एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी मुख्यमन्त्रीको आकांक्षासहित संघीय सांसदको उम्मेदवार हुन छाडेर गण्डकी प्रदेशमा झरेका थिए।
उनी कास्की क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित पनि भए। तर, खगराजले सोचेजस्तो भएन।
गण्डकीमा एमालेले प्रत्यक्षतर्फ १२ सिटमात्र जित्यो भने समानुपातिकमा अघिल्लो वर्षजस्तै १० सांसद प्राप्त गर्यो। ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना र माओवादीका ८,राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एकजना सांसद छन्।
मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङको पार्टी प्रवेशसँगै एकीकृत समाजवादी पनि गण्डकी प्रदेशसभामा आइपुगेको हो। ५ दलीय गठबन्धनबाट चुनाव लडेका शक्तिहरुको यहाँ स्पष्ट बहुमत छ। यस्तोमा खगराज मुख्यमन्त्री हुन माओवादी केन्द्रको सहयोग अपरिहार्य छ।
केन्द्रमा कांग्रेस–माओवादी सहकार्य रहिञ्जेल यहाँ ती दलको हातबाट मुख्यमन्त्री फुत्कँदैन। यो कुरा खगराजसहित एमालेका बाँकी नेताहरुले पनि बुझेका छन्।
तर,गण्डकीमा शंकर पोखरेल र खगराज विरोधी खेमा बलियो छ। त्यो खेमाको नेतृत्व एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गरिरहेका छन्। शंकर र खगराजलाई खसाल्ने मौकाको पर्खाइमा रहेको सो समूहले यही मौकामा पार्टीभित्र एउटा अभियान चलायो।
त्यो अभियानसँगै भनियो थियो,‘मुख्यमन्त्री बन्ने अवस्था नभएकाले अब खगराज अधिकारीले संसदीय दलको नेता बन्ने अभियान छाड्नुपर्छ। उहाँले पार्टी चलाउनुपर्छ।’ स्रोतका अनुसार खगराज आफैं पछाडि नहटे उनलाई सर्वसम्मत संसदीय दलको नेता बन्न नदिने तयारी गरिएको खबर पनि बाहिर चुहाइयो।
अंक गणितको हिसाब अनुसार गण्डकीमा खगराज पक्षसँग ८ र उनी इतर समूहमा १४ जना सांसद भएको तथ्य पनि पेश गरियो।
आफूविरुद्ध चलखेल भएको सुइँको पाएपछि उनी झस्के। त्यो कुरा महासचिव शंकर पोखरेलसम्म पुग्यो।
मंसिरको अन्तिम साता उनी एकाएक पोखरा आइपुगे।
उनी पत्रकारहरुमाझ पनि झुल्किए।
माओवादीकी रेखा शर्मासँगको चुनावी पराजयपछि पोखरा आएका शंकरले गण्डकी प्रदेशसभा र संघतर्फ विजयी भएका सांसदहरुसँग भेटघाट गरे। शुभकामना दिने निहुँमा भएको यो भेटघाटमा उनले घुमाउरो पारामा आफू निकट खगराज अधिकारीलाई नै संसदीय दलको नेता बनाउनुपर्ने बताए।
उनको सक्रियताले पनि सांसदहरु पछि हटेनन्। बागलुङका लिलबहादुर थापाले पार्टीका आन्तरिक फोरमहरुमा आफू नै संसदीय दलको दावेदार भएको जिकिर पेश गरे। स्रोतका अनुसार गुटको बैठकमा उनले आफू खगराजसँग प्रतिस्पर्धामै उत्रन तयार भएको तर त्यही कारणले आफ्नो राजनीतिक जीवन दाउमा लगाउन भने नसक्ने आशय व्यक्त गरे।
उता, त्यो समूहका नेता एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ स्वयंले भने यो बीचमा के गर्ने भन्ने निर्णय गरेनन्। स्रोतका अनुसार उनी गण्डकीमा आफ्नो मान्छेलाई संसदीय दलको नेता बनाएर शंकरसँग पंगा लिने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर आफ्नो राजनीतिक जीवन सुरक्षित गर्ने भन्ने द्धिविधामा परे।
यतिबेला उपमहासचिव गुरुङले अध्यक्ष ओलीसँग भेटघाट गरिसकेका छन्। राजनीतिक रुपले शंकरसँग प्रतिस्पर्धा नगरे पार्टीको माथिल्लो तहमा पुगिन्न भन्ने बुझेका उनीमाथि गण्डकीका सांसदहरुले भने दवाव बढाए।
कतिसम्म भने कास्की क्षेत्र नम्बर २ ‘क’ बाट जितेका केन्द्रीय सदस्य भीम कार्कीले पनि चुनाव लड्न तयार भएको बताइदिए।
‘चुनाव नै हुने हो भने खगराज कमरेडको पक्षमा बढीमा ८ भोट खस्छ,कतिसम्म भने कास्कीबाट उहाँ र श्याम गुरुङमात्रै एकातिर हुने सम्भावना रहेको छ’,एमालेका एक नेताले भने,‘पार्टी अध्यक्ष (केपी ओली)ले नै हस्तक्षेप गरे फरक कुरा होला, नभए यहाँ मुख्यमन्त्री बन्ने अवस्था नआउँदासम्म खगराज कमरेड संसदीय दलको नेता बन्नुहुँदैन भन्ने मत नै बलियो देखिएको छ।’
संसदीय दलको नेतामा दाबी गरेका बागलुङका लिलबहादुर थापाले पनि संसदीय दलमा आफ्नो दाबी स्वभाविक भएको प्रतिक्रिया दिएका छन्।
‘खगराज पार्टीको विभागीय प्रमुख हो। म जिम्मेवार पोलिटब्यूरो र युवा तथा खेलकुद विभाग प्रमुख हुँ’,उनले भने,‘ खगराज र हामी सँगसँगैका हौँ। राजनीतिमा धेरै कुर्बानी गरेको पुस्ता हामी नै हौँ। संसदीय दलमा एउटा प्याकेजको कुरा आउला। म स्वभाविक रुपले उम्मेदवार हो।’
उनले पार्टीभित्र नेता छान्ने प्रक्रिया बैज्ञानिक र प्रक्रियागत हुनुपर्नेमा पनि जोड दिए। ‘धेरै साथीहरुले पार्टीभित्र जनवादी प्रक्रियामा जान त पाए। पार्टीमा चित्त नबुझेका कुरा राख्ने, नेता चुन्ने र आफू चुनिने त आन्तरिक प्रक्रिया नै हो’,उनले दोहो¥याउँदै भने,‘ त्यो अनुसार जानुपर्छ भन्ने हो। सिनियर नेता भएकाले एउटा पदमा म उठ्नैपर्छ।’
यस्तैमा एमाले गण्डकी संसदीय दलले आइतबार नेता छान्ने कार्यक्रम तय गरेको छ।
एमाले गण्डकीका सचिव धनञ्जय दवाडीका अनुसार संसदीय दलको नेता चयनको लागि आइतबार नै समिति गठन गर्ने जानकारी दिएका छन्। संसदीय दलको नेता छान्ने कार्यक्रम तय भएसँगै खगराज र अर्को समूहले छुट्टाछुट्टै रुपले बैठक गरिरहेका छन्।
उपमहासचिव पृथ्वीसुब्बा काठमाडौंबाट पोखरा आउँदैछन्। स्रोतका अनुसार संस्थापक मुख्यमन्त्री तथा पार्टीको उपमहासचिव भएकाले उनी गण्डकीमा आफ्नो पकड देखाउन चाहन्छन्। र, त्यसको लागि यहाँ संसदीय दलको चुनाव नै होस् भन्ने उनको भित्री चाहना छ।
स्रोतका अनुसार कम्तिमा पनि खगराजलाई किस्तीमा राखेर संसदीय दलको नेता दिन उनी तयार देखिएका छैनन्।
प्रतिक्रिया