शुक्रबार प्रदर्शन हुन लागेको फिल्म ‘मालती मंगले’ को प्रिमियर शो गरिएको छ। प्रिमियर शोमा उपस्थित चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया आएको छ।
प्रिमियरमा सहभागीले कलाकारको अभिनयको प्रशंसा गरेका छन्। अभिनेता विजय बरालको स्वाभाविक अभिनयको चर्चा सधैँझैँ यस पटक पनि कायम रह्यो।
त्यस्तै, अभिनेत्री वर्षा राउतले आफ्नो करिअरकै हालसम्मको उत्कृष्ट अभिनय गरेको भन्दै दर्शक तथा समीक्षकबाट प्रशंसा बटुलिन्। कमेडी कलाकारको रूपमा चिनिएका मेक्सम गौडेलले यस चलचित्रमार्फत ठूलो पर्दामा आफूलाई बलियो रूपमा उभ्याएका छन्। उनको उपस्थितिलाई चलचित्रको ‘प्लस पोइन्ट’ मानिएको छ।
चलचित्र हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि प्रिमियरमा पुगेका थिए। चलचित्रका निर्माता तथा गायक रामकृष्ण ढकालका पुराना साथीसमेत रहेका लामिछानेले नेपालमा भन्नै पर्ने कथा चलचित्रले उठाएको प्रतिक्रिया दिए।
यस्तै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि चलचित्र हेरेर प्रशंसा गरेका थिए। प्रिमियर शोमा कलाकारहरू कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्रीलगायत चलचित्र युनिट, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको कथा निर्देशक प्रकु पाण्डेयले लेखेका हुन्। पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
फिल्ममा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुष्मा निरौला, सुनिल तामाङलगायतको अभिनय रहेको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा छन्।
Shares

प्रतिक्रिया