ग्लोबल


भारतको कर्रेगुट्टालु पहाड, जहाँ चलिरहेको छ- माओवादीविरुद्ध ‘कम्बिङ अपरेसन’

आकाशमा हेलिकप्टरहरू निरन्तर, जमिनमा सुरक्षाकर्मी हतियारसहित तैनाथ
भारतको कर्रेगुट्टालु पहाड, जहाँ चलिरहेको छ- माओवादीविरुद्ध ‘कम्बिङ अपरेसन’

नेपालखबर
बैशाख २०, २०८२ शनिबार १३:२४, काठमाडौँ

आजकल भारतीय राज्यहरू तेलंगाना र छत्तीसगढको जंगलले घेरिएको सिमानामा यस्तो वातावरण छ, मानौँ युद्धको तयारी भइरहेको छ।

कर्रेगुट्टालु पहाडमा माओवादीहरूको खोजीमा हजारौँ सुरक्षाकर्मीले कम्बिङ अपरेसन सञ्चालन गरिरहेको बताइएको छ।

यसलाई मध्य भारतमा माओवादीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो कारबाहीको रूपमा वर्णन गरिएको छ।

यद्यपि, यस कम्बिङ अपरेसनमा कति सुरक्षा बल संलग्न छन् भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी छैन।

पछिल्लो एक हप्तादेखि यस क्षेत्रको वातावरण फरक छ।

आकाशमा हेलिकप्टरहरू निरन्तर उडिरहेको देखिन्छ र सुरक्षाकर्मी हतियारसहित जमिनमा तैनाथ छन्। अर्कातर्फ स्थानीय आदिवासीहरू आफ्नो गाउँमै सीमित छन्। यहाँको अवस्था अझै पनि धेरै गम्भीर छ।

केही गाउँलेले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘हामीले गोली चलेको आवाज सुनिरहेका छौँ।’

यद्यपि, तेलंगाना प्रहरीले यस क्षेत्रमा भइरहेका घटनामा पूर्ण मौनता अपनाएको छ। छत्तीसगढमा पनि आधिकारिक स्तरमा कोही पनि केही भन्न तयार छैनन्।

सुरक्षा बलको संख्यामा वृद्धि र आधिकारिक जानकारीको अभावमा विभिन्न प्रकारका अफवाह फैलिरहेका छन्।

अर्कातर्फ यस अपरेसनका बीच  माओवादी नेताहरूले शान्ति वार्ताको प्रस्ताव पनि गरेका छन्।

के भइरहेको छ कर्रेगुट्टालुमा?
केन्द्रीय र राज्य सुरक्षा बलहरूको अनुमानअनुसार कर्रेगुट्टालुका पहाड, उपत्यका र गुफाहरूमा ठूलो संख्यामा माओवादीहरू लुकेर बसेका छन्।

यसै कारण सुरक्षा बलले उक्त क्षेत्रलाई घेराबन्दी गरी खोजी अभियान सञ्चालन गरिरहेको हो।

मृतकको संख्याबारे प्रहरी र माओवादीका दाबी फरक-फरक छन्। प्रहरी अहिलेसम्म कारबाहीमा तीन जना मात्र माओवादी मारिएको भन्छ भने माओवादी आफ्ना ६ सदस्य मारिएको दाबी गर्छ।

यसैबीच छत्तीसगढ प्रहरीले तीन महिला माओवादीको शव फेला परेको बताएको छ।

हरेक दिन सुरक्षाकर्मीको संख्या र घेराबन्दी बढ्दै गइरहेको छ। जसले गर्दा पहाड वरपर बसोबास गर्नेहरू ठूलो त्रासमा परेका छन्। 

लामो समयदेखि माओवादीहरूले यस क्षेत्रलाई छापामार आधार शिविरका रूपमा प्रयोग गरिरहेका छन्। उनीहरूले यहाँ इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) पनि राखेका छन्।

स्थानीय मानिसले बीबीसी हिन्दीलाई बताएअनुसार यी पहाड हुँदै छत्तीसगढ, तेलंगाना, ओडिशा र आन्ध्र प्रदेश पुग्न सकिन्छ। सोही कारण यो माओवादीहरूको मनपर्ने लुक्ने ठाउँ बनेको छ।

माओवादीको चेतावनी
भाकपा (माओवादी) को वाजेदु-वेंकटपुरम क्षेत्र समितिका सचिव सान्थाको नाममा एउटा पत्र जारी गरिएको छ।

पत्रमा भनिएको छ, ‘हामीले अपरेसन कागरबाट आफूलाई बचाउन कर्रेगुट्टालु क्षेत्रमा बम राखेका छौँ। हामीले यसबारे आम जनतालाई जानकारी गराएका छौँ। तर प्रहरीले केही आदिवासी र गैरआदिवासीहरूलाई पैसा र मिठो बोलीको प्रलोभनमा पारेर कर्रेगुट्टालु पठाइरहेको छ। हामी मानिसहरूलाई उनीहरूको पासोमा नपर्न र कर्रेगुट्टालुतिर नआउन अनुरोध गर्दछौँ।’

यो पत्र अप्रिल ८ मा जारी गरिएको हो। सुरक्षा बलको कारबाहीको जानकारी पाएपछि माओवादीहरूले यो पत्र जारी गरेको विश्वास गरिन्छ।

यद्यपि, सुरक्षा बलले आफ्नो रणनीति परिवर्तन नगरी कर्रेगुट्टालुतर्फ अगाडि बढ्न जारी राख्यो।

एक स्थानीय प्रहरी अधिकारीले भने, ‘हामीले हालै यस क्षेत्रमा २४ वटा आईईडी निष्क्रिय पारेका छौँ।’

तेलंगाना प्रहरीले यो सम्पूर्ण क्षेत्रमा के भइरहेको छ भन्नेबारे कुनै आधिकारिक जानकारी दिएको छैन।

स्थानीय सुरक्षा बलहरूले बीबीसी हिन्दीलाई दिएको जानकारीअनुसार, केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) र छत्तीसगढ प्रहरीले हरेक दिन ठूलो संख्यामा जंगलमा खोजी अभियान सञ्चालन गरिरहेका छन्।

एक हप्तादेखि कारेगुट्टालुमाथि ड्रोन र हेलिकप्टरहरूले निरन्तर गस्ती गरिरहेका छन्। आदिवासीबाहेक अरू कसैलाई पनि वेंकटपुरम र वाजेदु क्षेत्रमा प्रवेश गर्न अनुमति छैन।

केन्द्रीय बलहरूलाई वेंकटपुरम र वाजेदुका प्रहरी चौकीहरूमा आवास र अन्य सुविधा प्रदान गरिएको थाहा भएको छ।

यद्यपि, तेलंगानाको मुलुगु जिल्लाका प्रहरी अधीक्षक (एसपी) ले मिडियालाई भने, ‘उनीहरू कुनै पनि अपरेशनमा संलग्न छैनन्।’

शान्ति वार्ताको प्रस्ताव के हो?
यस अपरेसनका बीच माओवादी नेताहरूले अप्रिल महिनामा चौथोपटक सरकारलाई शान्ति वार्ताको प्रस्ताव गर्दै पत्र जारी गरेका छन्।

माओवादी केन्द्रीय समितिका प्रवक्ता अभयको नाममा जारी विज्ञप्तिमा वार्ताका लागि निःसर्त प्रस्ताव गरिएको यो पहिलोपटक हो।

नत्र यसअघिसम्म माओवादीले विभिन्न प्रकारका सर्त राख्थ्यो। त्यही सर्तका आधारमा कुनै पनि शान्ति वार्ताको प्रस्ताव गर्थ्यो। यसविपरीत सरकारले भने माओवादीहरूले हतियार त्यागेर वार्ता सुरु गर्नुपर्ने प्रस्ताव राख्थ्यो। जसलाई माओवादीले अस्वीकार गर्थ्यो।

अहिले भने माओवादी बिनासर्त वार्ता गर्न सहमत भएको हो।

पछिल्लो अपरेसनमा केही माओवादी नेताहरू घेरिएको सम्भावना रहेको विश्वास गरिएको छ। यही कारण उनीहरूलाई बचाउन, माओवादी अन्ततः बिनासर्त वार्ता गर्न सहमत भएको हुन सक्ने अनुमान गरिएको छ। 

तर, छत्तीसगढका गृहमन्त्री विजय शर्माले माओवादीको निःसर्त वार्ताको प्रस्तावलाई अस्वीकार गर्दै भनेका छन्, ‘माओवादीसँगको शान्ति वार्ता देशलाई ध्वस्त पार्ने प्रचार हो।’

यसैबीच तेलंगानाका पूर्वमुख्यमन्त्री के. चन्द्रशेखर रावले छत्तीसगढ-तेलंगाना सीमामा माओवादीविरुद्ध जारी कारबाही तुरुन्तै बन्द गर्न सार्वजनिक अपिल गरेका छन्। उनले यस अभियानमा निर्दोष आदिवासी मारिएको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad