ग्लोबल


सीसँग भेटपछि ट्रम्पले भने: म चीनबाट एकदमै प्रभावित भएँ

सीसँग भेटपछि ट्रम्पले भने: म चीनबाट एकदमै प्रभावित भएँ

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १३:५०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमका विषयमा अमेरिका र चीनबिच ‘धेरै समान’ विचार रहेको दाबी गरेका छन्।

चीन भ्रमणमा रहेका ट्रम्पले शुक्रबार बेइजिङमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्तापछि पत्रकारहरूसँग उक्त धारणा राखेका हुन्। 

चीनको सरकारी परिसर जोङनानहाईमा भएको वार्तामा व्यापार, इरान र अन्य धेरै मुद्दामा छलफल भएको ट्रम्पले बताए। 

उनले भने, ‘हामीले धेरै समस्या सुल्झायौँ, जुन सायद अरू कसैले गर्न सक्दैनन्।’

इरानका सन्दर्भमा ट्रम्पले भने, ‘हामी उनीहरूसँग आणविक हतियार होस् भन्ने चाहँदैनौँ। दुवै देश समुद्री मार्ग खुला रहून् भन्ने चाहन्छन्।’

उनले संकेत गर्न खोजेको होर्मुज स्ट्रेट भएको विश्वास गरिन्छ।

ट्रम्पले भने, ‘म चीनबाट एकदमै प्रभावित भएँ।’

यस क्रममा ट्रम्पले आगामी सेप्टेम्बर २४ मा सीले अमेरिका भ्रमण गर्ने सम्भावना पनि व्यक्त गरे। 

ट्रम्पले भने, ‘व्यापारमा पारस्परिकता भएजस्तै यो भ्रमण पनि पारस्परिक हुनेछ। हामी हरसम्भव प्रयास गर्नेछौँ र मलाई आशा छ- तपाईं (सी) पनि म चीनबाट प्रभावित भएजस्तै प्रभावित भएर अमेरिकाबाट फर्किनुहुनेछ।’

सीलाई धन्यवाद दिँदै उनले बेइजिङ भ्रमण गर्न पाउनु सम्मानको कुरा भएको बताए। अनि आगामी सेप्टेम्बर २४ मा सीले अमेरिका भ्रमण गर्दा फेरि भेट हुने आशा पनि व्यक्त गरे। 

सीले शुक्रबार जोङनानहाई कम्प्लेक्समा ट्रम्पलाई स्वागत गरेका हुन्। 

सीले भने, ‘यो त्यो ठाउँ हो, जहाँ मसमेत चीनको केन्द्रीय सरकारका नेताहरू काम गर्छन् र बस्छन्।’

उनले थपे, ‘यो ठाउँ एक समय शाही बगैँचाको हिस्सा थियो। यस परिसरमा धेरै इतिहास छ।’

सी चिनफिङले आफूहरूले पैदल यात्राका क्रममा देखेका रुख लगभग ४९० वर्ष पुरानो भएको बताए। 

उनले ट्रम्पलाई उपहारका रूपमा चिनियाँ जातका गुलाबका बिउ दिइने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad