गण्डकी


दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

नेपालखबर
असार ७, २०८२ शनिबार २१:४१, गण्डकी

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जलसतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन्। विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जलसतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन्।
    
पथप्रदर्शक गङ्गा घलेले जलसतह घट्दै जाँदा यहाँको सौन्दर्यमा चुनौती बढाएको भन्दै यहाँको धार्मिक पर्यटनमा यसले नकारात्मक असर पार्ने देखिएको बताए। पर्यटकीय गन्तव्य दूधपोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वासका कारण टाढाटाढाबाट दर्शनार्थी पुग्ने गरेका उनको भनाइ छ।

समुद्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको यो तीर्थस्थललाई देवादिदेव महादेवको बासस्थानका रूपमा लिने गरिन्छ। प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने यो कुण्डको जलसतह पछिल्ला वर्षमा घट्दै गएको घलेले जानकारी दिए। ‘जनैपूर्णिमाको दिन कुण्डमा गरिने स्नानको विशेष महत्त्व छ, उक्त दिन यहाँ पितृलाई दिइने तर्पणले पितृमोक्ष हुने विश्वास छ’, उनले भने।
    
विसं २०४४ देखि हालसम्म २३औँ पटकसम्म दूधपोखरीकुण्डमा पुगेको अनुभव सुनाउँदै घलेले हालको अवस्था हेर्दा करिब ५० प्रतिशतको हाराहारीमा जलसतह घटेको बताए। ‘सुरुमा यहाँ पुग्दा देखेको जलसतह अहिले ५० प्रतिशतले घटेको छ’, उनले भने, ‘कुण्डको उत्तरतर्फबाट हिउँपहिरोका कारण कुण्ड पुरिने जोखिम छ भने बर्सेनि तापमान वृद्धिको असर कुण्डमा परिरहेको देखिन्छ।’
    

तापमान वृद्धिका कारण कुण्ड वरपरका हिमालमा हिउँ पर्ने क्रम घट्दै जानु, कुण्डको पिँधबाट पानी बगिरहनुलगायत कारणले जलसतह घट्दै गएको पथप्रदर्शक घलेले बताए।

लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन, काठमाडौँंलगायत देशका विभिन्न स्थानबाट यस कुण्डमा स्नान गर्न धार्मिक भक्तजन आउँछन्। कास्कीको सिक्लेस, ताङतिङ, लमजुङको घलेगाउँ, घनपोखरालगायत स्थानबाट तीन दिनसम्म पदयात्राका माध्यमबाट यस कुण्डमा दर्शनार्थी पुग्ने गरेका पथप्रदर्शक घलेले उल्लेख गरे। यस कुण्डमा स्नान गर्ने व्यक्तिलाई भारतको काशी जान नपर्ने जनविश्वासले रहिआएको उनको भनाइ छ।

मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्गका संयोजक बोबरजङग गुरुङले बताए।

उच्च हिमाली क्षेत्रका साथै मानव बस्तीबाट टाढा रहेको यस तीर्थस्थल पुग्ने प्राचीन भेँडीगोठ, नून बोक्न जाने प्राचीन मार्गलाई सम्पदा पदमार्गका रूपमा अघि बढाउँदै पदयात्रा पर्यटन प्रवर्द्धनमा जोड दिइएको उनले उल्लेख गरे।

संघको आयोजनामा पहिलो चरणमा कास्कीको ताङतिङबाट दूधपोखरी हुँदै मनाङको तिमाङसम्म अन्वेषणात्मक पदयात्रा गरिएको थियो। त्यस्तै दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कफुचे हिमताल, कोरी, क्होलासोँथर, कपुँडाँडा हुँदै याङ्जाकोटसम्म खोज तथा प्रवर्द्धनात्मक पदयात्रा गरिएको थियो। 

तेस्रो चरणअन्तर्गत हालै लमजुङको सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङसम्मको खोज तथा प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको संघका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिए। उनका अनुसार सन् २०२६ देखि यस गुरुङ सम्पदा पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

धार्मिक एवं पर्यटकीय महत्त्व रहेको दूधपोखरीकुण्डको जलसतह घट्दै गएकामा सम्बद्ध निकायले समयमा समस्या पहिचान गरी समाधान खोज्नुपर्ने जरुरी रहेको पथप्रदर्शक विकास गुरुङले बताए।

‘दूधपोखरीकुण्डको महत्त्वलाई जीवन्त राख्न, यसको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी छ’, उनले भने, ‘यस तीर्थस्थलको धार्मिक पर्यटकीय महत्त्वलाई प्रचारप्रसार गर्दै कुण्डको संरक्षणसहित यहाँ पुग्ने पदमार्गको अत्यावश्यकीय पूर्वाधार विकास गर्नु जरुरी छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad