गण्डकी


चुनावमा नयाँ स्टार प्रचारक: बालेनको ‘भगवा भेष’, कालो चस्मा अनि कालै कोट

ओली, प्रचण्ड, गगन सामाजिक सञ्जालतिर लाग्दा चुनावी मैदानमा स्टार प्रचारकको ‘क्राउन’ खोसेका छन्- रवि, बालेन, कुलमान, हर्कले
चुनावमा नयाँ स्टार प्रचारक: बालेनको ‘भगवा भेष’, कालो चस्मा अनि कालै कोट

वाशुदेव मिश्र
फागुन ७, २०८२ बिहिबार १३:१६, पोखरा

भारतको बिहारमा सन् २०२५ मा भएको विधानसभा चुनावका लागि भारतीय जनता पार्टी (भाजपा) ले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत ४० जना नेताको नाम ‘स्टार प्रचारक’का रूपमा निर्वाचन आयोगमा पेस गर्‍यो। भाजपाका तर्फबाट मैदानमा उत्रिएका स्टार प्रचारकमध्ये सबैभन्दा प्रभावशाली प्रधानमन्त्री नरेन्द्र मोदी नै देखिए। विपक्षी कंग्रेस आई, लालु यादवको जनता दल युनाइटेड (आरजेडी), अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी, त्रिणमूल कांग्रेससहितका क्षेत्रीय दलहरूका ‘स्टार प्रचारक’ प्रधानमन्त्री मोदीसामु फिका साबित भए।

भारतको चर्चित अनलाइन च्यानल ‘दि ललनटप’का अनुसार भारतीय संविधानको धारा ३२४ अनुसार निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको अधिनमा रही ‘स्टार प्रचारक’ले दलको पक्षमा रोड सो, र्‍याली, आमसभा गरेका थिए। स्टार प्रचारकले आफ्नो दमदार भाषण, व्यक्तित्व तथा पहिरनका कारण पनि मतदाता आकर्षित गर्ने क्षमता राख्छन्। स्टार प्रचारकले हेलिकप्टर, कार र रेल प्रयोग गर्न पाउँछन् र त्यो उम्मेदवारको चुनावी खर्च नभएर पार्टीको खर्चका रूपमा रहन्छ।

नेपालको निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा पनि ‘राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्ना तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने’ व्यवस्था गरेको छ।

हेलिकप्टर प्रयोग गर्दाको खर्च आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा दलले गर्न पाउने खर्चको सीमाभित्रै रहने पनि निर्वाचन आयोगले उल्लेख गरेको छ। चुनाव नजिकिँदै गर्दा स्टार प्रचारकले हेलिकप्टर लिएर देश दौडाहा गर्लान् नै!

घोषणा नै नगरे पनि नेपालमा पनि प्रखर वक्ता र पार्टीको शीर्ष नेतृत्व ‘स्टार प्रचारक’का रूपमा देश दौडाहामा निस्कने पुरानै परम्परा हो। २०१५ सालको पहिलो संसदीय निर्वाचन तथा २०३७ सालको जनमत संग्रहमा कांग्रेस सभापति बीपी कोइराला‘स्टार प्रचारक’ थिए। २०४८ सालको आम निर्वाचनमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी सर्वाधिक चर्चित प्रचारक मानिन्थे। त्यो बेला उनको माग यति थियो कि सचिवालयलाई कार्यक्रमको तालिका मिलाउन पनि हम्मेहम्मे पर्थ्यो। 

कांग्रेसले २०४८ सालमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाकै भरमा प्रचार अभियान चलायो। संसद् विघटनपछि चाहिँ कांग्रेसका सर्वशक्तिमान नेता गिरिजाप्रसाद कोइराला अलोकप्रिय बने। मध्यावधिमा कांग्रेस चिप्लियो। त्यो मध्यावधिमा एमालेले मनमोहन अधिकारीलाई प्रधानमन्त्रीको रूपमा पेस गर्‍यो। मनमोहनको व्यक्तित्वप्रति जनताले भरोसा गरे। 

कांग्रेसका सर्वशक्तिमान नेता गिरिजाप्रसाद कोइराला अलोकप्रिय थिए। २०५६ सालको चुनावमा चाहिँ कांग्रेसले पनि एमालेकै बाटो रोज्यो। सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा पेस गर्दै चुनावी मैदानमा ओर्लिदा बहुमत पायो।

तत्कालीन माओवादीले अध्यक्ष प्रचण्डलाई सम्भावित राष्ट्रपतिका रूपमा अघि सारेकै कारण विपक्षीले ‘भित्ते राष्ट्रपति’का रूपमा हियाउने अवसर पाए। अहिले कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै पार्टीमा भित्रिएका बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवार घोषणा गरेर चुनावी अभियान सञ्चालन गरिरहेका छन्। 

नेपालको प्रधानमन्त्री २७५ सदस्यीय प्रतिनिधि सभाले चुन्ने हो। सामान्य बहुमतबाट प्रधानमन्त्री हुन संसद्‌मा १३८ जना सांसदको समर्थन चाहिन्छ। यसअघिको चुनावी परिणाम हेर्दा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० सांसद चुनिने नेपालको संसद्‌मा एउटै दलको बहुमत आउने सम्भावना कम देखिन्छ। भलै दलहरूले बहुमतको दाबी गरिरहेका किन नहुन्।

यसपालि को-को हुन् स्टार प्रचारक? 
अहिले सबैभन्दा बढी ‘स्टार प्रचारक’ भएको पार्टी रास्वपा देखिएको छ। सञ्चारकर्मबाट राजनीतिमा हाम फालेका रवि लामिछाने र काठमाडौँ महानगरपालिकाको मेयर बनेर वाहवाही पाएका बालेनसहित कलाकारदेखि खेलाडीसम्मका चर्चित नेता रास्वपामा छन्।

ती नेताहरू जहाँ जान्छन्, त्यहाँ मान्छे झुम्मिन्छन्। फोटो खिचाउँछन्, सेल्फी लिन्छन्। रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेनले घोषित प्रचार अभियान सुरु हुनुअघि नै एक चरण देश दौडाहा गरिसकेका छन्। बालेन जनकपुरदेखि पाथीभरा मन्दिर, सुदूरपश्चिमदेखि गोरखा दरबारसम्म पुगिसकेका छन्।

सामाजिक सञ्जालमा उनले गोरखा दरबारमा दिएको पोज, पाथीभरामा देखिएको ‘भगवा भेष’, कालो चस्मा अनि कालैकोटको चर्चा भइरहेको छ। लामो नबोल्ने बालेनसँगै सभापति रविले पनि सहकारी ठगी मुद्दाको तारेख बुझ्ने क्रममै पोखरासहित केही जिल्लाको जनमत बुझेका छन्। आफ्नो धारणा सार्वजनिक गरिहेका छन्।

रवि र बालेन यही फागुन १० गते पनि पोखरा आउँदै छन्। जुन दिन रास्वपाले आफ्ना उम्मेदवारको प्रचारका निम्ति यहाँको अमरसिंह चौरमा क्षेत्रीय भेला आयोजना गर्दै छ। भेला स्याङ्जा, पर्वत र कास्कीको संयुक्त हुने रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले नेपालखबरलाई जानकारी दिए।

‘तनहुँको दमौलीमा उतै छ, गोर्खा, लमजुङ पनि छुट्टै सभा हुँदै छ। यहाँको सभाचाहिँ पोखरा लक्षित हो,’ कति मान्छे उतार्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अमरसिंह चौरको क्षमता १२ हजार वरपर हो। हाम्रोमा भव्य उपस्थिति हुन्छ, हेर्न आउनुहोला।’

बालेन र रविको उपस्थितिले ठुलै मात्रामा मत तलमाथि हुने उनको विश्वास छ। 

उता धरान उपमहानरपालिकाको मेयर पद छाडेर श्रम संस्कृति पार्टी खोलेका हर्क साम्पाङ स्वयं पार्टीका लागि स्टार प्रचारकका रूपमा देखिएका छन्। एक चरण पोखरासम्म आइपुगेका हर्क अहिलेचाहिँ सुनसरीको आफैँ उम्मेदवार भएको क्षेत्रतिर व्यस्त छन्। तर उनी फागुन ९ गते पोखरा आउँदै छन् । माटो चुनाव चिह्नसहित कास्की ३ बाट हितकाजी गुरुङ र १ का उम्मेदवार बिलबहादुर गुरुङको प्रचारका लागि उनले अमरसिंह चौरमा आयोजना हुने आमसभालाई सम्बोधन गर्दै छन्।

यस्तै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा चर्चित बनेका र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिँदै उज्यालो नेपाल पार्टीमार्फत राजनीतिमा होमिएका कुलमान घिसिङ पनि अहिले जनताले हेर्न चाहेका नेता हुन्।

‘हाम्रो पार्टीलाई जनताले कति विश्वास गर्छन् भन्ने चुनावपछि थाहा होला, तर कुलमान कामले प्रमाणित गरेको मान्छे हो, उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको उपस्थिति राम्रो हुन्छ,’ उज्यालो नेपालबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा उम्मेदवार बनेका कुशल गुरुङले नेपालखबरसँग भने, ‘उहाँ एकपटक पोखरा आएर जानुभएको हो। फेरि आइदिनुपर्‍यो भनेको छु। उहाँको व्यस्त तालिका छ रे! सुदूरपश्चिमदेखि सबै ठाउँ भ्याउनु छ भन्दै हुनुहुन्छ। एकपटक गण्डकीको राजधानी पोखरा आउनुहुन्छ भन्ने छ।’

कुलमान आउँदा ठुलो आमसभा नै गर्ने सोच बनाइएको कुशलले बताए।

के छ पुराना पार्टीको हाल? 
नयाँ पार्टीहरूले उत्साहका साथ शीर्ष नेताको उपस्थितिमा आमसभा गरिरहँदा हिजोका ठुला र पुराना पार्टी भने द्विविधामा देखिएका छन्। माओवादी शान्ति प्रक्रियामा आएपछि हजारौँ मान्छे ओइरिने आमसभामा कुम हल्लाएर भाषण गर्ने हाल नेकपाका संयोजक प्रचण्डले यसपटक ठुला सभाका निम्ति पैसा खर्च नगर्ने घोषणा गरिसकेका छन्।

‘आजकल ठुला सम्मेलन सभा गरेर, लाखौँ खर्च गरेर भोट पाउने जमाना गयो। टोलटोल र घरघरमा गएर आफ्नो कुरा बताउनुहोला,’ माघ २८ गते पोखरामा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले भनेका थिए, ‘आईटीमा हामी बुर्जुवा र साम्राज्यवादीसँग प्रतिस्पर्धा गर्न त सक्दैनौँ तर मिसइन्फर्मेसनलाई काउन्टर गर्ने र आफ्ना राम्रा कुरा पोस्ट र सेयर गर्न नछाड्नुहोला। खाली बसेर भएन, पोस्ट गरिराख्नुपर्‍यो।’

पार्टीले डिजिटल प्रचारका निम्ति पेरिसडाँडामा टिम नै तयार गरेको र हिजो सभा सम्मेलनमा गरिने खर्च अहिले सूचना प्रविधिमा लगाएको पनि प्रचण्डले बताएका थिए। प्रचण्ड आफूले भनेजस्तै अहिले रुकुमपूर्वको बस्ती चहारिरहेका छन्। नेकपाका तर्फबाट उम्मेदवार बनेकाहरू प्रचण्डको जादू अहिले पनि कायमै रहेको तर्क गर्छन्, तर ठुला आमसभा गर्दा लाग्ने खर्च घरदैलो र डिजिटल प्रचारमा लगाउने मुडमा देखिन्छन्।

कांग्रेसको अवस्था पनि उस्तै। कांग्रेसीजनलाई रास्वपाले फागुन १० गते अमरसिंहमा आमसभा गर्दै छ भन्ने थाहा छ। कांग्रेससँग २०६४ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नै ‘स्टार प्रचारक’का रूपमा देश दौडाहामा खटाएका गगन थापा अहिले सभापति छन्। बोलक्कड गगनदेखि उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताहरू मञ्चमा उभिँदा जनताको मन बदल्ने हैसियत राख्छन्। बदलिएको कांग्रेस कस्तो हो  र यसका एजेन्डा के हुन् भन्ने जानकारी तल्लो तहसम्म पुर्‍याउन आमसभा जरुरी भएको कांग्रेस केन्द्रीय सदस्य कृष्ण केसीको भनाइ छ। तर नेताको व्यस्तता र ठुलो खर्चका कारण कांग्रेस त्यस्ता सभा गर्ने निर्णयमा पुग्न नसकेको उनले बताए।

‘हामीसँग अनुभव छ। यहाँ आमसभा गर्दा जिल्लाभरका वडाबाट कार्यकर्ता बोलाउनुपर्‍यो। सिक्लेस (मादी गाउँपालिकाको हिमालसँग जोडिएको गाउँ) बाट यहाँ आउने-जाने गर्दा एउटा बसको भाडा नै २० हजारभन्दा बढी हुन्छ। बाटोमा खाजा खानुपर्ला, छिमेकी जिल्लाबाट पनि कार्यकर्ता आउँदा व्यवस्थापनमै ठुलो खर्च हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘एउटा आमसभा गर्दा गाडी भाडा मात्रै २१ लाख हाराहारी आउँछ। नेता र एजेन्डा नभएर हैन, खर्च कता गर्ने भनेर आमसभाको निर्णय भएको छैन।’

नेकपा एमालेले पनि ठुला चुनावी सभा गर्ने निर्णय गरिसकेको छैन। उम्मेदवारहरू आफ्नै पाराले घरदैलोमा छन्। कोणसभाचाहिँ भइरहेको छ। एमालेले अहिले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका लागि उम्मेदवार घोषणा गरेको छ। कुनै बेला उखानटुक्का, घोचपेच मिसिएको ओलीको भाषण सुन्न मान्छेहरूको धुइरो लाग्थ्यो। भाषण सुनेर पेट मिचिमिची हाँस्थे। तर अहिले समय बदलिएको छ। अध्यक्ष ओलीलाई बोलाएर आमसभा गर्दा उल्टो भोट घट्छ कि भन्ने पिरलो उम्मेदवारलाई छ। त्यसैले गण्डकीका कुनै पनि जिल्लाबाट ठुलो आमसभा आयोजना गरिएको छैन भने अध्यक्ष ओलीलाई निमन्त्रणा पनि छैन।

‘भन्न हुँदैन। अहिले हाम्रा उम्मेदवार आफ्नै बलबुताले मैदानमा हुनुहुन्छ। यसै त मतदाताले प्रश्न गरिरहेका छन्। अध्यक्ष कमरेडलाई बोलाउँदा झन् धेरै प्रश्न आउलान् कि भन्ने पिरले हामीले थिचिएका छौँ,’ एमाले गण्डकीका एक नेताले नाम नलेख्न आग्रह गर्दै नेपालखबरसँग भने, ‘हामीसँग भएका योगेश  (भट्टराई) जस्ता अनुहार बोलाउने अवस्था पनि छैन। हामी योपटक डिजिटल प्रचार र घरदैलोमै भर पर्ने अवस्थामा छौँ। केही निर्णय भए भनौँला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad