गण्डकी


लामा गुरुहरूलाई अगाडि राखेर चिठ्ठा थुते, टेकबहादुरलाई परेपछि पोल्देनले उम्मेदवारी फिर्ता लिए

लामा गुरुहरूलाई अगाडि राखेर चिठ्ठा थुते, टेकबहादुरलाई परेपछि पोल्देनले उम्मेदवारी फिर्ता लिए

वाशुदेव मिश्र
माघ ९, २०८२ शुक्रबार २०:१२, पोखरा

नेपाली कांग्रेसले आउँदो फागुन २१ को निर्वाचनको लागि मनाङबाट टेकबहादुर गुरुङलाई उम्मेदवार बनायो। एमालेले चाहिँ पाल्देन गुरुङलाई अगाडि सार्‍यो। राष्ट्रिय प्रजातन्त्र पार्टीले कुवरेसिंह गुरुङलाई टिकट दियो। उनीहरूले माघ ६ गते मनाङ पुगेर उम्मेदवारी दर्ता गराए।

राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल गुरुङ चाहिँ उम्मेदवारी दर्ता गराउनै गएनन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सो क्षेत्रबाट उपाध्यक्ष देव गुरुङलाई उम्मेदवार बनाउने चर्चा थियो तर अन्तिममा उनी पछि हटे। त्यहाँबाट उनकै धर्मपत्नी तथा माओवादी नेतृ यसोदा सुवेदी उम्मेदवार बनिन्।

यहाँसम्म ठीकै थियो तर शुक्रबार चाहिँ एमालेका पाल्देन गुरुङ र राप्रपाका कुवेरसिंह लामाले उम्मेदवारी झिके। उनीहरूले ‘लामा गुरु’हरूको आग्रह अनुसार उम्मेदवारीमात्र झिकेनन्, आउँदो प्रदेशसभा चुनावमा पनि मिलेर जाने सहमति गरे।

नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङका अनुसार लामा गुरुहरूले ‘मनाङ शान्तिको ठाउँ, चुनावमा प्रतिस्पर्धा गर्दा झैझगडा हुने, सानो ठाउँमा सबै नातेदार, आफूआफूमा के झगडा गर्ने’ भन्दै मिलेर जान आग्रह गरेका थिए।

‘हाम्रा यहाँका थुप्रै लामाहरू काठमाडौंमा हुनुहुन्छ नि। उहाँहरूले निर्देशन दिएपछि मनाङमै रहनुभएका लामाहरूसँग हामी (कांग्रेस) र एमालेका नेताहरू बस्यौँ। गोला थुत्ने र जसले उम्मेदवार बन्ने गोला थुत्छ, ऊमात्र उम्मेदवार बन्ने भन्ने भयो,’कांग्रेस सचिव सुरेन्द्रले भने,‘टेकबहादुर दाइलाई चिठ्ठा पर्‍यो। एमालेका पाल्देनले छाड्नुभयो।’

चुनावमा खर्च पनि हुने र आफूआफूमा झगडा गर्नुहुँदैन भन्ने लामा गुरुहरूको निर्देशनले नै सहमति जुटेको उनको भनाइ छ। 

उनका अनुसार सहमति अनुसार अब हुने प्रदेशसभा निर्वाचनमा कांग्रेसले एमालेलाई सघाउने छ। २०७९ सालको चुनावमा सो क्षेत्रबाट टेकबहादुर गुरुङ नै विजयी बनेका थिए। उनले २ हजार ५ सय ७७ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका पाल्देनले २ हजार २ सय ४७ मत ल्याएका थिए।

मनाङमा ७ हजार मतदाता छन्। तीमध्ये अधिकांश काठमाडौंसहित अन्य जिल्लामा बस्छन्। चुनावको बेलामा मात्र उनीहरू मत हाल्न मनाङ पुग्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad