पोखरामा व्यक्ति र सरकारी कार्यालय तोडफोड र आगजनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ता संलग्न भएको पुष्टि भएको छ।
सामाजिक सञ्जालैभरि छ्याप्पछ्याप्ती भएको भिडिओमा आफ्नो पार्टीका नेता र कार्यकर्ताले आगजनी गरेको देखिएपछि रास्वपाले दुई वडा संयोजकलाई निलम्बन गरेको छ।
निलम्बनमा पर्नेहरू पोखरा महानगरपालिका–१० का संयोजक चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का संयोजक भोजराज पौडेल रहेका छन्।
वडा १० का थापा पोखरा महानगरपालिका कार्यालय र पोखराका मेयर धनराज आचार्यको घरमा आगजनीमा देखिएका थिए।
राति भएको आगजनीमा रास्वपा पोखरा–१० का सभापति चन्द्रबहादुर थापा संलग्न रहेको पाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा उनले मेयर आचार्यको घरभित्र रहेका सामान जलाएको देखिन्छ।
भिडिओ बाहिरिएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले थापालाई सोमबार निलम्बन गरेको हो। आयोग प्रमुख योगेन्द्र केसीले पार्टीका आचारसंहिताभन्दा बाहिर रहेर अवाञ्छित गतिविधिमा संलग्न देखिएकाले अर्को निर्णय नहुँदासम्म सबै जिम्मेवारीबाट निलम्बन गरिएको पत्र पठाएका हुन्।
निलम्बित सभापति थापाले पनि आफ्नो कमजोरी स्वीकार गरेका छन्। पार्टीले कारबाही गरेपछि फेसबुकमा स्टाटस लेख्दै उनले उत्तेजित भीडकै कारण आफूले केही गलत गरेको हुनसक्ने बताए।
‘भदौ २३ र २४ गते जेनजीले आयोजना गरेको विरोध कार्यक्रममा पार्टीको आचारसंहिताभन्दा बाहिर रहेर विभिन्न अवान्छित क्रियाकलापमा संलग्न भएको विभिन्न सामाजिक सञ्जालमार्फत देखिन आएकोले तपाईंलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गरिन्छ,’ पार्टीको गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यही भदौ २३ र २४ गते पोखरामा भएको प्रदर्शनमा ८० भन्दा बढी संरचना ध्वस्त भएका छन्।
Shares

प्रतिक्रिया