सहकारी ठगीको केन्द्र बनेको पोखराको एक अर्को सहकारी सञ्चालकहरूले सर्वसाधारणको झण्डै ९९ करोड रुपैयाँ बचत हिनामिनामात्र गरेका छैनन्,सम्पत्ति शुद्धीकरणको मुद्दाबाट उन्मुक्ति पाउन सहकारी नियामकलाई नै घुस खुवाएको भेटिएको छ।
पोखरा नयाँबजारमा मुख्य कार्यालय रहेको सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेका थिए।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका वित्तीय छानबिनकर्ता निर्मल गौतमले तयार पारेको प्रतिवेदनका आधारमा दिइएको उजुरीका आधारमा कास्की प्रहरीले उनीहरूलाई कात्तिक १९ गते पक्राउ गरेको थियो। प्रहरीले बचतकर्ताको उजुरीको आधारमा सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पनि पक्राउ गरेको थियो। सञ्चालकलाई पक्राउ गरेपछि कास्की प्रहरीले पीडितसँग थप जाहेरीको लागि सार्वजनिक आह्वान गरेको थियो।
गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको अध्ययन प्रतिवेदनले विभिन्न काल्पनिक खाताहरू खोली सहकारी र विभिन्न व्यक्तिहरूको रकम अपचलन गरेको, ऋणका नाउँमा रकम निकाली हिनामिना गरेको, सहकारी ऐन कानुनविपरीत सहकारीका कोषहरू हिनामिना, सञ्चालक समितिका पदाधिकारीहरूका नाउँमा ऋणीका तर्फबाट सम्पत्ति ल्याइ ऋण हिनामिना गरेको तथा सहकारीको रकम हिनामिना गरेपछि त्यसलाई सार्वजनिक हुन नदिइ मिलान गर्ने नाममा संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय काठमाडौंका शाखा अधिकृतलाई ५ लाख रुपैयाँ दिएर घटना साम्य गर्न खोजिएको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
सहकारीको रकम हिनामिना गर्ने पूर्व तथा वर्तमान पदाधिकारी, सञ्चालक सदस्य र व्यवस्थापकलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान गर्न वित्तीय विश्लेषक निर्मल गौतमले गरेको प्रतिवेदनले सिफारिस गरेको छ।
प्रतिवेदनमा अध्यक्ष गोदारलाई विभागको अनुगमन शाखाबाट सहकारीको अनुगमनमा आएका चिरञ्जीवी पौडेल, सुन्दर पन्थी र प्रेमराज लुइटेलले सहकारी अनुगमन गरी फर्केको र अनुगमनका क्रममा रहँदाका बखत सहकारीले सम्पत्ति शुद्धीकरणको पालना नगरेकोले सञ्चालकसहित सहकारीलाई नै सम्पत्ति शुद्धीकरणको तत्कालै कारवाही सिफारिस गर्ने बताएका थिए।
त्यो कुरा सुनेपछि अध्यक्ष गोदारले पछि लुइँटेललाई सम्पर्क गरी काम गर्ने वातावरण दिनुपर्यो भनी आग्रह गरेको प्रतिवेदनमा किटान गरिएको छ। कारबाही भएको खण्डमा बचतकर्ताको सुरक्षा नहुने भयो भनी उनले विभागका कर्मचारीसँग अनुनय गरेका थिए। उनका अनुसार लुईंटेलले ‘मैलेमात्र गरेर हुँदैन म टिमसँग सल्लाह गर्छु’ भनेका थिए।
‘मलाई तपाईं काठमाडौं नै आउनुहोस्, काठमाडौंमा नै बसेर सल्लाह गरौँला भनेपछि म प्लेनमा काठमाडौं गएँ। काठमाडौं गएपछि उहाँलाई बानेश्वरमा गई भेटेँ अनि सर बचाइदिनुपर्यो, काम गर्ने वातावरण दिनुपर्यो, बरु मैले के गर्नपर्ने हुन्छ, संस्थाबाट गर्दछु,’ गोदारले भनेका छन,‘उहाँले करिब १० लाख माग गरेकोमा मैले यत्रो खर्च मिलाउन गाह्रो पर्छ, म पाँच लाख म्यानेज गर्दछु भनी कुरो मिलेपछि म फर्किएर आएपछि सो कुरा मैलो कोषाध्यक्षलगायत सबै सञ्चालक समितिको मिटिङ नै राखेर छलफल गरेँ।’
गोदारले सञ्चालक समितिको बैठकबाट मञ्जुर गराएर कोषाध्यक्षलाई चेकबाट रकम झिकी नगद तयार पार्न भनेको उल्लेख गरेका छन्। त्यसरी सहकारीबाट झिकिएको रकम गोदार आफैंले बानेश्वरमा नै गइ लुईंटेलले पठाएका अपरिचित व्यक्तिलाई दिएको जिकिर पनि गरेका छन्।
सहकारीका कोषाध्यक्ष तथा ऋण समिततिको संयोजक हिरामणि दाहालले समेत अध्यक्षको आग्रहमा कर्मचारी डिलमाया पुर्जा पुन र आफूले हस्ताक्षर गरी मन्त्रालयबाट आएको मानिसलाई रकम दिनको लागि भन्दै चेकमार्फत् नगद झिकेको बयानमा खुलाएका छन्।
यही सहकारीको ठगी प्रकरणमा कार्यक्षेत्र विस्तारमासमेत घुस खुवाएको खुलेको छ। सहकारीका व्यवस्थापक भिष्मप्रताप गुरुङले सहकारीको कार्यक्षेत्र विस्तारका लागि अध्यक्षको आग्रहमा दुई लाख ५० हजार रुपैयाँ बुझाएको खुलाएका छन्।
उनका अनुसार गोदारले भनेका छन,‘पोखराका अन्य सहकारीहरूले समेत केही रकम रजिष्ट्रार कार्यालयका हाकिमलाई बुझायो भने सजिलै कार्यक्षेत्र थप हुने रहेछ। व्यवसाय विस्तार गर्न सजिलो हुन्छ। धेरै सहकारीले शाखा थप गरेका रहेछन्। मैले च्यानल खोजेको छु।’
यो प्रकरणमा सरकारी कर्मचारी चण्डीप्रसाद अर्याल पनि मुछिएका छन्।
सो सहकारीमा २०७८ भदौ ६ गते सुरेन्द्रबहादुरको नेतृत्वमा पछिल्लो सञ्चालक समिति निर्वाचित भएको थियो। त्यसअघि आशबहादुर गुरुङ, फणिन्द्रराज शर्मा, विजय महर्जन अध्यक्ष थिए। महर्जनकै अध्यक्षतामा २०५९ वैशाख १२ गते सहकारी स्थापना भएको थियो। २०८२ जेठ १४ गतेसम्मको अन्तिम दैनिक कारोबार बन्दीमा कायम भएको आंकडालाई छानबिनको आधार बनाइएको थियो।
सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभर थियो। सहकारी संस्थाले हाल कुल ३ हजार ५६ सेयर सदस्यहरूले कारोबार गरिरहेको सहकारीको सिस्टमको अभिलेख बमोजिम देखिन आएको छ। सहकारीले पोखरा–९ नयाँबजारस्थित प्रधान कार्यालय, पोखरा–१०, अमरसिंह र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्रहरू पनि सञ्चालन गरेको छ।
सहकारीको रकम अपचलनमा संलग्न अन्यलाई पनि कानुनी दायरामा ल्याउने प्रहरीले जनाएको छ। पोखरामा सूर्यदर्शन, प्राइम, विन्ध्ववासिनी, मित्रमिलन, इमेज, बलिदानी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएर अनुसन्धानकै प्रक्रियामा छ।
Shares

प्रतिक्रिया