बलिउड अभिनेत्री अमिषा पटेल मुम्बई फर्किएकी छिन्। अमेरिकाबाट मुम्बईको यात्राको क्रममा ओमानमा फसेकी उनी अन्तत: घर फर्केकी हुन्।
खासमा उनी न्यूयोर्कबाट मुम्बई यात्रा गरिरहेकी थिइन्, तर खाडी क्षेत्रमा भएको आक्रमणका कारण युएईको हवाई क्षेत्र अचानक बन्द भयो। जसकारण उनको उडानलाई बीच बाटोबाट ओमानको मस्कट डाइभर्ट गर्नुपर्यो। जसले गर्दा यात्रुहरूमाझ ठूलो अनिश्चितता सिर्जना भएको थियो। उनीसँगै डीजे चेतस र निर्माता कुणाल गुमर पनि यात्रा गरिरहेका थिए।
अमिषाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आफ्नो तनावपूर्ण अनुभव साझा गरेकी थिइन्। ‘हामी दुबईमा अवतरण गर्न लागेका थियौं जब मिसाइल आक्रमणका कारण हवाई क्षेत्र बन्द भयो। हामीलाई मस्कट पठाइएको छ र अब हामी अर्को अपडेटको लागि पर्खिरहेका छौं। यो युद्ध कहिले समाप्त हुन्छ? म प्रार्थना गरिरहेकी छु,’ उनले लेखेकी थिइन्।
मुम्बई आइपुगेपछि अमिषाले राहतको सास फेरिन् र आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिँदै लेखिन्, ‘अन्ततः, मुम्बई ! तपाईंहरूको सबै प्रार्थनाको लागि धन्यवाद।’
Shares

प्रतिक्रिया