गण्डकी


हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १८:३०, म्याग्दी (बेनी)

म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। बेनीनगरपालिका–६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको २०६२ असोज ६ गते भएको हत्यामा संलग्न सोही ठाउँका ४३ वर्षीय ठहरबहादुर घर्ती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।  

जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले घटना भएकै राति फरार भएका ठहरबहादुरलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका ठहरबहादुर नाताले मृतक घर्तीका भाइ हुन्। घरमा सुतिरहेका कर्णबहादुरलाई उनले दाउराले हानेर हत्या गरेको र उनकी श्रीमतीलाई समेत दाउराले हानेर गम्भीर घाइते बनाई गरगहना लुटेर भागेर भारत गएको अभियुक्त घर्तीले बयान दिएको प्रहरीले जनाएको छ। 

घटनापछि अभियुक्त घर्ती ५ वर्ष भारतको मुम्बई बसेका थिए भने त्यसपछि पोखरा आएर खाजा पसल सञ्चालन गर्नुका साथै देशका विभिन्न ठाउँमा ज्यामी र मिस्त्रीको काम गरी लुकीछिपी घर आउनेजाने गरेको पाइएको छ। 

घर्तीलाई प्रहरीले यही कात्तिक १ गते पक्राउ गरी मुलुकी अपराधसंहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

अभियुत्त घर्ती क्षेत्री यसअघि पनि जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। विसं २०५९ पुसमा जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएकामा २०६० चैत ७ गते तत्कालीन विद्रोही माओवादीले गरेको बेनी आक्रमणका क्रममा कारागारबाट भागेर फरार भएका थिए। 

जिल्ला अदालत म्याग्दीले २०६६ जेठ १६ गते घर्ती क्षेत्रीलाई जबर्र्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad