको प्रतिक्रियाले निकै उत्साहित छु।’
यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ। निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी यसै फिल्ममार्फत डेब्यु गर्दै छिन्।
अभिनेता अरुण क्षेत्रीले सानैदेखि हेर्दै आएको सफल फिल्मका निर्देशक घिमिरेसँग काम गर्न पाउनु सौभाग्य भएको बताए। ‘मेरो लागि आजको दिनको निकै महत्त्वपूर्ण छ, यो क्षणलाई व्यक्त गर्न सक्ने शब्द नै छैन। फिल्ममा मलाई विश्वास गरेर मौका दिनुभयो, म निकै कृतज्ञ छु,’ उनले भने, ‘फिल्म राम्रो बनेको प्रतिक्रियाले निकै उत्साहित छु। दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छु।’
फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ। निर्देशक घिमिरेले यस पटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन्।
फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका हुन्। भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका थिए।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको ‘पहाड’को प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्। फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन्।
उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन्। फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छन्।

प्रतिक्रिया