गण्डकी


लेकसाइड रातभर खुल्दा व्यवसायी नै हैरान, २ बजेपछि बन्द गर्न माग

लेकसाइड रातभर खुल्दा व्यवसायी नै हैरान, २ बजेपछि बन्द गर्न माग

नेपालखबर
जेठ १, २०८३ शुक्रबार २१:४८, पोखरा

होटल संघ पोखरा नेपाललगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालीन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन्।

पछिल्लो समयय रात्रीकालीन व्यवसायका कारण हो–हल्ला, ध्वनी प्रदूषण र विकृति बढ्दा शान्ति सुरक्षामा नै असर परेकोले होटल संघले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। 

राति २ बजे उता रात्रीकालीन व्यवसायलाई संचालनमा रोक लगाउनसमेत अनुरोध गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए। उल्लेखित विकृति विरुद्ध अनुगमनलाई तीव्र पार्न माग गर्दै पत्रमा पोखराका झण्डै दुई दर्जन पर्यटकीय संघ÷संस्थाका तर्फबाट हस्ताक्षर गरिएको छ। 

त्यहाँका पर्यटन व्यवसायीको मागकै आधारमा २०८० सालको चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने क्रममा पोखरा २४ सै घण्टा खुल्ला राख्ने घोषणा गरिएको थियो।

तर, रातभर लेकसाइड क्षेत्र जाग्राम हुँदा डकमा अनावश्यक हो–हल्ला गर्ने, रातभरी ठूलो आवाजमा मोटरसाइकल दौडाउने पड्काउने, समाजको शान्ति सुरक्षामा खलबल पुर्‍याउने, पर्यटक तथा स्थानीयवासीहरुलाई त्रसित तथा अतंकित पार्ने र भय सृजना गर्ने अवस्था रहेको हुँदा यस क्षेत्रको वातावरण र शान्ति सुरक्षामा नै संकट पर्न गएको, लागुऔषध प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढदै गएको, दिनहुँजसो झै झगडा हुने गरेकोलगायतका कारण देखाउँदै होटल संघको अगुवाइमा राति २ बजेपछि लेकसाइड बन्द गर्न माग गरिएको छ।  

कास्कीका प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको पत्रमा भनिएको छ,‘ रातको समयमा मोटसाइकलमा सवार गर्ने व्यक्तिहरुले बन्दुकको आवाजजस्तै गरी ध्वनी निकाल्दै ध्वनीप्रद्रषण गर्ने, शान्त रुपले आराम गर्दै र बास बसिरहेका पर्यटक र समाजलाई अशान्त बनाउने,  पोखरा आगमन हुने पर्यटकहरुलाई विभिन्न चोकहरु (छोरेपाटन, विरौटा चोक, सिर्जना चोक, जिरो किमि, जरेवर, हल्लनचोक, राष्ट्र बैंक चोक र मुख्य सडकहरु) मा होटलका कर्मचारी तथा संचालकहरुले बाइक तथा स्कुटर जस्ता सवारी साधनहरुबाट दुर्घटना हुने गरी पिछा गर्ने र यस क्षेत्रको शान्ति सुरक्षामा नै खलल हुने गरी पर्यटकहरुलाई विभिन्न प्रलोभन देखाउने, वलजफ्ती गरी त्रसित गराउने गरेकोे हुँदा पोखरा आगमन हुने पर्यटकहरुलाई सुरक्षित र स्वेच्छाले पूर्वनिर्धारित तय भएको होटल प्रतिष्ठानहरुमा जाने वातावरण नभएको हुँदा उक्त कार्यलाई निरुत्साहीत गरी त्यस कार्यमा संलग्न होटल संचालक तथा कर्मचारीहरुलाई समेत कारवाही गरी पाऊँ भनी हार्दिक अनुरोध गर्दछौं।’  

पत्रमा होटल संघ पोखरा नेपाललगायत पोखरा– ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् अन्तर्गतका सदस्य संस्था, होटल संघ नेपाल गण्डकी र अन्य पर्यटकीय संघसंस्थाका तर्फबाट हस्ताक्षर रहेको छ। 

जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा विगतमा बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्दै लेकसाइड, ड्यामसाइडसहित पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको तर त्यसको कार्यान्वयन नभएको पनि पत्रमा स्मरण गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad