कला


दोस्रो हप्तामा ‘लालीबजार’ लयमा फर्केपछि स्वस्तिमाले बिर्सिइन् अदालतको तनाव

दोस्रो हप्तामा ‘लालीबजार’ लयमा फर्केपछि स्वस्तिमाले बिर्सिइन् अदालतको तनाव

लक्ष्मी बलायर
जेठ ५, २०८३ मंगलबार १५:४९, काठमाडौँ

वैशाख १८ गतेबाट ‘लालीबजार’ हलमा रिलिज हुने तय थियो। स्क्रिप्ट बुझाउनेदेखि सेन्सरसिपको सरकारी प्रक्रिया पूरा भइसकेको थियो। अझ युनिभर्सल सर्टिफिकेट पनि हातमा थियो। तर, फिल्म रिलिजको ४ दिनअगाडि वादी अभियन्ता रोशनी नेपालीले अदालतमा रिट दायर गरिन्।

त्यसबाट सिर्जित कानुनी अड्चनका कारण ‘लालीबजार’ टिमसहित अभिनेत्री स्वस्तिमा खड्काले निकै तनाव झेल्नुपर्‍यो। अदालतको निर्णय विरुद्ध उनी माइतीघरसम्ममै पुगिन्। तर, बाहिरी माहोल यति बिग्रियो कि फिल्म नै रोकिने हो कि भन्ने संशय पैदा गरिदियो।

‘म कलाकार हुँ, यो फिल्म भएन भने अर्को गरुँला भन्ने त हुन्थ्यो। तर, त्यो बेला मलाई आफ्नो करिअरको भन्दा पनि पूरै फिल्म इन्डस्ट्रीकै डर थियो। हामीले सबै काम लिगल र एथिकल गरिसकेका थियौँ। यदि फिल्म पर्मानेन्ट्ली नै देखाउन नपाइने अवस्था आएको भए भोलि कुन मेकरले के सोचेर फिल्म बनाउने? मेरो मुख्य प्रश्न नै त्यही थियो,’ स्वस्तिमाले भनिन्।  

तर, केही दिनपछि उच्च अदालत पाटनले ‘लालीबजार’को पक्षमा फैसला सुनाइदियो। जुन फैसलासँगै फिल्मको प्रदर्शनको बाटो खुल्यो। त्यसपछि अन्तत: वैशाख २५ गतेबाट देशैभरका हलमा फिल्म लाग्यो। रिलिज भइसकेपछि पनि सर्वोच्चमा रिट परेको थियो। तर, उच्चकै निर्णय सर्वोच्चले सदर गरिदियो।

नेपाली चलचित्र बजारमा सिक्वेल बाहेकका नयाँ र मौलिक कथालाई सुरुवाती अवस्थामा व्यापार गर्न गाह्रै हुन्छ। यस चलचित्रको हकमा त झन् सुरुवाती अवरोधले धक्का पुर्‍यायो। सुरुवाती दिनमा खासै दर्शक आएनन्। पहिलो साता दर्शकलाई फिल्म हलमा लागिरहेको छ भन्नेसम्म बुझाउन टिमलाई धौ-धौ पर्‍यो।

जब फिल्म दोस्रो सातामा प्रवेश गर्‍यो, बक्स अफिसको सुस्त अंकगणित एकाएक बदलियो। हलमा आएका दर्शकहरुले फिल्मको कथा र कलाकारहरुको अभिनयलाई तारिफ गर्न थाले। त्यसपछि त के चाहियो र? बलियो ‘वर्ड अफ माउथ’ ले हलहरूमा दर्शकहरु ओर्लिए। दर्शकहरुको यो माया देखेर स्वस्तिमाले सबै तनाव बिर्सिएकी छिन्।

‘बिजनेस एउटा ठाउँमा छ तर त्यो भन्दा पनि अडियन्सले माया गरिराख्नु भएको छ। एक हप्ता चाहिँ हामीलाई ह्याम्पर नै भयो। अडियन्सलाई फिल्म लाग्यो है हलमा भन्न नै एकदमै गाह्रो भयो। तर, त्यो भन्दा पनि अर्को खुसीको कुरा जति जनाले हेर्नुभएको छ। एकदमै राम्रो प्रतिक्रिया दिइरहनु भएको छ,’ उनले सुनाइन्।

चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार गत शनिबारसम्म यस फिल्मले साढे ३ करोडको व्यापार गरिसकेको छ। तर, स्वस्तिमा भने दोस्रो साताको शुक्रबारबाट फिल्मको राम्रो दिन सुरु भएको ठान्छिन्।  

‘यो हप्ताबाट सुरु भयो भन्छु म। किनभने हाम्रो पहिलो शनिबारभन्दा दोस्रो शनिबार हाम्रो राम्रो व्यापार छ के। चुनावको बेलामा जुन पार्टीले पनि हामी नै बहुमतले जित्छौं भन्या जस्तै नै हो। तर साँच्चिकै नै यो सिनेमामा चाहिँ अडियन्सहरूले यति मजाले कनेक्ट गर्नुभएको छ, त्यो इमोसनसँग, उहाँहरूले त्यो हामीले भन्न खोजेको कुरालाई जसरी कनेक्ट गर्नुभएको छ, त्यो कुरा चाहिँ एकदमै खुसी लाग्छ,’ उनले भनिन्।

स्वस्तिमाका अनुसार सिनेमा चल्न एउटा दृश्य वा एउटा संवाद मात्र बलियो भएर पुग्दैन। त्यसका लागि समग्र दुई घण्टाको कथा र भावनाको ग्राफ बलियो हुनुपर्छ। यस चलचित्रले दर्शकको भावनालाई छुन सफल भएको छ। त्यसैले त हलमा पुग्दा नसोचेका दृश्यहरूमा समेत दर्शकहरू भावुक भइरहेका छन्।

विशेषगरी फिल्ममा प्रस्तुत गरिएको आमा र छोरीको सम्बन्ध, बन्डिङ र केमेस्ट्रीलाई दर्शकहरुले मन पराइरहेको सुनाउँछिन् स्वस्तिमा।

भन्छिन्, ‘धेरै आमा-छोरीहरू सँगै आएर फिल्म हेरेर निस्कँदा रोइरहनुभएको भिडिओ आइरहेका छन्। कतिपय आमा नहुनुभएका दर्शकहरूले आफ्नी आमालाई मिस गरेर भावुक बन्नुभएको छ। एउटै फिल्म हेर्न २ घण्टा बस्न त झ्याउ लाग्छ, तर एकजना दिदीले तेस्रो पटकसम्म दोहोर्‍याएर हेर्नुभएको भेट्दा म निःशब्द भएँ। यो नै हाम्रो कामको वास्तविक सफलता हो।’

यस फिल्मले काठमाडौँका हलहरूमा दर्शकको राम्रो साथ र प्रतिक्रिया पाइरहेको छ। केही दिन पश्चिम नेपालको हलहरु पुगेकी स्वस्तिमा सोमबार मात्रै विशेष शोका लागि काठमाडौं आएकी थिइन्। स्वस्तिमा मंगलबार पूर्वका दर्शकहरु भेटिरहेकी छिन्।

मोफसलका दर्शकहरूको माया र उत्साह सधैँ अर्को तहको हुने स्वस्तिमाको बुझाइ छ।

‘दर्शक नै फरक भन्ने त हुँदैन। जुनसुकै ठाउँको दर्शक पनि त्यत्तिकै प्यारो हुनुहुन्छ, त्यत्तिकै नेपाली फिल्महरूलाई माया गर्ने हुनुहुन्छ। तर बाहिर गएपछि अलिकति कस्तो हुन्छ भने हामी धेरै बाहिर हुँदैनौँ। यहाँ चाहिँ एउटै सहरमा बसिराख्नुभएको भएर त्यति स्पेसल नहुन सक्छौँ उहाँहरूलाई,’ पूर्व जानुअघि स्वस्तिमाले भनिन्, ‘बाहिरका दर्शकहरू एकदमै स्पेसल तरिकाले लिनुहुन्छ हामीलाई। हामी सँगै हलमा जाँदा फिल्म हेरिसकेपछिको जुन खालको उहाँहरूमा एनर्जी हुन्छ, एउटा एक्साइटमेन्ट हुन्छ, त्यो अझ अर्को लेबलमा हुन्छ। त्यही भएर एकदमै रमाइलो लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad