ग्लोबल


डोनाल्ड ट्रम्प रुसतिर ढल्किँदा सी चिनफिङ खुसी कि दुःखी?

बेइजिङलाई एक्ल्याउन ट्रम्पले पुटिनसँग हात मिलाएको चिनियाँ आशंका
डोनाल्ड ट्रम्प रुसतिर ढल्किँदा सी चिनफिङ खुसी कि दुःखी?

नेपालखबर
फागुन १५, २०८१ बिहिबार २०:२२,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसैसाता विश्वको भूराजनीतिक व्यवस्थामा नाटकीय परिवर्तन ल्याएका छन्। उनले अमेरिकालाई युरोपेली मुलुक होइन, रुसको निकट बनाएका छन्। यसले चीनका लागि एकदमै राम्रो अवसरका साथसाथै खतरा पनि उत्पन्न गरेको विश्लेषकहरूको भनाइ छ।

अमेरिकाले आफ्नो प्राथमिकता पूरै बदलेको छ। त्यसको सबैभन्दा स्पष्ट संकेत हो, राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेन युद्ध शीघ्र अन्त्य गर्ने अमेरिकी संकल्प प्रस्तावको पक्षमा रुस र चीनले मत दिनु। सो प्रस्तावमा मस्कोलाई दोष दिइएको थिएन। मतदान पछि सार्न आग्रह गरेका फ्रान्स र बेलायत भने अनुपस्थित रहे।

ट्रम्पले लेनदेन राजनीति अपनाउँदा उनी चीनसँग व्यापार, निर्यात नियन्त्रण र सायद ताइवानप्रति अमेरिकाको समर्थनमा पनि वार्ताका लागि खुला हुनसक्ने विज्ञहरूको भनाइ छ।

तर, केही चिनियाँ विश्लेषकहरूले भनेजस्तो बेइजिङ र मस्कोबीच फाटो ल्याउने अमेरिकाको कोसिसबाट भने सी चिनफिङ चिन्तित हुने उनीहरू तर्क गर्छन्। 

‘अब हामी एउटा नयाँ संसारमा प्रवेश गर्दैछौँ। ट्रम्पको दोस्रो कार्यकालसँगै यो उदार अन्तर्राष्ट्रिय व्यवस्था ढल्दैछ,’ पेकिङ युनिभर्सिटीको इन्स्टिच्युट फर ग्लोबल कोअपरेसन एन्ड अन्डरस्ट्यान्डिङका कार्यकारी निर्देशक वाङ तोङ भन्छन्।

सीको चाहना पनि उदारवादी विश्व व्यवस्थाको विखण्डन नै हो। वर्षौंदेखि उनले ‘एक शताब्दीमा नदेखिएको परिवर्तन’को कुरा गर्दै आएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले बारम्बार अमेरिकाको पतन र चीनको उदयसँगै बहुध्रुवीय विश्वको वकालत गर्दै आएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यममा उद्धृत विश्लेषकहरूको भनाइमा युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रयासले पश्चिमको कमजोरी देखाएको छ र यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा भएको छ।

यसले आफ्ना साझेदारप्रतिको अमेरिकी समर्थनमाथि पनि शंका उत्पन्न गर्छ। यसबाट ताइवानलाई बेइजिङको दाबी स्वीकार गर्न बाध्य पार्न सीले ज्यादा बल पाउने विश्लेषकहरू बताउँछन्।

तर, चीनविरुद्ध ध्यान केन्द्रित गर्न सजिलो होस् भनेर मात्रै अमेरिकाले रुससँग मेलमिलाप थालेको हुनसक्ने केही चिनियाँ विश्लेषकहरूको चिन्ता छ। 

‘कम्तीमा चिनियाँ विद्वानहरूका बीच निक्सनको भन्दा उल्टो कदमका विषयमा चिन्ता देखिन्छ,’ नेसनल युनिभर्सिटी अफ सिंगापुरका राजनीतिशास्त्रका सहप्राध्यापक जे इयान चोङ भन्छन्।

१९७० को दशकमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले सोभियत संघमाथि दबाब बढाउन चीनसँग सम्बन्ध सुधार गरेका थिए। त्यसविपरीत अहिले बेइजिङलाई एक्ल्याउन अमेरिकाले रुससँग सम्बन्ध सुधार्ने चिन्ता चीनमा रहेको चोङको भनाइ छ।

अमेरिकासँगको तनाव कम भए रुसले चीनसँगको आर्थिक निर्भरता कम गर्ने सक्ने छ। नाकाबन्दीले रुसलाई विश्वबजार र ईयूबाट अलग गरिदिएको छ। जसका कारण चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। यी दुई देशबीच गत वर्ष २४५ अर्ब डलरको व्यापार भयो। यो उनीहरूबीचको अहिलेसम्मकै धेरै व्यापार हो। तर, ईयूसँग रुसले २०२१ मा २७० अर्ब डलरको व्यापार गरेको थियो।

रुसको चीनसँगको व्यापार बढ्नु रोजाइ नभई बाध्यता भएको भियना इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक स्टडिजका वासिली अस्त्रोव बताउँछन्।

‘चीनबाट कुनै पनि किसिमको आर्थिक विविधीकरण गर्नु रुसको हितमा हुने छ,’ उनी भन्छन्।

तर, अमेरिकाले रुस र चीनबीच साझेदारीको दीर्घकालीन रणनीति भत्काउने सम्भावना नरहेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषदमा रुस हेर्ने पूर्वनिर्देशक थोमस ग्राहम बताउँछन्।

‘सी र पुटिन सधैँ कुरा गरिरहन्छन्। उनीहरू सबैभन्दा निकट मित्र हुन्,’ ग्राहम भन्छन्, ‘अमेरिकाले रुसलाई युक्रेन तिम्रो भो, युरोपमा पनि तिमीलाई चाहिएको कुरा पाउँछौँ भनिदिँदा रुसले ‘हामीलाई चीन मन पर्दैन, उसँग सम्बन्ध टुटाउँछौँ’ भन्ला भन्ने सोच्नु भ्रम मात्र हो।’

यही साता पुटिनसँगको फोनवार्तामा सीले चीन र रुस साँचो मित्र भएको र सुखदुःख साझा गर्न तयार रहेको बताएका थिए।

ट्रम्पसँग गरिएको जुनसुकै सम्झौता अर्को राष्ट्रपतिले उल्ट्याउन सक्ने पेकिङ युनिभर्सिटीका वाङ बताउँछन्। 

‘बेइजिङ वा मस्कोको नेता तपाईं भएको भए वासिङ्टन र मस्कोबीचको सारा समस्या छुमन्तर हुन्छ भनेर सोच्न सक्नुहुन्थ्यो?’ उनी भन्छन्।

केही चिनियाँ विद्वानहरूले ट्रम्प र सीबीचको व्यक्तिगत सम्बन्ध सुमधुर हुँदा भन्सार महसुल, व्यापार र टिकटकका विषयमा सहमति गर्न सजिलो हुने बताएका छन्।

‘ट्रम्पलाई पुटिनले भन्दा पहिले चीनमा निम्त्याउने र पुटिनभन्दा पहिले अमेरिका जाने सम्बन्धमा बेइजिङले विचार गर्न सक्छ,’ संघाईमा बस्ने प्राध्यापक सेन दिङ्ली भन्छन्।

पश्चिमा विद्वानहरू भने युक्रेनमा अमेरिकाले लिएको यूटर्न र ट्रम्पका पछिल्ला टिप्पणीहरूले ताइवानप्रतिको समर्थनमा पनि सवाल उठाएको बताउँछन्।

‘अमेरिकाले युक्रेन युद्धका सवालमा वार्तामा युक्रेनलाई नै नबोलाई रुससँग सिधै कुरा गर्ने निर्णय लियो। सीले यसलाई एउटा उदाहरणका रूपमा लिन सक्छन् र ताइवानका मामिलामा पनि ट्रम्पसँग सोझै वार्ता गर्नेबारे सोच्न सक्छन्,’ काउन्सिल अन फरेन रिलेसन्सका डेविड स्याक्स लेख्छन्।

तथापि, अन्य विश्लेषकहरूको तर्कअनुसार ताइवानमाथि चीनको दाबीलाई लिएर सी कसैसँग वार्ता गर्न तयार छैनन्।

‘ट्रम्पले दिने जुनसुकै सहुलियत सीले खुसीसाथ स्वीकार्छन्। तर, उनको पहिलो ध्यान अमेरिकाले लगाउने आर्थिक प्रतिबन्ध रोक्नमा हुनेछ,’ एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटस्थित सेन्टर फर चाइना एनालिसिसका निल थोमस भन्छन्।

अहिले ट्रम्पसँग युरोप रिसाएको छ। यसलाई चीनले युरोपसँग सम्बन्ध सुधार्ने मौकाका रूपमा पनि लिन सक्छ।

ट्रम्पको कदमले युक्रेन र युरोपप्रतिको तिरस्कार प्रकट गरेको रेनमिन युनिभर्सिटीस्थित चोङयाङ इन्स्टिच्युट फर फाइनान्सियल स्टडिजका डिन तथा प्राध्यापक वाङ वेनले एक अन्तर्वार्तामा बताएका छन्।

‘युरोपमा आफ्नो स्थिति सुधार्न अमेरिका र युरोपबीच देखिएको दूरीबाट फाइदा उठाउन सकिन्छ भन्नेमा चिनियाँहरू ढुक्क देखिन्छन्,’ जोन्स हप्किन्स स्कुल अफ एड्भान्स्ड इन्टरनेसनल स्टडिजका प्राध्यापक सेर्गेइ राद्चेन्को भन्छन्, ‘यदि कसैले निक्सनको कदम उल्ट्याउँदै छ भने ती सी चिनफिङ नै हुन्।’ फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad