गण्डकी


सरकारी जागिर छाडेर बाख्रापालन

सरकारी जागिर छाडेर बाख्रापालन

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १०:११, म्याग्दी

म्याग्दीको धौलागिरि गाउँपालिका-७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका  छन्।

दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीका रूपमा करारमा काम गरेका पौडेलले बगर कृषि तथा पशुु बहुुउद्देश्यीय फार्म स्थापना गरी सफलता हात पारेका हुन्। 

‘पाँच वर्षजति खाडीमुलुकमा वैदेशिक रोजगारी गरेर फर्केपछि विसं २०६६ देखि ११ वर्षसम्म बेनीको कृषि विकास कार्यालयमा सहयोगीका रूपमा काम गरेको थिएँ’, उनले भने, ‘सङ्घीयतापछि जागिर छाडेर बाख्रा पाल्ने सोच पलायो। नौ वटाबाट सुरु गरेको फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन्।’

वार्षिक ३५ देखि ४० वटासम्म खसीबोका बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी गर्ने पौडेलले तीन जना छोराछोरीलाई सदरमुकाम बेनीमा राखेर पढाउनुका साथै घरव्यवहार चलाउन सजिलो भएको बताए।

खसीबोकाका साथै पाठापाठी पनि बिक्री हुने गरेका छन्। ग्राहकहरू पाठापाठी र खसीबोका खोज्दै घरमै आउने गरेकाले बजारको समस्या छैन।

पौडेलले बाख्रापालनसँगै व्यावसायिक रूपमा सुन्तला र तरकारीखेती पनि गरेका छन्। एक सय बोटमध्ये ४० बोट सुन्तलाले उत्पादन दिन थालेका छन्।

थप एक सय सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरेका छन्। वैदेशिक रोजगार र करारको जागिरको तुलनामा खेती किसानी र बाख्रापालनबाट सन्तुष्टि मिलेको पौडेलले बताए। 

व्यवस्थित किसिमको खोर बनाएर जमुनापारी जातको बाख्रा पालेका पौडेलले उन्नत बोयर जातको एकवटा बोका सहयोग पाएका छन्।

फार्मको पूर्वाधार विस्तारमा पौडेलले सरकारी निकायबाट सहयोगको अपेक्षा गरेका छन्। घरवरपरको पाखामा चरनमा आधारित बाख्रापालन गरेका पौडेलले बहुवर्षीय डालेघाँस खेती पनि गरेका छन्।

बाख्राको सुरक्षाका लागि ठूला जीउडाल भएका एउटा भोटे जातको सहित दुईवटा कुकुर पालेका छन्।

रातको समयमा खोर वरपर रुघेर बस्ने कुकुर जङ्गलमा बाख्रा चराउन लैजाँदा अघिपछि गरेर सुरक्षा दिने गर्छ।

जङ्गली जनावरको सङ्केत पाएमा भुकेर जानकारी दिने कुुकुरले भिडेर बाख्रालाई आक्रमणबाट बचाउन सहयोग गरेको कृषक पौडेलले बताए। भुुवानीलाई बाख्रापालनमा श्रीमती भगवतीले पनि सघाइरहेकी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad