दयाहाङ राईले आफ्नो अभिनय करिअरमा अनेक पात्र बाँचे। उनको अभिनयमा कहिले पहाडको मौनता, कहिले खोलाको सुसाइ झल्किन्छ। कहिले उनी ‘काजी’ बनेर प्रेमको पीडालाई मुटुभित्र दबाउँछन्, कहिले ‘चन्द्र’ बनेर इतिहासको भारी बोक्छन्। तर, यी अनेकौँ स्वरूपका बीचमा कतै ‘असली दयाहाङ’ ओझेल परेका त छैनन्?
नेपालखबरको सेलेब्रिटी सो ‘लेट्स टक’मा दयाहाङले यसपटक केवल फिल्मको मात्रै कुरा गरेनन्, आफ्नै भित्री लय र समाजको बदलिँदो रङबारे पनि खुलस्त बोले।
भनिन्छ, मान्छेले भूगोल नाप्छ, मान्छेहरू चिन्छ, तर आफ्नै मुटुको धड्कन सुन्न बिर्सिन्छ। दयाहाङलाई पनि यस्तै लाग्छ।
‘आफूलाई चिन्न त धेरै मुस्किल छ,’ उनले अलिक दार्शनिक भावमा भने, ‘आजसम्म मैले कामलाई केन्द्रमा राखेँ, पात्रहरूलाई केन्द्रमा राखेँ। तर, यो दौडधुपमा सायद म आफैँसँग ‘मित’ लगाउन चाहिँ बिर्सिरहेको छु।’
दयाहाङको नयाँ फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट रिलिजको तयारीमा छ। यो नामसँग उनको साइनो दशक पुरानो छ। १० वर्षअघि मण्डला थिएटरको मञ्चमा उनले ‘मितज्यू’ नाटककै निर्देशन गरेका थिए। अहिले फिल्ममा उनी फरक भूमिकामा छन्।
भन्छन्, ‘फिल्मले केवल मित्रताको कथा भन्दैन, यसले त नेपालको राजनीतिको ऐना पनि देखाउँछ। जसरी फिल्ममा चालकहरू स्वार्थका लागि हात मिलाउँछन्, हाम्रा राजनीतिक दलहरूले गर्ने सत्ताको ‘गठबन्धन’ पनि ठ्याक्कै त्यस्तै मेटाफोरिक लाग्छ।’

कुराकानीका क्रममा जब काठमाडौँको सुकुमबासी बस्तीमा चलेको डोजरको प्रसंग निस्कियो, दयाहाङको स्वरमा केही गम्भीरता र केही उदासी मिसियो। हामीले ‘लेट्स टक’को ‘राइट नाउ’ सेग्मेन्टमा उनलाई सोध्यौँ– ‘काठमाडौँको फुटपाथदेखि सुकुमबासी बस्तीसम्म बालेनले चलाएको डोजरलाई तपाईं ‘विकासको सुरुवात’ मान्नुहुन्छ कि ‘मानवीय संवेदना’को अभाव?
जवाफमा उनले यसलाई विकास मात्र देखेनन्, एउटा ठूलो रिक्तता महसुस गरे।
‘सुकुमबासी बस्तीमा डोजर चलाउनु मेरो नजरमा मानवीय संवेदनाको अभाव हो,’ उनले भने, ‘जे भयो हतारमा भएको छ। प्रक्रिया बुझेर नतिजा निकाल्ने नेतृत्व आजको आवश्यकता हो, तर यहाँ नतिजाको हतारोमा मानवीय पक्षलाई नै कुल्चिएको देखिन्छ। ती बस्तीका मानिसहरूको पीडा सुन्दा मन दुख्छ। विकास फलामको डोजरले मात्र आउँदैन, मान्छेको भावनाको व्यवस्थापनबाट पनि आउनुपर्छ।’
प्रधानमन्त्री बालेन शाहलाई ‘आशाको किरण’ मान्दै गर्दा पनि उनीमाथि भइरहेको ‘पपुलिजमको खेती’ र ‘देवत्वकरण’ प्रति दयाहाङ सचेत देखिए।
‘हामी आफैँ केही नगर्ने अनि एउटा व्यक्तिले जादु गरिदिन्छ भनेर सोच्ने प्रवृत्तिको सिकार भइरहेका छौँ,’ उनको तर्क थियो।

रवि लामिछाने, बालेन र हर्क साम्पाङहरूको उदयले धेरैलाई राजनीतिप्रति लोभ्याएको होला, तर दयाहाङलाई यसले छोएको छैन।
उनी स्पष्ट छन्– ‘म नेतृत्व गर्ने क्षमता भएको मान्छे होइन। कलाकारितामै पोख्त हुन नसकेको म, राजनीतिमा जानु भनेको समयको बर्बादी मात्र हो। मेरो क्रान्ति र मेरो समाज परिवर्तनको माध्यम केवल अभिनय नै हो।’
गाउँमा लामो समय गाडी नदेखेका दयाहाङ आज नेपाली सिनेमाका चर्चित र व्यस्त अभिनेता हुन्। कतिपयले उनलाई ‘सुपरस्टार’ नै भन्छन्। तर, उनी स्वयं त्यस्तो ट्याग लिन रुचाउँदैनन्।
‘म अभिनयको भोक भएको एउटा विद्यार्थी हुँ,’ उनले भने, ‘म जस्तो जिउडाल र अनुहार भएको मान्छेको सिनेमामा सम्भावना छैन भन्थे मान्छेहरू। मान्छेहरू म अभिनय गर्छु भन्दा हाँस्थे। तर मैले कामबाटै जवाफ दिन्छु भनेर अगाडि बढेँ। त्यसैले आज यहाँसम्म आइपुग्नु एउटा सामान्य प्रक्रिया मात्रै लाग्छ मलाई।’

दयाहाङले आफ्नो करिअरमा काजी (कबड्डी), अमर लामा (दासढुंगा), माइला (गाउँ आएको बाटो) र चन्द्र (ह्वाइट सन) जस्ता अविस्मरणीय पात्रहरू निभाएका छन्। तर, यदि कुनै एक पात्रलाई एक घण्टा भेट्ने मौका पाए कसलाई रोज्नुहुन्छ भन्ने प्रश्नमा उनले दीपक रौनियार निर्देशित ‘ह्वाइट सन’को चन्द्रलाई रोजे।
‘म चन्द्रलाई भेटेर सोध्न चाहन्छु– ‘चन्द्र, अहिले तिम्रो यात्रा कस्तो छ? के सोचिरहेका छौ?,’ उनले भने, ‘त्यो पात्रले बाँचेको समय र भोगाइ निकै गहिरो थियो।’
कुराकानीको अन्त्यमा उनले आफ्नो सफलतामा गायिका समेत रहेकी श्रीमती मेनुका राईको ठूलो हात रहेको र उनकै कारण आफू यहाँसम्म आइपुगेको भन्दै परिवारप्रति आभार प्रकट गरे। ‘लुट’ फिल्म हिट भएपछि मात्रै साथीभाइले पत्याएर ऋण दिन थालेको र त्यसैबाट मण्डला थिएटर बनाएको पुरानो दिन पनि उनले सम्झिए।
बाँकी के–के भने, हेर्नुहोस् दयाहाङसँग उनको फिल्म, जीन्दगी, करिअर, राजनीति, सम्बन्ध लगायत विविध आयामबारे विस्तृतमा गरिएको भिडिओ कुराकानी ‘लेट्स टक’:
फोटो/भिडिओ: सरोज नेपाल

प्रतिक्रिया