न्युजिल्यान्डको भ्रमणमा रहेको नेपथ्य ब्यान्डले आदिवासी भूमिमा सांगीतिक प्रस्तुति राखेको छ।
न्युजिल्यान्ड पुगेसँगै आदिवासी माहुरे समुदायले नेपथ्य ब्यान्डलाई उनीहरूको परम्परागत ‘पाउहिरी’ शैलीमा स्वागत गरेको थियो। त्यस समुदायको ‘कापा हाका ग्रुप’ ले पाहुनालाई आफ्नो परिवेशमा सांगीतिक निमन्त्रण गर्दा आध्यात्मिक संवाद प्रयोग गरेको थियो।
लगत्तै आईतबार बेलुकी अकल्यान्डको ‘ड्यु ड्रप इभेन्ट्स सेन्टर’ मा नेपथ्यले प्रस्तुति दियो। त्यहीँ दुई हजारभन्दा बढी दर्शकको भीडमा थिइन् इलिन तुराङ्गा।
‘आजसम्म मैले सहभागिता जनाएको नेपाली कार्यक्रममध्ये यो कन्सर्ट सर्वोत्कृष्ट रह्यो,’ आठ वर्षदेखि नेपाली तन्नेरीका साथ जीवन बिताउँदै आएकी माहुरे आमाकी सन्तान इलिन भन्दै थिइन्, ‘सङ्गीत मात्र होइन, स्टेजमा गाउने गायकको प्रभावशाली विनम्रता र दर्शकले उनीप्रति दर्साउने सम्मानको संयोजनले मलाई गजब लाग्यो।’
कुनै पनि कन्सर्टमा मञ्चका कलाकारसँग दर्शक यत्तिको भावुकतापूर्वक जोडिएको आफूले कहिल्यै नदेखेको इलिनको भनाइ थियो। उनी कन्सर्ट हेर्नकै लागि नेपाली साथीसँग हेमिल्टनदेखि डेढ घण्टा मोटर हाँकेर आइपुगेकी थिइन्।
पृथ्वीकै पिँधमा पर्ने यस मुलुकमा नेपथ्यले झण्डै एक दशकको अन्तरालमा दोस्रोपटक पाइला टेकेको हो। मुख्य सहर अकल्यान्डमा बेलुकी नहुँदै दर्शक जुट्न सुरु भइसकेका थिए। हल भित्रको घडीले आधा घण्टा बाँकी जनाउँदा नै दर्शक भरिभराउ भएका थिए।
कन्सर्टको सुरुवातमा ब्यान्डले ‘कोशीको पानी यो जिन्दगानी’ गीत प्रस्तुत गरेको थियो। ‘तपाईंहरू माया गर्नुहुन्छ र हामी आइपुग्छौँ,’ गाउँदागाउँदै बीचैमा गायक अमृतले यसो भनिदिँदा दर्शक अझ जोडले चिच्याउँथे।
‘पहिल्यैदेखि सुन्दै आएका नेपथ्यका गीतहरूबारे त के भन्नु!’ कन्सर्ट हेरेपछि भावुक दीपक पाण्डे भनिरहेका थिए, ‘एकैछिन भए पनि भर्खरै स्वदेश पुगेर फर्केजस्तो अनुभूति भइरहेको छ।’
१५ वर्षदेखि न्युजिल्यान्डलाई कर्मथलो बनाउँदै आएका दीपक कन्सर्टकै लागि डेढ घण्टाको हवाई यात्रा गर्दै अर्को सहर क्राइस्टचर्चदेखि आइपुगेका थिए।
नेपाली लोकधुनलाई विश्वव्यापी रक सङ्गीतसँग जोडेर विकास गरिएका आफ्ना गीतहरू प्रस्तुत गर्नका लागि नेपथ्यले आधुनिक उपकरणको प्रयोग र कुशल व्यवस्थापनमा कन्जुस्याइँ गर्दैन। त्यसको मूल्याङ्कन भने विदेशमा पुगेका बेला उतैका प्राविधिकले गरिरहेका हुन्छन्।
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। यस पालिको यात्रामा न्युजिल्यान्डमा आयोजित यो एक मात्र कन्सर्ट सम्पन्न भएपछि ब्यान्ड अब स्वदेश फर्किने तयारीमा छ।
Shares

प्रतिक्रिया